+
+

एकीकृत समाजवादीमा छलफल : पदाधिकारी चयन मतदानबाट कि सहमतिमा ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते १९:३६

९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा पदाधिकारी चयनबारे छलफल सुरु भएको छ । अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसालले पदाधिकारी चयनबारे छलफल थालेका हुन् ।

गत १६–२१ असारमा दशौं राष्ट्रिय महाधिवेशन गरेको एकीकृत समाजवादीले तीन जनाबाहेक पदाधिकारी चयन गर्न सकेको छैन । महाधिवेशनको हलबाट अध्यक्ष नेपाल, सम्मानित नेता खनाल र महासचिव भूसाल सर्वसम्मत भएका थिए ।

बाँकी पदाधिकारी र केन्द्रीय सदस्य टुंग्याउने जिम्मा यी तीन जनाले लिएका थिए । जस नुसार २२ असारमै ९३ जना केन्द्रीय सदस्य चयन भए भने बाँकी २५१ जना केन्द्रीय सदस्यको नामावली गत १८ साउनमा सार्वजनिक गरिएको थियो ।

यसरी दुई चरणमा चयन भएका ३४४ सदस्यीय केन्द्रीय समितिको बैठक आइतबार सुरु भएको छ । यो बैठकबाट पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो गठन गर्ने कार्यसूची छ ।

‘तीन संरचनामध्ये पहिले पदाधिकारी गठन गर्नेगरी बैठक अगाडि बढेको छ’, केन्द्रीय सदस्य अशेष घिमिरेले भने, ‘पदाधिकारी चयनपछि स्थायी समिति र पोलिट्ब्यूरो बनाइनेछ ।’

तर पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरोको गठन कसरी गर्ने भन्ने निर्णय एकीकृत समाजवादीमा भएको छैन । त्यसैले प्रदेशका पदाधिकारीहरुसँग पदाधिकारीको चयन प्रक्रियाबारे छलफल सुरु भएको छ ।

‘मतदानबाट टुंग्याउने अथवा सहमति गर्ने भन्ने राय लिन प्रदेशका पदाधिकारीहरुसँग छलफल सुरु भएको हो’, घिमिरेले भने, ‘भोलिसम्म प्रदेशका पदाधिकारीहरुको राय लिएपछि नेतृत्वले आवश्यक निर्णय लिनेछ ।’

बैठक उद्घाटनकै क्रममा सम्मानित नेता खनालले पदाधिकारी चयन मतदानबाट गर्न नहुने राय राखेका थिए । केन्द्रीय समिति सर्वसम्मतिबाट  चयन भएकाले पदाधिकारीमा पनि मतदान गर्न नहुने उनको तर्क थियो ।

सर्वसम्मत पदाधिकारी टुंग्याउनेमा सहमत हुन खनालले केन्द्रीय सदस्यहरुसँग आग्रहसमेत गरेका थिए । यदि सर्वसम्मत नभए केन्द्रीय सदस्यहरुको मतबाट एकीकृत समाजवादीमा पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो चयन हुनेछ ।

तर मतदान वा सर्वसम्मतिको पद्धति अपनाउने भन्नेबारे नेतृत्वले नेताहरुकै राय लिने प्रक्रिया अगाडि बढाएको छ । अध्यक्ष, सम्मानित नेता र महासचिव चयन भएकाले अब एकीकृत समाजवादीमा १८ पदाधिकारी चयन हुन बाँकी छ ।

जसमा वरिष्ठ उपाध्यक्ष सहित ७ उपाध्यक्ष, चार उपमहासचिव र ७ सचिव चयन गर्नुपर्नेछ । तर आकांक्षीको संख्या धेरै भएकाले मतदानबाटै टुंग्याउने मनसाय अध्यक्ष नेपालले देखाएको पनि एक नेताले बताए ।

‘पार्टी अध्यक्षले सर्वसम्मतिमा गर्न सकिएन भने मतदान गरौं भन्ने मनसाय नराख्नुभएको भए, अहिले पदाधिकारीहरुमा कसो गरौं भनेर सोधिरहनु नै पर्थेन नि’, ती नेताले भने, ‘मूल नेतृत्वसहित केन्द्रीय समिति छलफलबाट टुंगिन्छ भने पदाधिकारी पनि सहमतिमै टुंगिन गाह्रो पर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?