+
+
शंखमूल घटना :

आफ्नै स्नुकर हाउसमा अचेत भेटिएका थिए रुपक 

धारिलो हतियार प्रहार गरेको देखियो : प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते १४:४४

१० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शंखमुलमा हत्या गरिएका व्यक्ति स्नुकर हाउसका सञ्चालक रहेको खुलेको छ ।

आक्रमणबाट मृत्यु भएका ४० वर्षीय रुपक बान्तवा ‘टाइमपास स्नोकर हाउस’ का सञ्चालक रहेको खुलेको छ । आफ्नै स्नुकर हाउसमा उनीमाथि आक्रमण भएको र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

गएराति पौने २ बजेतिर उनीमाथि धारिलो हतियार तथा फलामजन्य वस्तुबाट आक्रमण भएको जस्तो देखिएको प्रहरीले जनाएको छ । एक महिलाले घटनाबारे प्रहरी वृत्त नयाँ बानेश्वरलाई फोनमार्फत जानकारी गराएकी थिइन् ।

राति १ः५० मा प्रहरी वृत्त नयाँ बानेश्वरको टोली घटनास्थलमा पुगेको थियो । त्यति बेला उनी सोफामा उत्तानो परेको अवस्थामा अचेत भेटिएका थिए ।

‘जस्तापाताको टहरामा बान्तवाले खाजाघर र स्नुकर हाउस सञ्चालन गरेका रहेछन् । उनी खाजाघरको सोफामा गम्भीर अवस्थामा अचेत फेला परेका थिए’, घटनास्थल पुगेका एक अधिकृतले भने ।

उनको टाउकामा गम्भीर चोट रहेको थियो । निधारमाथिको भागमा धारिलो हतियार प्रहार गरेजस्तो देखिएको प्रहरीको भनाइ छ । शरीरका अन्य भागमा फलामजन्य वस्तुले प्रहार गरेको जस्तो देखिएको प्रहरीको भनाइ छ ।

अचेत अवस्थामा भेटिएका बान्तवालाई उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा पठाइएकामा डाक्टरले साढे २ बजे मृत घोषणा गरेका थिए ।

प्रहरीलाई घटनाबारे जानकारी गराउने महिला बान्तवाकै होटल र स्नुकर हाउसमा काम गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । ती महिलाले प्रहरी समक्ष एक व्यक्ति भाग्दै गरेको देखेको समेत बताएकी छिन् ।

प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । ‘शंकास्पद व्यक्तिसँग सोधपुछ भइरहेको छ । अहिलेसम्म हत्या गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन’, परिसरका एसपी अधिकारीले भने ।

अहिले तीन वटा युनिटले एकसाथ अनुसन्धान अघि बढाएका छन् । वृत्त नयाँ बानेश्वरका साथै जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?