+
+

‘विष्णु माझीको गीत आयो, तीज आयो’

रासस रासस
२०८१ भदौ १० गते १७:०७

काठमाडौं । लोकप्रिय गायिका विष्णु माझीको तीज गीत ‘आइन आमा यो तीजमा’ शनिबार युट्युबमा सार्वजनिक हुनासाथ अग्रज गीतकार राजेन्द्र थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘गीत सुन्दा गीतले मजा दिन छाडेको धेरै भइसकेको यस बेलामा अचानक यो गीत ! अदभूत !’

तीज गीतका नाममा मौलाइरहेको विकृतिलाई निरुत्साहित गर्न माझीद्वारा स्वरबद्ध उक्त गीतलाई करोडौं भ्युज पुग्ने गरी दर्शक-श्रोताले साथ दिनुपर्ने उनको भनाइ थियो । गायक तथा संगीतकार वसन्त थापा माझीको तीज गीत आउँदा उत्साहित देखिए ।

‘बल्ल तीज आए झैं भो, प्यासीले पानी पाए झैं भो’ सामाजिक सञ्जालमा उनी लेख्छन् । उनको पोस्टमा टिप्पणी गर्दै रमेश क्षेत्रीले लेखेका छन्, ‘यसलाई भनिन्छ तीज गीत, त्यसैले आजबाट मेरा लागि तीज सुरु भयो ।’

सुनिता क्षेत्रीको टिप्पणी पनि उस्तै छ, ‘साँच्चै हो नि विष्णु माझीको गीत नआएसम्म तीज आएजस्तो हुँदैन ।’ ‘सपना म्युजिक इण्ड्रष्टिज’ युट्युब च्यानलबाट सार्वजनिक उक्त गीत लोक संगीतप्रेमीको रोजाइमा परेको छ । सार्वजनिक भएको दुई दिन नबित्दै उक्त गीतको म्युजिक भिडियो युट्युबमा ३१ लाखभन्दा बढी (समाचार तयार पार्दासम्म) पटक हेरिएको छ । गीतको सर्वत्र चर्चा र प्रशंसा भइरहेको छ ।

तीज पर्वको परम्परा र मौलिकतालाई पछ्याएका कारण उक्त गीत धेरैले रुचाएको संगीतकार आशिष अविरल बताउँछन् । ‘महिलाको संवेदना र मनोविज्ञान गीतमा झल्किएको छ, समग्रमा गीतको मौलिक पक्ष सशक्त छ, गायकीका हिसाबले विष्णु माझी अब्बल हुनुहुन्छ’ उनले भने, ‘तीज गीतको मूल प्रवृत्तिलाई यो गीतले पक्रेको छ ।’

विगत केही वर्षदेखि कतिपय तीज गीत विवादित हुने गरेका छन् । तीज गीतको विषयलाई लिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायक-गायिकालाई प्रतिबन्ध लगाउनेसम्मको अवस्था सिर्जना भएको थियो । यस वर्ष पनि दर्जन बढी तीज गीत विवादमा मुछिएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापा मगरले तीज गीतमा देखिएको मौलिकताको खडेरीमा विष्णु माझीको गीतले त्राण दिएको उल्लेख गरिन् । उक्त गीतले पाएको चर्चा र प्रशंसालाई इङ्गित गर्दै उनले समाज सधैं स्तरीय सिर्जनाको खोजीमा रहने हुँदा गायिका माझीको गीत त्यही कोटीमा परेको बताइन् ।

कलाकारितालाई धमिल्याएर क्षणिक लाभ लिनेले तीज गीतलाई विकृत पारिरहेका बेला विष्णु माझीको गीतले उनीहरु निरुत्साहित बनेको उनको बुझाइ छ ।

अग्रज लोकगायिका हरिदेवी कोइराला तीज गीतमा महिलाले आफूले झेल्नुपरेका सामाजिक बन्धन, पारिवारिक अन्याय, अत्याचार आदि समेटिनुपर्ने मान्यता राख्छिन् । अन्धविश्वास र विसङ्गतिपूर्ण व्यवहार तोडेर समानतामूलक समाज निर्माण गर्न तीज गीत सहयोगी बन्नुपर्ने उनको भनाइ छ ।

पौराणिककालदेखि तीज पर्व र गीतको बयान हुँदै आएको प्रसङ्ग जोड्दै उनले तीज गीतमा विशेषगरी नारी मुक्तिको आवाज मुखरित हुने गरेको स्मरण गरिन् । बढ्दो व्यावसायिक बजार र अस्वस्थ प्रतिस्पर्धाले नेपाली सङ्गीतको मौलिकता गुम्दै जान थालेको कतिपय सङ्गीतकर्मी बताउँछन् । तीज गीत लगायत लोक गीत-सङ्गीतमा भित्रिएको विकृति रोक्न स्वयं सर्जक-कलाकारले स्वनियन्त्रण गर्नुपर्ने उनीहरुको भनाइ छ ।

माझीद्वारा स्वरबद्ध उक्त तीज गीतको शब्द र सङ्गीत सुन्दरमणि अधिकारीको हो । तीजमा माइत जान नपाएकी चेलीको मनोभावना गीतमा पाउन सकिन्छ । तीन वर्षअघि माझीको तीज गीत ‘चरी जेलैमा’ चर्चित बनेको थियो । सार्वजनिक रुपमा देखा नपर्ने गायिका माझीले गुमनाम अवस्थामै नेपाली लोकसङ्गीतलाई अमर गीत दिएको विश्लेषण गरिंदै आएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?