+
+

सिंहदरबारमा फोटो–भिडियो खिच्न किन रोक्छ प्रहरी ?

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८१ भदौ १० गते १८:३५

१० भदौ, काठमाडौं । सिंहदरबारभित्र हिजोआज फोटो खिच्दा प्रहरीले देखे भने गाली खानुपर्छ । कर्मचारीहरुलाई समेत सुरक्षाकर्मीले सिंहदरबारभित्र फोटो र भिडियो नखिच्न सचेत गराउँछन् ।

सामान्यतया सार्वजनिक स्थानमा फोटो/भिडियो खिच्न मनाही गरिंदैन । झन् देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा त सेवा लिन पुग्नेहरु प्राय सर्वसाधारण सम्झनाका लागि फोटो/भिडियो खिच्न रुचाउँछन् ।

तर, पछिल्ला दिनमा सिंहदरबारभित्र प्रहरीको निगरानी छल्न सके मात्रै सार्वसाधारणले फोटो/भिडियो खिच्न सकिन्छ । प्रहरीले सिंहदरबारका विभिन्न भागमा सूचना नै राखेर फोटो भिडियो नबनाउन सूचित गरेको छ ।

‘यस सिंहदरबार परिसरभित्र स्वीकृतिविना फोटो भिडियो तथा टिकटक बनाउन निषेधित रहेको व्यहोरा जानकारीका लागि अनुरोध छ’, नेपाल प्रहरीको सिंहदरबार सुरक्षा गणले राखेका सूचना बोर्डहरुमा लेखिएका छन् । यस्तो बोर्डहरु सिंहदरबारमा राखेर फोटो खिच्न रोक्न थालेको दुई महिनाभन्दा बढी भयो ।

रक्षा मन्त्रालयमा सैनिक आफन्त भेट्न आएका धनगढीका सुन्दर भट्ट गृह मन्त्रालयको अगाडि फोटो खिच्दा प्रहरीले गाली गरेको बताउँछन् ।

‘प्रहरीले सूचना हेर्नुभएन भन्दै गाली नै गर्‍यो’, उनले भने, ‘गृह मन्त्रालयको बोर्ड देखिने गरी फोटो खिच्दा सरकारको के बिग्रिने हो भन्ने बुझ्न सकिएन ।’

धेरै पहुँचवालाहरुले सिंहदरबारभित्र मन्त्रीकै कोठाभित्र फोटो खिचाउने गरेको भन्दै उनले बाटो र बगैंचामा फोटो खिच्न रोक्नुको औचित्य नभएको बताए ।

प्रहरी स्रोतका अनुसार गृह मन्त्रालयसँग समन्वय गरेरै फोटो/भिडियो खिच्न दिने गरी कडाइ गरिएको हो । सिंहदरबारभित्र कर्मचारीहरु समेत बगैंचामा बसेर टिकटक र रिल्स बनाउने क्रम बढेको सूचना प्रहरीले गृह मन्त्रालयलाई दिएको थियो ।

‘कतिपय व्यक्तिहरु सिंहदरबारभित्रका बगैंचाहरुमा टिकटक बनाउन र फोटो खिचाउन आएको पायौं’, एक प्रहरी अधिकारीले भने, ‘यसले सिंहदरबारभित्र भीडभाड बढ्यो र सुरक्षा चुनौती पनि थपिने अवस्था बन्यो, त्यसैले गृह मन्त्रालयसँग समन्वय गरेरै कडाइ गर्न थालेका हौं ।’

सिंहदरबारभित्र सेवा लिन र राजनीतिक तथा प्रशासनिक भेटघाटमा आउनेहरुलाई समेत यस्तो गतिविधिले असर पर्ने देखेपछि रोक लगाइएको उनले बताए । तर, यसका लागि गृह मन्त्रालयबाट कुनै नीतिगत निर्णय भने नभएको प्रहरीले बताएको छ ।

प्रहरीले भीडभाड बढ्ने र बगैंचाहरुमा अनावश्यक कामले आउनेहरु रुमल्लिने अवस्थालाई मध्यनजर गरेरै फोटो भिडियो खिच्न निषेध गरिएको बताएको छ । सिंहदरबारभित्र सेवाग्राहीको आवागमनलाई मर्यादित बनाउन यसको परिएको प्रहरी अधिकारीहरुको भनाइ छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्ट सिंहदरबारको सेवा प्रवाहलाई व्यवस्थित गर्नका लागि यस्तो कदम चालिएको बताउँछन् ।

‘सिंहदरबारभित्र अनावश्यक भीडभाड नहोस् र मान्छे जे उद्देश्यले आउँछ त्यसविपरीतको काम नहोस् भनेर सुरक्षाको जिम्मा पाएको प्रहरीले व्यवस्थापन गरिरहेको हो’, उनले भने ।

पत्रकार तथा अधिकारकर्मी तारानाथ दाहाल एकमुष्ट रुपमै सिंहदरबारभित्र फोटो भिडियो खिच्न निषेध गर्न नपाइने बताउँछन् । त्यसले नागरिक स्वतन्त्रता र स्वतन्त्र प्रेसलाई समेत असर पार्ने उनको टिप्पणी छ ।

‘सरकारी पक्षले आफ्नो पक्षलाई मात्रै हेर्न मिल्दैन, त्यो निजी ठाउँ हैन, त्यो सार्वजनिक स्थल हो’, उनले भने, ‘नागरिकहरु त्यहाँ सेवा लिन र कुरा राख्न पुग्दा फोटो खिचाउन सक्छन्, त्यसलाई निषेध मिल्दैन, व्यवस्थितसम्म गर्न मिल्छ ।’

सोलोडोलो रुपमा फोटो भिडियो खिच्न रोक लगाउनु गलत हुने भन्दै दाहालले सिंहदरबारको सेवा नै प्रभावित भएको अवस्थामा सरकारले व्यवस्थित गर्न सक्ने उनको भनाइ छ ।

सार्वजनिक स्थानमा फोटो भिडियो खिच्नु अपराध नभएकाले प्रहरी लगाएर रोक्न नमिल्ने उनको तर्क छ ।

नागरिकलाई सम्झाउने, जागरुक गर्ने, व्यवस्थित गर्ने प्रहरीको कर्तव्य भएको भन्दै दाहालले सरकारले निषेध नभई सार्वजनिक रुपमा आग्रह गरेर व्यवस्थापन गर्नुपर्ने बताए ।

‘यो नागरिकको कर्तव्यसँग जोडिएको विषय हो, आफूले अधिकार प्रयोग गर्दा अरुलाई असर नपुगोस् भनेर नागरिक आफैं सचेत हुनुपर्छ’, उनले भने, ‘सरकारले नागरिकलाई आह्वान गर्नसक्छ ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?