+
+

गठ्ठाघर घटनामा छानबिन समितिको म्याद ३ दिन थप

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते १९:१३

९ भदौ, काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न बनेको समितिको म्याद तीन दिन थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला नेतृत्वको छानबिन समितिलाई तीन दिनको म्याद थप गरिएको हो ।

निरौलाको समितिलाई एक साताको म्याद दिएर घटनाको छानबिन गरेर प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको थियो । समितिको म्याद  आइतबार सकिए पनि छानबिन र प्रतिवेदन लेखनको काम बाँकी नै रहेकाले तीन दिन म्याद थप गरिएको छ ।

समितिका संयोजक निरौलाले छानबिन टुंगिन बाँकी नै रहेकाले तीन दिन म्याद थप भएको र छानबिनको काम अन्त्यतिर पुगेको बताए । ‘लगभग काम अन्तिमतिर पुगेको छ । थप तीन दिनको समय पाएका छौं । बुधबारसम्म प्रतिवेदन बुझाउने तयारी छ’, निरौलाले अनलाइनखबरसँग भने ।

ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ छहरे घर भई काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षका उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो । ट्रकका चालक सर्लाही मलंगवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

उक्त दुर्घटनामा ट्राफिक प्रहरीले लापरबाही गरेको भन्दै सर्वसाधारणले गठ्ठाघर चोकमा प्रदर्शन गरेका थिए । यसबारे छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले एसपी प्रजित केसीको नेतृत्वमा आन्तरिक छानबिन समिति समेत बनाएको थियो । यो समितिले भने प्रतिवेदन बुझाइसकेको छ । सो समितिले ट्राफिक प्रहरीको कुनै कमजोरी नभएको औंल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?