+
+

धनुषा बटेश्वरको आँप फडानी रोक्न मधेश सरकारसँग माग

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते १८:५५

९ भदौ, जनकपुरधाम । वातावरण संरक्षण अभियन्ताहरुले धनुषाको बटेश्वर गाउँपालिकाको आँप बगान फडानी रोक्न माग गर्दै मधेशका मुख्यमन्त्री सतीशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएका छन् ।

बटेश्वर गाउँपालिकाका किसानहरुले ८२ विघा जमिनमा लगाएको आँपको बोट फाँडेर सोलार प्लान्ट राख्ने कम्पनीलाई जग्गा भाडामा दिने तयारी गरेपछि पर्यावरण अभियन्ताहरुले बचाउन पहल थालेका हुन् ।

स्थानीयसमेत रहेका अभियन्ता फुलगेन मगहीको नेतृत्वको टोलीले बटेश्वरका आँप किसानलाई लक्षित गरी कोल्ड स्टोर निर्माण गर्न, आँप किसानको बीमा गर्न र नमूना पकेट घोषणाअनुसार अनुदानको व्यवस्था गर्न माग गरेका छन् ।

यस्तै जंगली जनावर नीलगाई व्यवस्थापनका लागि कदम चाल्न, आँप खेतीका लागि विशेष अनुदानमा किटनाशक औषधि, मलखाद र उपकरणको व्यवस्था गर्न, सिँचाइको उचित व्यवस्था गर्न र बजार व्यवस्थापनमा सुधार गर्न पनि माग गरिएको छ ।

बटेश्वरका आँप किसान हावाहुरी, असिना पानी, बजार नपाइने समस्या र किराको प्रकोपले चिन्तित छन् ।

लगानी र वर्षभरको मिहिनेतबाट फाइदा नआउँदा किसानहरुले करिब ६ हजार आँपको बोट फाँडेर सोलार प्लान्टका लागि जग्गा भाडामा दिने निर्णय गरेका छन् । यसले ठूलो पर्यावरणीय क्षति हुने भन्दै पर्यावरण अभियन्ताहरु चिन्तित छन् । माग पूरा नभए, आन्दोलनको चेतावनी पनि दिएका छन् ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री सिँहले मधेश प्रदेशमा आँपको पकेट क्षेत्र प्रवर्द्धनका लागि सरकारले आवश्यक पूर्वाधार विकासलगायतका काम गरिरहेको बताए ।

उनले बटेश्वर क्षेत्रमा कृषि विद्युतीकरण तथा डिप बोरिङमार्फत सिँचाइ व्यवस्थापन र आँप भण्डारण गर्न कोल्ड स्टोर व्यवस्थापनका लागि आवश्यक काम गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?