+
+

स्पेस स्टेशनमा अड्किएका अन्तरिक्षयात्रीलाई फिर्ता ल्याउने ड्रागन क्रू के हो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते १०:२५

अन्तरिक्षमा अड्किएका नासाका अन्तरिक्षयात्रीद्वय सुनिता विलियम्स र बुच ब्यारी विलमोर पृथ्वी आगामी वर्ष सन् २०२५ को फेब्रुअरी महिनामा मात्रै पृथ्वीमा फर्किने भएका छन् ।

यसका लागि नासाले आगामी सेप्टेम्बर २४ मा क्रु नाइन मिसन प्रक्षेपण गर्नेछ।
नासाका अनुसार उनीहरुलाई स्पेस एक्सको ड्रागन क्रु क्याप्सुल मार्फत् पृथ्वीमा ल्याइनेछ । यो यान निर्माण पश्चात् हालसम्म ४६ पटक सफल प्रक्षेपण गरिसकिएको छ ।

ड्रागन क्याप्सुलले ४२ पटक अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको यात्रा गरिसकेको छ । त्यसमा २५ पटक पुनः उडान गरेको छ ।

यो क्याप्सुलमा एक पटकमा सातजना अन्तरिक्षयात्री बसेर यात्रा गर्न सक्दछन् । यो स्पेस स्टेशनमा लगातार अन्तरिक्षयात्री तथा बन्दोबस्तीका सामान लिएर आवतजावत गरिरहने विश्वकै पहिलो निजी अन्तरिक्षयान हो ।

यो क्याप्सुलको वजन ७ हजार ७०० केजी रहेको छ । कार्गो भरेर प्रक्षेपण गर्दा यसको अधिकतम वजन क्षमता १२ हजार ५०० केजीसम्म हुन्छ । यसले पृथ्वीको कक्षमा ६ हजार केजीसम्म वजनको सामान पुर्‍याउन सक्दछ भने स्पेस स्टेशनसम्म तीन हजार ३०७ केजी वजन पुर्‍याउन र फिर्ता ल्याउन सक्दछ । आमरुपमा यसमा २ देखि ४ जनासम्म अन्तरिक्षयात्री बस्दछन् ।

तथापि आकस्मिक उद्धारका क्रममा अर्थात् आपतकालीन अवस्थामा यसमा सातजना अन्तरिक्षयात्री बस्नसक्ने व्यवस्था छ ।

आफ्नै क्षमतामा पृथ्वीको तल्लो कक्षमा उडान भर्दा यो १० दिनसम्म अन्तरिक्षमा रहन सक्दछ भने स्पेस स्टेशनसँग जोडिएमा २१० दिनसम्म यो अन्तरिक्षमा रहन सक्दछ ।

अहिलेसम्म १२ क्याप्सुल निर्माण, ६ वटा अन्तरिक्षयात्रीका लागि ड्रागन क्रु क्याप्सुलको उचाई १५ फिट छ । तर, तल्लो प्रपल्सन सिस्टमलाई जोड्दा यसको उचाई २६.७ फिट हुन्छ ।

क्याप्सुलको भित्र १३ फिट ब्यास तथा १२ फिटको चौडाइ छ । स्पेस एक्सले यो क्याप्सुलका विभिन्न डिजाइनहरु तयार पारेको छ ।

अहिलेसम्म यस्ता १२ थरी ड्रागन क्याप्सुल बनाइएको छ, जसमा ६ वटा मानवयुक्त यान (क्रु क्याप्सुल), ३ वटा कार्गो यान र ३ वटा प्रोटोटाइप रहेका छन् ।

हाल कुल ८ वटा ड्रागन क्याप्सुल सञ्चालनमा रहेका छन् । जसमा चारवटा क्रु क्याप्सुल छन् जसबाट अन्तरिक्षयात्रीहरुलाई अन्तरिक्षमा पुर्‍याउने र फिर्ता ल्याउने गरिन्छ ।

तीनवटा कार्गो क्याप्सुलको प्रयोग अन्तरिक्ष स्टेशनमा विभिन्न सामग्रीहरूको आपूर्ति गर्नका लागि प्रयोग हुने गरेको छ ।

त्यस्तै एउटा प्रोटोटाइप क्याप्सुल पनि चालु हालतमा रहेको छ । अन्य तीनवटा (एउटा क्रु र दुई प्रोटोटाइप) क्याप्सुल भने चालु हालतमा छैनन् ।

एलन मस्कको कम्पनी स्पेस एक्सले निर्माण गरेको ड्रागन क्रु क्याप्सुलको पहिलोपटक सन् २०१९ को मार्च २ मा मानवरहित उडान भएको थियो ।

मानवयुक्त पहिलो उडान चाहिं सन् २०२० को मे २० मा भएको थियो । त्यस्तै पहिलो कार्गो उडान सन् २०२० को डिसेम्बरमा भएको थियो ।

यो यानलाई आमरुपमा स्पेस एक्सको फाल्कन ९ ब्लक ५ रकेटबाट प्रक्षेपण गरिन्छ । यसमा स्पेस स्टेशनसम्म जाने र फिर्ता आउनका लागि २५ सय ६३ केजी इन्धन हालिन्छ ।

क्रु नाइन मिसनमा को को जाँदैछन् ?

नासाले आगामी सेप्टेम्बरमा प्रक्षेपण गर्ने क्रु नाइन मिसनमा चारजना अन्तरिक्षयात्रीलाई स्पेस स्टेशनमा पठाइँदैछ । त्यसमा कमान्डरको रुपमा जेना कार्डम्यान छन् भने पाइलट निक हेग, मिसन विशेषज्ञ स्टेफनी विल्सन र रुसी अन्तरिक्षयात्री तथा मिसन विशेषज्ञ एलेक्जेन्टर गोरबुनोभ रहनेछन् ।

फर्किने बेलामा अन्तरिक्ष यानमा सुनिता र बुच चढ्ने भएकाले ती मध्ये दुईजना अन्तरिक्षयात्री स्पेस स्टेशनमै बस्नेछन् र बाँकी दुईजना मात्रै फर्किनेछन् । यद्यपि आकस्मिक फिर्तिको उडानका रुपमा उल्लेखित चारैजनासँगै सुनिता र बुच गरी ६ जना नै पृथ्वीमा फर्किने सम्भावना समेत रहने बताइन्छ ।

बोइंग स्टारलाइनरलाई पृथ्वीमा ल्याइने

क्रु नाइन मिसन प्रक्षेपण गर्नुअघि हाल स्पेस स्टेशनसँग जोडिइरहेको बोइंग निर्मित यान स्टारलाइनरलाई पृथ्वीमा फिर्ता ल्याउनु पर्नेछ । किनकि स्टार लाइनरलाई पृथ्वीमा फिर्ता ल्याएमात्रै स्पेस एक्सको ड्रागन क्याप्सुलका लागि स्पेस स्टेशनमा डकिंग पोर्ट खाली हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?