+
+

लाखे नाच्दै, समाचार लेख्दै

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०८१ भदौ १२ गते ७:४७

भदौको पहिलो साता काठमाडौं उपत्यकामा बिहानैदेखि भएको वर्षाको निरन्तरता घटेको छैन । ललितपुर जावलाखेलको ‘बद्रीको हलुवा पसल’ गन्तव्य बनाएका हामी तीन भाइ (राजेन्द्र मानन्धर, भोजराज न्यौपाने र म) भेटको संयोगलाई उपयोगको अस्त्र मानेर लम्किरहेका छौं ।

हलुवा-स्वारीको स्वादसँग एक थान छाते फोटो क्लिक भयो । साँझमा त्यही फोटो सामाजिक सञ्जालमा पोस्ट्याएर भोजराजले क्याप्सन लेखे– ‘साथी भनेको उखु जस्तो हुन्छ रे ! जति भाँचे पनि गुलियो हुने । हामी पनि त्यस्तै साथी !’

क्याप्सनको गहिराइ अञ्जुलीको पानीले नाप्न सकिन्न । निक्कै खारिएको सम्बन्ध छ हाम्रो । दोलखा सदरमुकाम चरिकोटमा लाखेको तालसँग लम्किएको सम्बन्ध पत्रकारिताको बिट समाएर साहित्यको गहिराइमा झ्वाइँ गर्दा समेत छुट्टिएन । त्यसैले वरिष्ठ कलाकार हरिवंश आचार्यको भनाइ सापट लिएर भोजराजले हाम्रो सम्बन्धमा कसी लगाएको हुनुपर्छ ।

जावलाखेलमा पानीले रुझ्दै ‘बद्रीको हलुवा पसल’सम्म पुग्न निक्कै सास्ती भयो । रमाइलो के भने भोजराजलाई छालाको जुत्ता जोगाउन कठिन, राजेन्द्रलाई कोट-पाइन्टमा चप्पल लगाएको दृश्य क्यामेरामा कैद हुन्छ कि भन्ने चिन्ता, मलाई दुई मित्रले बोकेको छातामध्ये कता ओतलाग्ने भन्ने अन्योल ।

‘बद्रीको हलुवा पसल’भित्र छिरेपछि भने सबै असहजता हलुवा–स्वारीको स्वादमा विलिन भयो । न जुत्ताको चिन्ता, न चप्पलको पिरलो, न छाताको अन्योल । मात्र हलुवा–स्वारीको मिठास । त्यो मिठासमा एउटा स्मरण भने पीडादायी लाग्यो । चरिकोट पशुपति मिठाई भण्डारको जन्मदाता स्व. लेखमान मामा । उहाँको हातले बनाएको स्वादिलो हलुवा–स्वारीको आदतले नै हामीलाई ‘बद्रीको हलुवा पसल’सम्म पुर्‍याएको हो । मैले पैला पनि लेखेको थिए, उहाँको सीप हस्तान्तरण हुन नसक्दा त्यो स्वादबाट अतृप्त रहनु परेको खुट्को सधैं रहने छ ।

‘बद्रीको हलुवा पसल’मा स्मृति-विस्मृतिका विगतसँग लाखे संस्कार र पत्रकारिताको सम्बन्धमा विमर्श गर्दा निकै रमाइलो भयो । झमझम साउने झरीमा पुरानो बजारबाट झ्याम्टा र ढोलकको सुमधुर सङ्गीतले हाम्रो बालापनको खुसी गद्दाको मुखुण्डो र बनमाराको स्याउलासँग उफ्रिरहेको हुन्थ्यो ।

यो ४०-४५ वर्षअघिको सम्झना हो । हाम्रो उमेर १०-११ वर्षबाट माथि उक्लिंदै थियो । घण्टा कर्ण (गठाँमुगचह्रे) पर्वपछि चरिकोटको पुरानो बजारमा श्रीकृष्ण जन्माष्टमीसम्म हरेक दिन लाखेनाच हुनेगर्थ्यो । अनि हामी केही केटाहरु जम्मा भएर आफ्नै घरको आँगन र बाटो आसपास गद्दाको मुखुण्डो लगाएर बनमाराको स्याउला हल्लाउँदै उतैको बाजाको तालमा नाच्न थाल्थ्यौं ।

मलाई अलिअलि याद छ, म प्राय: लाखे नाच्न रुचाउँथे, राजेन्द्र झुम्रे बन्थ्यो, भोजराज झ्याम्टा ठोक्न माहिर । पछि राजेन्द्र र भोजराज लाखे संस्कृतिको दर्शक मात्र भए, म चाहिं निकै पछिसम्म यो संस्कृतिमा हातेमालो गर्दै लाखे बनेर नाच्ने काममा अग्रसर बनिरहे ।

दिनभरि लाखे नाच्ने, साँझ परेपछि आफैं लाखे-नाचेको समाचार तयार गरेर पत्रिकामा पठाउने । कति रोमाञ्चक थियो त्यो बेलाको पत्रकारिता यात्रा । अब चाहिं लाखे नाचको समाचार मात्र लेख्दैछु । झण्डै सात वर्ष जति भएछ लाखे नाच्न छोडेको ।

‘बद्रीको हलुवा पसल’मा गफिंदै गर्दा भोजराजले सम्झियो– पुरानो बजारको लाखेनाचलाई सहयोग गर्न झ्याम्टा ठोक्दा रामकोटका न्यौपाने बन्धुहरुले ब्राह्मणको छोरा भएर झ्याम्टा ठोक्दै हिंड्ने भनेर हप्काएछन् ।

बालापनमा लाखेको बाजाले आकर्षित गर्दा मुखुण्डो भिरेर झ्याम्टा ठोक्दै दौडिने हामी विद्यालय शिक्षा पूरा गरेर पत्रकारितामा पाइला टेक्दै गर्दा पनि लाखेको पछि लाग्न भने छोडेका थिएनौं । यो बेला हाम्रो लक्ष्य लाखे संस्कृतिको जर्गेना गर्दै चरिकोटमा पर्यटन प्रवर्द्धन गर्ने थियो । त्यसैले त हामी लाखे संस्कृतिमा सहभागी हुँदै समाचार लेख्दै गर्थ्यौं ।

नेवारी सभ्यता र संस्कृतिसँग जोडिएको लाखेनाच रोचक र आकर्षक नाचमध्येको मानिन्छ । त्यसैले पनि पुरानो बजारबाट लाखे बाजा बजेपछि सातदोबाटो चोकसम्मै मानिसको लर्को थेगिनसक्नुको हुने । अझ दोलखा सहरको लाखेनाच हेर्न त जिल्लाभरिकै मानिस ओइरिन्छन् । चरिकोटमा एकथरी मात्र लाखेनाच प्रदर्शन गरिन्छ, दोलखा सहरमा भने धेरै थरीका लाखेनाच प्रदर्शन हुने गरेको छ ।

लाखेनाचको प्रारम्भ कहिले र कहाँबाट भएको हो भन्ने तथ्यगत आधार नभेटिएको भएपनि एकथरीले हरिहरसिंह देवले सिम्रौनगढबाट तलेजु भवानीलाई उपत्यकामा ल्याउदा देवीसंगै लाखेलाई समेत ल्याएको बताउने गरेका छन् ।

नुवाकोटबाट आएका ठकुरी राजाले लाखेलाई उपत्यकामा ल्याएको हो भन्ने किंवदन्ति पनि पढ्न पाइन्छ । नेपाल भाषा वंशावली अनुसार लाखे नाचको चलन राजा गुण कामदेवले सुरु गरेका हुन् । तर मुकुट लगाएर लाखे नाच नाच्ने प्रचलन भने राजा प्रताप मल्लको पालादेखि सुरु भएको किंवदन्ती पाइन्छ ।

अर्को एक किंवदन्ती अनुसार नेवार समुदायका एक किसानकी छोरीसँग लाखेको माया बसेछ । यो कुरा छिमेकीले किसानलाई भनेपछि उसले राजालाई उजुरी गरेछ । लाखेको माया बुझेका राजाले उसलाई किसानकी छोरीसँग बस्न दिएछ । राजाको अनुमतिले खुसी भएको लाखे नाच्न थालेछ ।

नेवार समुदायमा नाचिने लाखे नाच गुँला पर्वमा उपत्यकाको विभिन्न ठाउँमा र इन्द्रजात्रामा काठमाडौंमा प्रदर्शन गरिन्छ ।

कृष्णलाई मार्न कंसले बहिनी पुतनालाई प्रयोग गरेको कथासँग पनि लाखेनाचको किंवदन्ती जोडिएको छ । पुतनाको मृत्युको कामना गर्दै राक्षसको रुपमा सजिएर नेवार समुदायमा लाखेनाच नचाउने चलन चलेको बताइन्छ । लाखेलाई पुतना मानी कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णकै हातबाट लाखे मार्ने प्रचलन समेत रहेको छ । नागपञ्चमीमा सुरु गरिएको पुतनाको मृत्युको कामना ऋषि पञ्चमीका दिन मृत्यु भएको सम्झिंदै बन्दुक पड्काएर विर्सजन गरिने परम्परा समेत रहेको छ ।

यो किंवदन्तीमा कति सत्यता होला या नहोला त्यो अध्ययनको विषय छँदैछ । तर हाम्रा यस्तै संस्कार- संस्कृतिले हामीलाई विश्वमै धनी बनाएको छ । त्यसैले त राजेन्द्र, भोजराज, म लगायत दोलखाको पत्रकारितामा सक्रिय (स्व. देवदास श्रेष्ठ समेत) सबैले आफ्नो लेखाइलाई हरेक वर्ष लाखेनाचमा केन्द्रित गरेका हौं ।

हामी २०३८-०४० सालबाट मात्र लाखेसँग जोडिएका हौं । झण्डै डेढ सय वर्षअघिबाट नेवार समुदायको बसोबास रहेको चरिकोट पुरानो बजारमा लाखेनाचको सुरुवात २०१६ सालबाटै भएको रहेछ ।

लाखेनाचकै रौनकबीच एक दिन मैले चरिकोट पुरानो बजारका ज्येष्ठ सदस्य रामदास मामा (चरिकोट गुठीका अध्यक्ष रामदास श्रेष्ठ) सँग लाखेनाचको बारेमा कुरा गरेको थिए । उहाँले भन्नु भयो– ‘पुरानो बजारका उहाँ लगायत नेवार केटाकेटी दोलखा बजारमा लाखेनाच हेर्न जाने गर्नुहुन्थ्यो रे । पछि दोलखा पुग्न टाढा भएको ठानी त्यहींकफ सिको गरेर चरिकोटमै लाखेनाचको सुरुवात गरिएको रहेछ । चरिकोटमा पहिलो पटक स्व. हीरालाल श्रेष्ठले लाखे नाचेको रामदास मामाले मलाई सुनाउनुभयो ।

लाखेनाचको रमाइलोमा जतिबेला हामी मुखुण्डो र झ्याम्टा समातेर दौडिन्थ्यौ स्व. हीरालाल श्रेष्ठ, स्व. देव श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, रामदास श्रेष्ठ, रामकृष्ण श्रेष्ठ लगायत लाखेनाचमा अब्बल मानिन्थे । अर्जुनबहादुर श्रेष्ठको झुम्रेनाच र नारायणलाल श्रेष्ठको कृष्णनाच पनि निकै चर्चित थियो । लाखेको बाजा, सनाहीमा पदमबहादुर कुसुले र ढोलकमा चिनिबहादुर कुसुलेको जोडी निकै दमदार थियो ।

२०३४-०३५ सालतिर दानबहादुर साहु (दानबहादुर श्रेष्ठ)ले पनि दोलखाकै बाजा ल्याएर चरिकोटमा लाखेनाच प्रदर्शन गरे ।

‘बद्रीको हलुवा पसल’मा बसेर हलुवा–स्वारीको स्वादसँग भोजराजले लाखेनाचका लागि पदमबहादुर कुसुले र चिनीबहादुर कुसुलेलाई लिन सहर्पाको ओरालै–ओरालो दौडिएको विगत सम्झिंदा पाखुरातिर उत्साहका रौं ठडिएका थिए । अहिले पदमबहादुरको निधनसँगै लाखेनाचमा सनाही बजाउने परम्परा हराएर बाँसुरीतिर सरेको छ । चिनीबहादुर पनि अहिले ढोलक ठोक्न नसक्ने भएका छन् ।

अबको लाखेनाचमा बजारका युवाहरुले बाँसुरी, ढोलक र झ्याम्टा बजाउने गर्छन् । अनि जयराम, राजेश, बिमल, प्रवीण, विपिन, गोविन्द, प्रकाश, दतिराम, श्रीराम लगायत युवाहरुले यो परम्परालाई निरन्तरता दिई रहेका छन् ।

राजेन्द्र, भोजराज र मैले हलुवा–स्वारीको पहिलो प्लेट सक्यौं । तर हाम्रो विगतका संस्मरण सकिएनन् । राजेन्द्रले दोस्रो प्लेट मगाउने प्रस्ताव गर्‍यो । संस्मरणलाई बिट मार्नकै लागि पनि राजेन्द्रको प्रस्तावमा भोजराज र मैले सहमति जनायौं ।

चरिकोटमा युवाहरुले लाखेनाचको निरन्तरतासँगै संस्कृति आदानप्रदानका लागि यो वर्ष अरु चार जिल्लाको लाखेनाच प्रदर्शन गरेको प्रसंग निस्कियो । पर्यटन प्रवर्द्धन र संस्कृति आदानप्रदानका लागि त्यो सकारात्मक प्रयास भएको भोजराजको निष्कर्ष थियो । तर दोलखाको पत्रकारिताले लाखे संस्कृतिलाई कति प्राथमिकता दिनसक्यो भन्ने विषयमा छलफल गर्‍यौं हामीले ।

विगतको तुलनामा दोलखाको पत्रकारिता ‘इस्यु’ उठाउने कुरामा कमजोर हुँदै गएको हो कि ? हामी तीनै जनाले आशंका गर्‍यौं । मैले त मुखै फोडे– के गर्नु त राम्रो लेख्ने पत्रकारहरु कोही राजनीति, कोही व्यवसाय र कोही प्रोजेक्टतिर लागे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?