+
+

गोरखकाली र गोरखनाथ मन्दिरको भेटी व्यवस्थापन गर्न समिति बनाउने तयारी

विकास मरहट्टा विकास मरहट्टा
२०८१ भदौ ९ गते १८:१७

९ भदौ, गोरखा । गोरखकाली र गोरखनाथ मन्दिरको भेटी अब पुजारीले राख्न नपाउने भएका छन् ।

शनिबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले कार्यविधि बनाएर भेटी व्यवस्थापन गर्न गोरखा दरबार हेरचाह अड्डालाई अनुरोध गर्ने निर्णय गरेको छ ।

‘गोरखकाली मन्दिर र गुरु गोरखनाथ क्षेत्र व्यवस्थापन समिति पनि गठन गर्छाै,’ प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने, ‘त्यसका लागि दरबार हेरचाह अड्डामार्फत सम्बन्धित निकायमा अनुरोधका लागि लेखी पठाउने निर्णय गरेका छौं ।’

मन्दिरको पूजा र पुजारी व्यवस्थापन एवं कार्यालय व्यवस्थापनलाई समयानुकुल सुधार गर्दै लैजाने जिम्मेवारी दरबार हेरचाह अड्डालाई दिइएको छ । गोरखकाली र गोरखनाथ पूजाको व्यवस्थापकीय सुधारका लागि सुझाव दिन प्रशासन कार्यालयका प्रशासकीय अधिकृत चुडानिधि तिवारीको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ ।

समितिको सदस्यहरुमा होम सिं बस्न्यात, नरेन्द्र ढकाल, मोहनलाल श्रेष्ठ, राजेन्द्रकुमार जोशी, सुरेशमान श्रेष्ठ र कृष्णकुमार श्रेष्ठ रहेका छन् । उक्त समितिले १५ दिनभित्र सुझाव तयार गरी गोरखा दरवार हेरचाह अड्डालाई बुझाउनुपर्नेछ ।

बैठकमा गोरखा दरबार हेरचाह अड्डाका प्रमुख बिष्णु पाठकले भेटी संकलनका लागि मन्दिरमा दुई वटा दान पेटिका रहेको बताए । उक्त दान पेटिकामा संकलन भएको रकम दरवारका मूल पुरोहित एवं नासु शारदा भट्टराई, खरिदार (भित्रिया सुसारे) लालबहादुर खनखवास र अनिल अम्गाईको संयुक्त नाममा खोलिएको बैंक खातामा जम्मा गरिँदै आएको उनले जानकारी दिए ।

‘दानपेटिका भरिएपछि हामी नेपाली सेना, नेपाल प्रहरी, प्रशासन कार्यालयका कर्मचारी, गोरखा दरवार हेरचाह अड्डाका कर्मचारी लगायतको रोहवरमा खोल्छौं र त्यहाँको रकम अघि भनेको बैंक खातामा जम्मा गर्छौं’, उनले भने ।

२०६२/६३ यता मन्दिरको पूजाको सन्दर्भमा बजेट कटौती हुँदै आएको बताउँदै उनले थपे, ‘बजेट कटौती भएका शीर्षक र तत्काल गर्नुपर्ने कार्यलाई निरन्तरता दिन दान पेटिकाको रकम प्रयोग गर्दै आएका छौं ।’

पूजा सामग्री खरिदमा राज्यले छुट्याएको बजेट अपुग भएमा समेत दान पेटिकाको रकम खर्च गर्ने गरेको पाठकले जानकारी दिए । उनका अनुसार उक्त खातामा हाल ९ लाख ४० हजार रुपैयाँ छ ।

गत बर्षको तुलनामा यो बर्ष गोरखा दरवार हेरचाह अड्डाले सरकारबाट निकै कम रकम पाएको छ । गत आर्थिक बर्ष २०८०/८१ मा २५ लाख रुपैयाँ पाएकामा चालु आर्थिक वर्ष २०८१/८२ मा १० लाख ३५ हजार रुपैयाँ मात्र विनियोजन भएको अड्डा प्रमुख पाठकले बताए ।

‘हामीले यो बर्ष २७ लाख ५० हजार रकम माग गरेर पठाएका थियौ, तर रकम धेरै घटेर आयो । विभिन्न निकायसँग समन्वय गरेर पुरातत्व विभागमा पत्राचार समेत गरेका छौं, विभागले आन्तरिक स्रोतबाट पुगेन भने अर्थमा लेखेर पठाउछौं तर दायित्वको शीर्षकको रकम रोक्दैनौ भनेपछि केही आशा पलाएको छ’, उनले भने ।

हाल दरबारमा २८ जना स्थायी, २२ जना करार र १५ जना दैनिक ज्यालादारीका कर्मचारी रहेको उनले जानकारी दिए । दानपेटिका बाहेक मन्दिरमा भक्तजनले चढाएको भेटी भने पुजारीहरुले आफूखुशी बाँड्ने गरेका छन् ।

गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले विकास समिति मार्फत मन्दिरको पूजा व्यवस्थापन गर्नु उपयुक्त हुने बताए ।

गोरखनाथका पुजारी ईश्वरनाथ योगीले निकै कम पारिश्रमिकमा काम गर्नुपरेको बताए । प्रमुख जिल्ला अधिकारी दाहालले भेटी व्यवस्थापनसँगै पुजारीको पारिश्रमिक बढाउनुपर्ने र अपुग भए स्थानीय तहले सहयोग गर्नुपर्ने बताए ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?