+
+

प्रवेश पत्र नपाउँदा मीनभवन क्याम्पसकी विद्यार्थीले परीक्षा दिन पाइनन्

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते १५:५९

९ भदौ, काठमाडौं । मीनभवनस्थित नेपाल कमर्स क्याम्पसकी विद्यार्थी हृषिता सिंह प्रवेश पत्र नआउँदा परीक्षा दिनबाट वञ्चित भएकी छन् ।

बीबीएस तेस्रो वर्षको परीक्षाको पहिलो उनले परीक्षा दिन पाइनन् । जबकि वार्षिक परीक्षाको लागि उनले गत ७ साउनमा परीक्षा फारम भरेकी थिइन् ।

बहिनी र आफ्नो परीक्षा फारम भरेर साँझ घर पुगेपछि हृषिताले आफ्नो नामको रसिदमा क्याम्पसको छाप नदेखेपछि ८ साउनमा क्याम्पस प्रशासनमा देखाउँदा ‘फारम बुझायौ भैहाल्छ’ भनेर जवाफ दिएको बताइन् । तर परीक्षाको दुई दिनअघि शुक्रबार प्रवेश पत्र लिन जाँदा क्याम्पसमा प्रवेशपत्र नै नपाएको हृषिताले बताइन् ।

त्रिविको परीक्षा नियन्त्रण कार्यालय बल्खुमा गएर बुझ्दा विद्यार्थीको फारम क्याम्पसले नपठाएको र अनलाइनमा समेत इन्ट्री नभएको जवाफ पाइन् । तर, बल्खुले क्याम्पस प्रमुखले पहल गरे उपाय निस्कन सक्ने सुझाएपछि आइतबार बिहानैदेखि हृषिताका अभिभावक पनि यो काममा लागिरहेका छन् ।

क्याम्पस प्रमुख प्रा.ध्रुवप्रसाद सिलवालले परीक्षा नियन्त्रक र रजिष्ट्रारलाई अनुरोध गरेमा परीक्षामा सहभागी गराउन सक्ने उपाय सुझाएका हृषिताका बाबु टुनप्रसादले बताए ।

त्यसपछि टुनप्रसाद बिदामा रहेका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई भेट्न घरैमा पुगेका थिए । जोशीले नेपाल कमर्स क्याम्पसका प्रमुख सिलवाललाई फोन गर्दा उनले विद्यार्थीले परीक्षा फारम नै नभरेको जवाफ दिएका टुनप्रसादले बताए ।

‘विद्यार्थीले फारम नभरेको भए यो रसिद हामीसँग कहाँबाट आउँछ, रसिदमा छाप नहान्नु र अनलाइनमा इन्ट्री नहुनु मेरो छोरीको गल्ती हो र ?’ उनी भन्छन् ‘आफ्नो विद्यार्थी परीक्षा दिनबाटै बञ्चित हुँदा पनि उसैलाई दोष देखाएर आफ्नो गल्ती लुकाउन खोजिँदैछ ।’

सहायक क्याम्पस प्रमुख पशुपति ओझाले विद्यार्थीले फारम भरेको विवरण नभेटिएको बताए । उनले भने ‘विद्यार्थीले पैसा तिरेको रसिद भेटिएपनि त्यसमा क्याम्पसले चढाएको नम्बर र छाप पनि देखिएन । तर, इमान्दार मिहेनती विद्यार्थी भएकाले क्याम्पस प्रमुखले यसमा केही उपाय खोजिरहनुभएको होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?