+
+

प्रसूति गृहबाट एक वर्षमा साढे २२ हजारले लिए सुत्केरी सेवा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते १३:४५

१० भदौ, काठमाडौं । थापाथालीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालबाट पछिल्लो एक वर्षमा २२ हजार ३७९ जनाले सुत्केरी सेवा लिएका छन् ।

सोमबार ६५ औं वार्षिक उत्सवको अवसरमा अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले १० हजार भन्दा बढीले शल्यक्रियामार्फत सन्तान जन्माएको जानकारी दिए ।

महिला स्वास्थ्यसम्बन्धी मुलुकको एकमात्र केन्द्रीय विशिष्टीकृत अस्पतालले मातृ शिशु स्वास्थ्यको क्षेत्रमा अमूल्य योगदान दिएको अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताए ।

‘प्रसुति सेवाका लागि उक्त अस्पताल भरोसाको केन्द्र बनेको छ । नवजात शिशु तथा मातृ स्वास्थ्यको विषयमा विभिन्न तालिम तथा कार्यक्रमको लागि अस्पताल अहिले प्रमुख केन्द्रको रुपमा स्थापित भएको छ’, डा. अधिकारीले भने ।

कुन–कुन सेवा थपिए ?

हरेक दिन प्रसुति गृह अस्पतालमा ओपिडीमा आउनेको संख्या कम्तीमा ८ सयले सेवा लिन्छन् । अस्पतालको तथ्यांक अनुसार गत वर्ष मात्रै १ लाख ९४ हजार बिरामीहरुलाई यस अस्पतालबाट ओपिडी सेवा लिएको तथ्यांक छ ।

निःसन्तान तथा आईभीएफ सेवा त्यसो त प्रसुतिगृह अस्पतालले विसं २०६८ सालमै निःसन्तानलाई लक्षित गरी आईभीएफ सेवा सुरु गरेको थियो । तर विसं २०७२ सालको भूकम्पपछि स्थगन भएको थियो । सो सेवा आर्थिक वर्ष २०७८ ७९ देखि पुन सञ्चालनमा आएको छ ।

अहिलेसम्म त्यसबाट ५८ जनाले सन्तान जन्माएका निर्देशक डा . अधिकारीले बताए । गत आर्थिक वर्षमा ९ हजार ११ जनाले निःसन्तानसम्बन्धी समस्या भएका सेवाग्राहीहरुले ओपीडीबाट सेवा लिएको र त्यसमध्ये २२२ जना महिलाहरुले आईयूआई सेवा र २० जना निःसन्तान सेवाग्राहीहरुले आईभीएफ सेवा लिएका छन् ।

सेवाग्राहीको सहजताका लागि अस्पतालले अनलाइन टिकट सेवा र डिजिटल भुक्तानीको व्यवस्था गरेको छ । अस्पतालमा सेवाग्राहीको भिडभाडलाई व्यवस्थित गर्नका लागि अस्पतालमा तीनवटा काउन्टर थपिएको छ ।

अनलाइन टिकट काट्ने, बालबालिका, अपांग तथा ज्येष्ठ नागरिकलाई छुट्टै काउन्टरको व्यवस्था गरिएको डा. अधिकारी बताउँछन् । त्यसैगरी अस्पतालले फार्मेसी तथा बिलिङ काउन्टर पनि थप गरेको छ ।

अस्पतालको निःसन्तान दम्पतीका लागि सञ्चालित सेवालाई अझै प्रभावकारी र व्यवस्थित बनाउनका लागि स्वास्थ्य मन्त्रालयले इक्सी मेसिन प्रदान गरेको छ । आगामी दिनमा आईभीएफ सेवालाई थप व्यवस्थित बनाउने योजनामा रहेको डा. अधिकारीले बताए ।

त्यसैगरी, अस्पतालले गत १४ साउनदेखि ओपिडी समय बढाएको छ । बिहान ९ देखि ३ बजेसम्मको जनरल ओपिडी तथा अपरेसन सेवा अहिले ४ बजेसम्म पुर्‍याएको छ ।

गर्भावस्थाको शिशुको मुटुको जाँच ईको सेवा २०८१ जेष्ठ १ देखि नै सञ्चालनमा ल्याएको छ । नवजात शिशुको वंशाणुगत रोगको पहिचान गर्न न्यू बर्न स्क्रिनिङ सेवा २९ साउन देखि सञ्चालनमा ल्याइएको छ ।

यसबाट जन्मपश्चात हुने मानसिक सुस्तता, दीर्घरोग एवं नवजात तथा बाल मृत्युदर घटाउन थप टेवा पुग्ने अपेक्षा गरिएको डा. अधिकारी बताउँछन् ।

बच्चा गर्भमा नै बिकलाङ्ग भए नभएको वा मुटुमा समस्या भए नभएको पत्ता लगाउनका लागि अस्पताल गत जेठ देखि गर्भवतीहरुका लागि मुटुको इको कार्डियोग्राफी सेवा सुरु गरेको छ । डा. अधिकारीका अनुसार यसअघि उक्त सेवाका लागि अन्य निजी अस्पताल जानुपर्ने तथा महंगोमा पर्ने अवस्थाको अन्त्य भएको छ ।

अस्पतालको रक्तसञ्चार सेवालाई अझ गुणस्तरीय बनाउन एन्टीबडी टेष्टसमेत सञ्चालनमा ल्याइएको छ । ब्लड ट्रान्स्फ्यूजन सम्बन्धी हुने जटिलता न्यूनीकरण गर्न मद्दत पुग्ने डा. अधिकारी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?