+
+

ईपीजीको प्रतिवेदन बुझ्न भारतलाई प्रधानमन्त्रीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते १८:४३

१० भदौ, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रबुद्ध व्यक्तिहरुको समूह (ईपीजी)को प्रतिवेदन बुझ्न भारतीय पक्षलाई आग्रह गरेका छन् । पूर्वउपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाद्वारा लिखित ‘कूटनीति र भूराजनीति’ पुस्तकको आज विमोचन गर्दै ओलीले प्रतिवेदन बुझेपछि सीमा विवादलगायत विषयमा थप संवाद गर्न सहज हुने स्पष्ट बताए ।

नेपाल र भारतबीचको शीर्ष तहको सहमतिबाट सन् १९५० का सन्धीलगायतका विषयमा पुनरावलोकनका लागि गठित समितिले तयार गरेको प्रतिवेदन बुझ्न भारत लामो सयमदेखि उदासीन छ । प्रधानमन्त्री ओलीले २०७२ सालमा भारतले नेपाललाई नाकाबन्दी लगाएका बेला आफू प्रधानमन्त्री हुँदा चीनसँग व्यापार तथा पारबहन सन्धी गरेको स्मरण गर्दै त्यो युगान्तकारी काम भएको पनि स्मरण गरे ।

ओलीले छिमेकी मुलुकका बीचमा यदाकदा समस्याहरु देखिनु सामान्य भएकाले ती विषयमा खुलस्तरुपमा संवाद गरेर समाधान गर्न सकिने पनि बताए । प्रधानमन्त्री ओलीले जायज र न्यायोचित राष्ट्रिय हितका साथै अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गरेर तथ्य–प्रमाणका आधारमा समाधान खोजिएमा समस्या उत्पन्न नहुने बताए ।

‘नेपालले सन्तुलत, इमानदारिता र पक्षधरताविहीनताका आधारमा दुवै छिमेकीसँग अशल सम्बन्ध राख्छ । हामी एउटा छिमेकीविरुद्ध अर्को छिमेकीको कुनै कार्ड प्रयोग गर्दैनौं, कसैको कुभलो चिताउँदैनौ,’ उनले भने,‘हाम्रो भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन दिँदैनौं ।’

नेपालले तटस्थता र शान्तिपूर्ण समाधानको बाटो खोज्ने र संयुक्त राष्ट्रसङ्घका सिद्धान्तको पालना गर्ने प्रधानमन्त्री ओलीले बताए । विश्वशान्ति र आफ्ना नागरिकको सुरक्षाका सवालमा संवेदनशील रहेको भन्दै प्रधानमन्त्रीले कुनै पनि देशले आफ्नो स्वार्थका लागि अरुको स्वाभिमानाका धक्का लगाउने काम नुहनबताए । प्रधानमन्त्री ओलीले देशभित्रको कमजोरी र स्वार्थ लुकाउन ‘भूराजनीति’को प्रभाव भनेर पन्छिने गरिएको पनि औंल्याए ।

पुस्तक लेखा तथा परराष्ट्रमन्त्री थापाले चीनसँगको परावहन सम्झौता कार्यान्वयन गर्न आग्रह गर्दै राष्ट्रिय हित र स्वाभिमानका सवालमा अन्तर्राष्ट्रिय मञ्चमा खुलस्त र निडररुपमा कुरा राखरिहन ओलीलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?