+
+

तेस्रो विवाहको सम्भावनाबारे आमिर खान : ‘मलाई साथी चाहिन्छ’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते १६:२१

काठमाडौं । बलिउड अभिनेता आमिर खान निजी जीवनबारे कमै चर्चा गर्छन् । उनका दुई वैवाहिक जीवन असफल रहे । भारतीय सञ्चारमाध्यमसँगको हालैको एक अन्तर्वार्तामा उनले तेस्रो विवाहको सम्भावनाबारे कुरा गरेका छन् ।

आमिरको पहिलो विवाह रीना दत्तसँग भएको थियो । उनीहरुले सन् २००२ मा आफ्नो १६ वर्षको वैवाहिक जीवनलाई अन्त्य गरे । त्यसपछि उनले फिल्म निर्देशक किरण रावसँग विवाह गरे ।

रिया चक्रवर्तीको टक शो ‘च्याप्टर २’ मा रिया चक्रवर्तीसँग कुरा गर्दै आमिरले विवाहको बारेमा सल्लाह दिन अस्वीकार गर्दै भनेका छन्, ‘मेरो दुईवटा असफल विवाह भइसकेका छन्, त्यसैले मसँग विवाहको सल्लाह नमाग्नुहोला । आमिरको विश्वास छ कि वैवाहिक सफलता व्यक्तिअनुसार फरक हुन्छ ।’

रियाले पुनः विवाह कहिले गर्ने भनेर पनि सोधेकी थिइन् । यसका आमिरको जवाफ थियो- ‘अहिले ५९ वर्षको भएँ, म फेरि कहाँ बिहे गर्छु, अप्ठ्यारो लाग्छ । मेरो जीवनमा अहिले धेरै सम्बन्ध छन्, मैले पुनः जोडेको छु । मेरो परिवार, मेरा छोराछोरी र मेरा भाइबहिनी, मेरो नजिकका मानिससँग हुँदा म धेरै खुसी छु ।’

आमिरले व्यक्तिगत रूपमा मात्र नभई आफ्नो व्यावसायिक जीवनको ‘दोस्रो अध्याय’ पनि सुरु गरिसकेका छन् । उनको पछिल्लो फिल्म ‘लाल सिंह चड्डा’ बक्स अफिसमा असफल रह्यो जसले गर्दा उनले काम छाडेर परिवारसँग समय बिताउन थाले ।

अन्तर्वार्ताका क्रममा आमिरले आफू जीवनमा एक्लो हुन नसक्ने बताए । उनले भने, ‘मलाई एक्लै बस्न मन लाग्दैन । मलाई एक पार्टनर चाहिन्छ । म एक्लो होइन, मलाई साथी मन पर्छ । म मेरा पूर्वपत्नी रीना र किरण दुवैसँग धेरै नजिक छु । हामी एउटै परिवार जस्तै छौं । जीवन अप्रत्यासित छ, त्यसो भए हामीले कसरी विश्वास गर्ने ?’

आमिर यतिबेला आफ्नो आगामी फिल्म ‘सितारे जमिन पर’ मा काम गरिरहेका छन् । जसलाई आरएस प्रसन्नाले निर्देशन गर्दैछन् । फिल्ममा आमिर बाहेक जेनेलिया डिसुजा र दर्शिल सफारीको पनि अभिनय हुनेछ ।

‘यो फिल्मले तपाईंलाई हँसाउनेछ, यसले तपाईंलाई मनोरञ्जन दिनेछ । तर विषयवस्तु एउटै (तारे जमिन पर) हो, त्यसैले हामीले यो नाम धेरै सोचेर राखेका छौं । हामी सबैमा कमजोरी छन्, तर हामी सबैमा केही विशेष छ, त्यसैले हामी यो विषयलाई अगाडि बढाउँदैछौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?