+
+

‘नक्कली बाबुछोरी’ प्रकरण छानबिन गर्न वडाध्यक्षको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते १९:०७

९ भदौ, बुटवल । निःसन्तान व्यक्तिलाई बाबु कायम गरी मृत्यु दर्ता र अन्य कागजात बनाइएको घटनाको छानबिन गर्न सिद्धार्थनगर नगरपालिकाकै जनप्रतिनिधिले माग गरेका छन् ।

सिद्धार्थनगर नगरपालिका–८ का वडाध्यक्ष राजनजंग राणाले आइतबार पत्रकार सम्मेलन गरी आफ्नो वडाकी रिखीदेवी अग्रवाल र उनकी बहिनीको नागरिकता लगायत उनीसंग सम्बन्धित कागजातका विषयमा छानबिनको माग गरेका हुन् ।

उनले आफूले गैरकानुनी काम नगरेको दाबी गर्दै रिखिदेवी अग्रवालका श्रीमान राजेशकुमार अग्रवालले बसोबास, परिवारिक विवरण र नाता प्रमाणित लगायतका लागि पेश गरेका कागजपत्र शंकास्पद देखिएपछि सबै प्रक्रिया रोकेको बताए ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ का निसन्तान सुखु मल्लाहको नाम राखी रिखीदेवी र मालतीले नागरिकता लिएको पाइएको थियो ।

निसन्तान सुखुको मृत्युपछि अदालतको फैसलाबाट उनको सम्पत्ति दाइ फौदार मल्लाहका छोराहरु लालजित र सन्त मल्लाहको नाममा गएको थियो । तर, जनप्रतिनिधि र प्रशासनको मिलेमतोमा फरक ठाउँमा सर्जमिन गराई भारतीय नागरिक बदल मल्लाहका छोरीहरु मालती मल्लाहीन र रिखिदेवी मल्लाहले सुखुका छोरी बनेर नागरिकता लिएका थिए ।

सिद्धार्थनगर–६ का लालजित र सन्त मल्लाहका बुवा फौदार हुन भने काका सुखु मल्लाह । उनीहरुका बुवा फौदारको २०७७ जेठ ८ र आमा झिनाको भने १० वर्ष अघि नै मृत्यु भइसकेको छ । काका सुखुको २०७८ असार १७ र काकी कपुतरी मल्लाहको २०७७ माघ १० मृत्यु भएको थियो ।

सुखु र कपुतरी बाचुन्जेल उनको सम्पत्तिमा कसैको दावी थिएन । तर मृत्युपछि एकाएक मालती र रिखीदेवी छोरी बनेर सम्पत्तिको अंश मागेपछि विवाद सुरु भएको थियो ।

तत्कालीन न्यायाधीश लीलाराज अधिकारीको इजलासले २०७८ कात्तिक १५ गते फौदार र सुखुको नाममा रहेको जमिन लालजित र सन्तको नाममा जाने फैसला गरेको थियो । अंशबण्डा गरेर उनीहरुले सबै जायजेथा दुइभाइका नाममा गराइसकेका थिए ।

सुखुको छोरी बनेर अंशका लागि सिद्धार्थनगर–८ की रिखीदेवी मल्लाह अग्रवाल र मायादेवी गाउँपालिका–३ की मालती मल्लाहले मुद्दा हालेका थिए ।

रुपन्देही जिल्ला अदालतमा परेको मुद्दामा २०८० भदौ २६ मा फैसला गर्दै न्यायाधीश उमेश कोइरालाको इजलासले २०१२ साल जन्ममिति रहेकी मालती मल्लाहीनलाई २००६ सालमा जन्मिएका सुखु मल्लाहको छोरी कायम भएको फैसला गरेको थियो ।

२०४० असोज ११ गते जारी भएको सुखुको नागरिकतामा उल्लेख भएको उमेर अनुसार उनको जन्ममिति २००६ देखिन्छ । अनि जिल्ला प्रशासन कार्यालयबाट जारी मालती मल्लाहीनको उल्लेख उमेर अनुसार उनको जन्ममिति २०१२ साल नै उल्लेख छ । जहाँ उनको बाबुको नामको ठाउँमा सुखुको नाम राखिएको छ । जारी मिति २०४६ जेठ २० उल्लेख छ ।

अंश मुद्दा हाल्ने रिखीदेवी र मालतीले सुखुको दुई श्रीमती रहेको दाबी गरेका थिए । रिखीदेवीले सुखुको पहिलो श्रीमती कवुतरी र मालतीले दोस्रो श्रीमती फूलझरी मल्लाहको छोरी भएको दावी गरेका थिए ।

जबकी मालती मल्लाहीन भारतको बस्ती जिल्लाको मेहदावलका भारतीय नागरिक बदल मल्लाहको जेठी श्रीमतीबाट जन्मिएकी र रिखीदेवी बदलकी कान्छी श्रीमती मैनादेवी मल्लाहीनको कोखबाट जन्मिएकी छोरी भएको लालजित र सन्तको दाबी छ ।

मालती र रिखीदेवीले सुखुको छोरीहरु हो भनेर दाबी गर्दै सिद्धार्थनगर नगरपालिका–६ मा सुखुको मृत्युदर्ता माग गरेका थिए । तर, वडा कार्यालयले दिएको थिएन । त्यसपछि उनीहरुले उच्च अदालत बुटवलमा सिद्धार्थनगर नगरपालिका र वडा नं. ६ को कार्यालयविरुद्ध मुद्दा दायर गरेका थिए । उनीहरुले अदालतमा सुखु मल्लाहको छोरी भएको प्रमाण पेस गर्न सकेनन् ।

त्यसबेला अदालतमा मालती र रिखीदेवीले एकअर्कालाई आफू मात्रै सुखुको छोरी भएको दावी गर्दै मुद्दा लडे । तर, मालतीको जन्म र बुवा दावी गरिएका सुखुको जन्ममिति जम्मा ६ वर्ष फरक देखिएको तथा रिखिदेवीको दावी र प्रमाण झुठा भएको भन्दै न्यायाधीश अच्युतप्रसाद भण्डारीको इजलासले २०७८ माघ ५ गते रिट निवेदन नै खारेज गरिदिएको थियो ।

उच्च अदालतले नगरपालिका र वडाविरुद्ध हालेको रिट खारेज गरेपछि रिखिदेवी र मालती सुखुको छोरी भएको प्रमाणित हुन सकेन ।

त्यसपछि रिखीदेवीले दुबै आमाको पालनपोषण, शेषपछि काजकिरिया गरेको र उनीहरुको अंश हक खाने आफू एक मात्र हकवाला भएको भन्दै लालजित र सन्तको नाममा गएको जमिन आफ्नो नाममा ल्याउन माग दाबी गर्दै रुपन्देही जिल्ला अदालतमा २०७८ पुसमा मुद्दा हालिन् ।

सुखु मल्लाहको दोस्रो श्रीमती फूलझरीको छोरी भएको दावी गरेकी मालतीले पनि २०७८ फागुनमा बुवा सुखुको दुई श्रीमतीका आफू र रिखीदेवी छोरी रहेको भन्दै अंश नाममा गरिदिन माग दावीसहित जिल्ला अदालतमा मुद्दा हालिन् ।

‘मुद्दा चलिरहेकै बखत उनीहरुले वडा नम्बर ६ का वडाध्यक्ष विरेन्द्र श्रीवास्तवले झुठा विवरण दिन नमानेपछि वडा सचिव विनोद कर्णमार्फत् सेटिङ मिलाएर मिलेमतोमा वडा नं. ६ बाट काका सुखुको मृत्युदर्ता प्रमाण निकालेका थिए’, लालजित भन्छन्, ‘त्यसअघि नै हामीले काका सुखुको मृत्युदर्ता कसैलाई पनि नदिनु भनेर निवेदन पनि दिएका थियौं । तर वडासचिव कर्णले छोरी भनेर मृत्युदर्ता दिए ।’

रिखीदेवी र मालतीले नागरिकता बनाउँदा बुवाको नाम सुखु मल्लाह राखेर श्रीमानको सनाखतमा नागरिक बनाएका छन् ।

अदालतमा मुद्दा परेपछि लालजित र सन्तले जिल्ला प्रशासनमा मालती र रिखीदेवीको नागरिकता खारेजी माग गर्दै मुद्दा दिएका थिए । तर, प्रशासनले जाँचबुझ गरेन । उनीहरुको नागरिकता मगाएर अनुसन्धानका लागि भनेर राखेको थियो । तर, सिद्धार्थनगरका नगर प्रमुख इस्तियाक अहमद खाँ र मायादेवी गाउँपालिका–३ का वडाध्यक्ष मोहम्मद रफिक खाँनको रोहबरमा फिर्ता गरियो ।

प्रशासनले रिखीदेवी र मालतीको नागरिकता बारे सर्जमिन भने गरेको छ । तर, सिद्धार्थनगर–६ मा सर्जमिन गर्नुपर्नेमा मिलेमतोमा वडा नम्बर ८ मा सर्जमिन गरियो ।

‘सिद्धार्थनगरका नगर प्रमुख इस्तियाक अहम्मद खाँ, तत्कालीन रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, सिद्धार्थनगर वडा नम्बर ६ का वडा सचिव विनोद कर्णलगायत प्रहरीसमेतको मिलेमतोमा नगरपालिकाको कार्यालयमा बसेर सर्जमिन गरियो र उक्त सर्जमिन वडा नम्बर ८ मा गरेको भनियो’, सन्तले भने– ‘जुन सर्जमिनमा रिखीदेवी र मालती सुखु मल्लाहको छोरी हुन् भनिएको छ ।’

यो बीचमा प्रशासनले अदालतले मागेअनुसार कागजात पठाएन । तत्कालीन प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले रिखीदेवी र मालतीविरुद्धको नागरिकता छानविनको निवेदन तामेलीमा राखेको आरोप पीडितको छ ।

‘अदालतले मागेको कागज नपठाइ सम्बन्धित वडामा सर्जमिन नगरी फरक ठाउँमा सर्जमिन गरेर कागजात पठाउँदा रुपन्देही जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजालासले २०८० भदौ २६ गते फैसला गर्दै निसन्तान हाम्रा काका सुखुको सम्पत्ती नक्कली छोरीहरु रिखीदेवी र मालतीको नाममा जाने फैसला गरेको हो’, सन्त र लालजित भन्छन् ।

फैसला अनुसार जग्गा रिखीदेवी र मालतीको नाममा गए सिद्धार्थनगर, सियारी र ओमसतियाको करिब १८ कठ्ठा र घर गरी साढे दुई करोड बराबरको जमिन जान्छ । बाबुछोरी प्रमाणित गराइएको मालती र सुखुको उमेर जम्मा ६ वर्षको फरक छ । अहिले फेरि जिल्ला प्रशासनले रिखीदेवी र मालतीविरुद्ध अर्को निवेदन लिएर नागरिकताबारे अनुसन्धान गरिरहेको छ ।

‘पहिला पनि सर्जमिन भएको रहेछ, पीडितहरुले पुनः तामेली जगाउन भन्दै निवेदन दिनुभयो, यसबारे हामीले बुझ्यौं र दर्ता गर्‍यौं’, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गाणेश अर्यालले भने, ‘त्यसपछि पुनः प्रहरी मार्फत् वडा कार्यालयमा गएर सम्बन्धित ठाउँमा सर्जमिन गरेर आएको छ । अहिले अनुसन्धान हुँदैछ ।’

उनका अनुसार केही तथ्यहरु र कागजात फेला परेपछि रिखीदेवी र मालतीको नागरिकताबारे अनुसन्धान सुरु गरिएको हो । ‘केही विषयहरु शंकास्पद र सन्देहास्पद छन्’, प्रजिअ अर्यालले भने, ‘अझै अध्ययन गर्नुपर्ने जस्तो देखिन्छ ।’ प्रजिअ अर्यालले सम्बन्धित व्यक्तिको मृत्यु भएकाले कसको डीएनए परीक्षण गर्ने भन्ने प्रश्न उठेको बताए ।

स्रोतका अनुसार हाल प्रशासनले पुनः प्रहरी मार्फत् सम्बन्धित वडा सिद्धार्थनगर नगरपालिका–६ मा गएर सर्जमिन गर्दा सुखु मल्लाहको कुनै सन्तान नभएको र रिखीदेवी र मालती भारतीय नागरिक बदल मल्लाहको छोरी हुन् भन्ने सर्जमिन मुचुल्का प्रशासनमा पुगेको छ ।

वडा नं. ६ का वडाध्यक्ष वीरेन्द्रकुमार श्रीवास्तव, प्राध्यापक डा.शंकरप्रसाद नेपाल लगायत, स्थानीय, प्रहरीको रोहवरमा गरिएको पछिल्लो वास्तविक सर्जमिन सही भएको भतिज लालजितको भनाइ छ । यो बीचमा मल्लाह दाजुभाइले उच्च अदालत बुटवलमा जिल्लाको फैसला त्रुटीपूर्ण रहेको भन्दै मुद्दा पुनरावेदन दिएका छन् । उक्त मुद्दा विचाराधीन छ ।

मुद्दा विचारधीन रहेकै बेला रिखीदेवीले मालती भारतीय नागरिकको छोरी भएको भन्दै अर्को निवेदन अदालतमा बुझाएकी छन् । ‘सरकारी कार्यालय र अदालतपिच्छे फरक फरक बयान गरेका कारण पनि रिखीदेवी र मालतीले झुटा विवरणबाट सम्पत्ती लिन खोजेको पुष्टि हुनजान्छ’, सुखुका अर्का भतिज सन्त भन्छन्, ‘तत्काल प्रशासनले उनीहरुको नागरिकता खारेज गरोस् । हामीलाई न्याय देओस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?