+

मधुमेह रेटिनोपेथी कति गम्भीर, कसरी थाहा पाउने ?

२०८१ भदौ  १० गते १४:४५ २०८१ भदौ १० गते १४:४५
मधुमेह रेटिनोपेथी कति गम्भीर, कसरी थाहा पाउने ?

रेटिना आँखाको पछाडिको भागमा हुन्छ । कुनै पनि वस्तुको प्रकाश पारदर्शी लेन्सबाट रेटिनामा जान्छ । एक पटक प्रकाश रेटिनामा पुगेपछि स्नायु मार्फत संकेतहरू मस्तिष्कमा पुग्छन् ।

अनि मस्तिष्कले उक्त वस्तु चिनेर आँखा मार्फत हामीलाई त्यो वस्तुबारे बताउँछ । मधुमेहका कारण सो रेटिनामा क्षति हुनुलाई मधुमेह रेटिनोपेथी भनिन्छ ।

टाइप-१ र टाइप- २ दुवै भएकालाई रेटिनोपेथीको जोखिम उत्तिकै रहन्छ । १० वर्षभन्दा लामो समयदेखि मधुमेह भएका ८० प्रतिशतमा रेटिनोपेथी हुने जोखिम रहन्छ ।

जसको उपचार भएन भने आँखाले देख्ने क्षमता गुमाउँछ ।

मधुमेह रेटिनोपेथीको जोखिम कसरी हुन्छ ?

इन्सुलिनले शरीरमा भएको सुगरको स्तरलाई नियन्त्रण गर्छ । इन्सुलिनको सही ढंगले उपस्थिति नहुँदा मधुमेह भएकालाई रेटिनोपेथीको जोखिम हुनसक्छ । किनकि टाइप-१ मा इन्सुलिन बन्दैन भने टाइप-२ मा बनेको इन्सुलिनले पनि शरीरमा काम नगर्ने हुन्छ ।

यस्तोमा जति लामो समयसम्म मधुमेह हुन्छ, त्यति नै मधुमेह रेटिनापेथी हुने जोखिम बढी हुन्छ । किनकि  रगतमा उच्च मात्रामा ग्लुकोज भएमा यसले रेटिनालाई पोषण दिने रक्तनलीमा बिस्तारै क्षति पार्न सक्छ ।

नतिजा, आँखामा नयाँ रक्तनली विकास हुनसक्छ । जुन राम्रोसँग विकास हुँदैन र सजिलै फुटेर रेटिनोपेथी गराउँछ । मधुमेह बाहेक खराब जीवनशैली मोटोपन र उच्च रक्तचाप पनि रेटिनोपेथीका लागि जोखिम कारक हुनसक्छ ।

रेटिनोपेथी भएको कसरी थाहा पाउने ?

मधुमेह रेटिनोपेथीमा सुरुवातमा कुनै चेतावनी चिन्ह वा लक्षणहरू हुँदैनन् । यसको असरबारे जान्न वर्षमा एक पटक आँखाको परीक्षण गराउनुपर्छ । परीक्षणले मात्र रेटिनोपेथी भएको नभएको पत्ता लाग्न सक्छ ।

वास्तवमा रेटिनामा असर गर्दा त्यसमा भएका स-साना रक्तनलीहरु फुट्ने वा बन्द हुने सम्भावना हुन्छ । जसकारण आँखाले देख्ने दृश्य धमिलो हुँदै जान्छ । जब आँखाले धमिलो रुप देख्न थाल्छ तब मात्र आँखामा समस्या भएको थाहा हुन्छ ।

उपचार सम्भव छ ?

सुरुको अवस्थामा थाहा पाए उपचार राम्रो हुन्छ । यसको पहिचानका लागि डाइलेटेड आँखा परीक्षण हुन्छ ।

मधुमेह रेटिनोपेथी भइसकेको पत्ता लागेपछि सबैभन्दा पहिला मधुमेह, उच्च रक्तचाप र कोलस्टेरोलको मात्रा बढेको छ भने नियन्त्रण गर्नुपर्छ । मधुमेह रेटिनोपेथीले धेरै नै असर पारेको खण्डमा आँखामा लगाउने रेजरहरु प्रयोग गर्नुपर्ने हुन्छ ।

त्यस्तै, आँखामा पनि लगाउने इन्ट्राओकुलर सुई हुन्छ, त्यो सुई लगाउनुपर्छ । आँखाको अवस्था जटिल भएको अवस्थामा भने शल्यक्रिया नै गर्नुपर्छ ।

मधुमेह रेटिनोपेथीको उपचारपछि के गर्ने ?

– आँखाको नियमित परीक्षण गर्ने

– चिकित्सकको सम्पर्कमा बस्ने

– उपचारमा प्रयोग गरिरहेको सुई, लेजर वा शल्यक्रियाले पर्याप्त मात्रामा काम गरिरहेको छ कि छैन अवलोकन गर्ने

उपचार नभएमा हुनसक्ने जटिलता

यदि समयमा पहिचान नभई यतिकै छोडेमा रेटिनामा रक्तनलीहरु बढ्न सक्छन् । जसले आँसुको मात्रा नियन्त्रण गर्ने भागमा आक्रमण गर्छ ।

अन्ततः डायबेटिक रेटिनोपेथीले आँखामा हुने पानीको सन्तुलन बिग्रिएर स्नायुमा चाप बढ्न गयो भने जलबिन्दु पनि हुनसक्छ ।

जलबिन्दु भएमा जमेको पानीले आँखामा चाप बढ्न थाल्छ । सो चापले नसालाई थिच्दै गई बिस्तारै बिगार्दै लैजान्छ । आँखाभित्र बढ्दै गएको दबाबले अप्टिक नर्भको पत्रलाई नष्ट गर्न सक्छ ।

फलस्वरुप आँखामा दबाब बढी आँखा मार्फत दिमागले लिने छवि बोक्ने स्नायुमा क्षति मात्र आँखाको ज्योति सदाका लागि गुम्न सक्छ ।

त्यसैले जलबिन्दु र मधुमेह रेटिनोपेथी दुवैको कारणले आँखाको दृष्टि सदाका लागि गुम्न सक्छ । जसकारण समयमै पहिचान र उपचार हुन आवश्यक छ ।

रेटिनोपेथीको रोकथाम

– वर्षमा एक पटक नियमित आँखा परीक्षण र सामान्य शारीरिक परीक्षण गराउनुपर्छ ।

– उच्च रक्तचाप, मधुमेह र कोलेस्टेरोलको स्तर सन्तुलनमा राख्नुपर्छ । चिकित्सकले दिएको निर्देशनअनुसार नियमित फलोअप र औषधि खानुपर्छ ।

– आँखासम्बन्धी समस्या देखिए तुरुन्त परीक्षण गराउनुपर्छ ।

– धुम्रपान र मदिरा सेवनबाट टाढा रहनुपर्छ ।

– नियमित व्यायाम गर्नुपर्छ ।

चस्मा पसलमा गएर पत्ता लाग्दैन डायबेटिक रेटिनोपेथी र जलबिन्दु

धेरैजसो व्यक्ति आँखामा समस्या आए वा दृष्टि अवस्था थाहा पाउन चस्मा पसलमा जान्छन् । उनीहरुले समस्या देखिए चस्मा परिवर्तन गर्न सिफारिस गर्न सक्छन् । तर जलबिन्दु र रेटिना सम्बन्धी नै समस्या हो भनेर पत्ता लाग्न कठिन हुन्छ ।

दक्ष चिकित्सक र जलबिन्दु जाँच्ने उपकरण सहितको सेवा भएको खण्डमा मात्र यसको पहिचान हुनसक्छ ।

डा. बेन लिम्बू मधुमेह रेटिनोपेथी
डा. बेन लिम्बू
लेखक
डा. बेन लिम्बू
नेत्ररोग विशेषज्ञ तथा अकुलोप्लास्टी सर्जन

डा. लिम्बू काठमाडौंको ग्लोबल आई सेन्टरका संस्थापक हुन् । उनको नेपाल मेडिल काउन्सिल दर्ता नम्बर ४४०१ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय