+
+

पोखरामा प्रचण्ड : पहिले पार्टी फुटबारे अभिव्यक्ति, अहिले खण्डन गर्नै आपत

अमृत सुवेदी अमृत सुवेदी
२०८१ भदौ १० गते २१:४०

१० भदौ, पोखरा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गत २३ जेठमा पोखरामा पार्टी फुट्न सक्ने संकेत गर्दै दिएको अभिव्यक्तिको अहिले आफैं खण्डन गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

पार्टीभित्र नेतृत्व हस्तान्तरणसहित रुपान्तरणको आवाज उठाउँदै आएका उपमहासचिव जनार्दन शर्माप्रति लक्षित गर्दै अध्यक्ष प्रचण्डले कोही मोहन वैद्यहरुकै बाटो हिँड्छ भने दुर्भाग्य हुने बताएका थिए ।

पोखरामा दिएको प्रचण्डको अभिव्यक्तिले कार्यकर्तामाझमा माओवादी पार्टी फेरि फुट्नै लागेको हो कि भन्ने सशंकित बनाइदियो भने उपमहासचिव शर्माले त्यसपछि नै लिखित रुपमै फरक मत राखे ।

पार्टी रुपान्तरण र नेतृत्व हस्तान्तरणको विषय उठाउँदा प्रचण्डले कार्यकर्ताका माझमा पार्टी फुट्न सक्ने अभिव्यक्ति दिएपछि उपमहासचिव शर्माले यसलाई सहज रुपमा लिएनन् ।

शर्माले साउन अन्तिममा स्थायी कमिटी बैठकमा उनले १४ बुँदे ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा यो विषयलाई नेतृत्व र नीतिप्रति प्रश्न उठाउँदा पार्टी फुटाउन लागेको भन्दै लिखित रुपमै असहमति जनाए ।

पछिल्लो स्थायी कमिटी बैठकबाट पार्टीभित्रको नेतृत्व विवाद खारेज गरेको प्रचण्डले बताए पनि र शर्माले आफूले प्रश्न गरेको तर पार्टी फुटाउन नखोजेको बताए पनि अहिलेसम्म माओवादीका हरेक बैठक यही विषयमा केन्द्रित भइरहेको छ ।

आइतबार र सोमबार पोखरामा भएको माओवादी केन्द्रको परामर्श बैठक पनि त्यही विषयमा केन्द्रित हुन पुगेको छ । प्रचण्डले पोखरा आएर आफ्नो पुरानो अभिव्यक्तिको खण्डन गरेका छन् भने उपमहासचिव शर्माले पोखराबाटै प्रचण्डले पार्टी फुट्न सक्ने बताएपछि आफूले प्रश्न उठाएको बताएका छन् ।

प्रचण्डले गत जेठ २३ गते पोखरामा गण्डकी प्रदेशस्तरीय वैचारिक एवं राजनीतिक प्रशिक्षण कार्यक्रममा शर्माप्रति संकेत गर्दै भनेका थिए, ‘साथीहरु त धेरै नै लिएर हिँड्नुभएको थियो नि, किरणजीहरुले (मोहन वैद्य) । अब फेरि अहिले कोही त्यही बाटो हिँड्छ भने त त्योभन्दा ठूलो दुर्भाग्यपूर्ण केही हुँदैन । त्यसकारण मेरो तपाईंहरुलाई अपिल, ओल्तिर–पल्तिर, गुटबन्दीमा, योसँग लागेपछि पद पाइन्छ कि भन्याजस्तो गरी नलाग्नुहोला ।’

शर्माले प्रचण्डको त्यो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आएका थिए । प्रचण्डलाई प्रश्न गर्दा पार्टी फुट्ने अवस्था अहिले नरहेको शर्माको भनाइ छ । ‘पोखरामा गएर पार्टी फुट्दैछ भनेर म त बोलेको होइन । दलको बैठकमा गएर १६ जनाले मेरो विरुद्ध सही गर्दैछन् भनेर म त बोलेको होइन ! बोलेको त उहाँले थियो’ शर्माले अनलाइनखबरसँगकै अन्तर्वार्तामा भनेका छन्, ‘उहाँ क्लियर हुनुभयो होला, राम्रो कुरा त्यही हो ।’

त्यो दिनको सम्वोधनमा अधिकांश पार्टीभित्रको गुटबन्दीले फुटकै संघारमा पुगेको प्रचण्डको संकेतपछि उठेको तरंगले अहिले पनि पोखरामा भएको परामर्श समितिको बैठकलाई पनि तरंगित बनाएको हो । परामर्श समितिको बैठकमा २ दिन नै अधिकांश समय नेतृत्व विवाद, माओवादीको रुपान्तरण तथा सुदृढीकरण र सत्ता निर्माण र बर्हिगनकै वरिपरीमात्र घुम्यो । प्रचण्ड र जनार्दन दुबैले खण्डन गर्नमै समय लिए ।

‘बैठकमा छिर्नुअघिसम्म ७५ प्रतिशतभन्दा धेरै नेताहरुमा पार्टीको आन्तरिक विवाद के हो, यसबारे कसरी प्रस्तुत हुने, के के विषयमा छलफल हुने हो भन्ने अन्योल थियो’, केन्द्रीय सदस्य बलावती शर्माले अनलाइनखबरसँग भनिन्, ‘तर, बैठकको सुरुआतमै अध्यक्ष प्रचण्डले प्रष्ट पार्नुभयो ।’

प्रचण्डले उपमहासचिव शर्माले नेतृत्वमाथि फरक मत राखेर बैठक डाकिएको भ्रम हुन सक्ने भन्दै यो माओवादीको नियमित बैठक भएको र यहाँका सुझावलाई प्रतिवेदनमा समेटेर केन्द्रीय कमिटीको बैठकमा राख्ने बताएका थिए ।

शर्माले भनिन्, ‘नेतृत्वमाथि केही प्रश्न हुन सक्ने र फरक मत जेलाई भनिएको थियो, त्यो पनि स्थायी कमिटी बैठकबाटै खारेज भइसकेको छ । यो माओवादी सुदृढीकरणको अभियान भएको बताउँदै छलफल र सुझावको विषय राख्नुभएको थियो ।’

बैठकमा नेताहरुले नेतृत्वको पक्ष विपक्षमात्रै बोलेनन्, गम्भीर समीक्षा गर्नुपर्नेसमेत बताए । सुरुतिरै केन्द्रीय सदस्य दुर्गा बिकलगायतले पार्टीको आन्तरिक विषयलाई सार्वजनिक गरिएको भन्दै शर्माप्रति प्रश्न उठाएकी थिइन् । बिकसहित धेरै जना केन्द्रीय सदस्यले पार्टीलाई कमजोर पार्ने काम गरेको भन्दै शर्माको गतिविधिको आलोचना गरेका थिए ।

परामर्श समितिको बैठकमा आफूमाथि उठेको विषयलाई उपमहासचिव शर्माले सोमबार जवाफ दिएका थिए । ‘अध्यक्ष प्रचण्डले पोखरामा आएर पार्टी फुट्न लागेको बताउनुभयो, मैले पनि त्यसको विषयमा कुरा उठाएको थिए । तर, नेतृत्व रुपान्तरण हुनुपर्छ, पार्टी विधिसम्मत चल्नुपर्छ भनेर प्रश्न उठाउँदा पार्टी फुटाउन खोज्यो भन्ने मैले खेपें’ शर्माले बैठकमा दिएको जवाफ उदृत गर्दै बलावती शर्माले भनिन्, ‘प्रचण्डप्रति मेरो प्रश्न हुन सक्छन् तर पार्टी फुट्दैन । मैले सुदृढ बनाउने कुरा गरेको हुँ । केके गर्दा पार्टी बलियो हुन्छ भन्ने प्रस्ताव राखेको हुँ ।’

शान्ति प्रक्रियामा आएपछिको सबैभन्दा ठूलो शक्ति माओवादी आज छिन्नभिन्न तथा विभिन्न समूहमा बाँडिन पुगेको र अनवरत सत्तामा भएर पनि जनताबाट भने विश्वास गुम्दै गएकोप्रति गम्भीर समीक्षा गर्न नेताहरुले प्रचण्डलाई सुझाव दिएका छन् ।

२ दिनसम्म चलेको बैठकमा करिब ६५ जना नेताले बोलेका थिए । जनार्दनको बचाउ गर्दै नेतृत्वमाथि प्रश्न र फरक मत नै राख्न हुँदैन भन्ने मानसिकता त्याग्न पनि नेताहरुले आग्रह गरेका थिए ।

माओवादी लगातार सत्तामा भएर पनि जनतातिर नफर्किएको, सीमित नेताहरुकोमात्र वर्ग उत्थान भएको र पार्टीभित्र गुटउपगुट मौलाउँदा कमजोर हुन पुगेको अधिकांश नेताको भनाइ थियो ।

जसरी पनि सत्तामा जानैपर्ने तर जनतामा जानुनपर्ने प्रवृत्तिले माओवादी आन्दोलन विचलित बन्न पुगेको र अब गम्भीर समीक्षा गरेर अगाडि बढ्न उनीहरुले प्रचण्डलाई आग्रह गरे ।

माओवादी केन्द्रीय सदस्य दीपक कोइरालाले बैठकमा नेताहरुको आचारण, प्रवृति, सरकारका काम र सरकार बनाउने तथा गिराउनेतिर नलागेर जनताकाबीच जानुपर्ने अधिकांशले सुझाव दिएको बताए । तत्काल नेतृत्वको विकल्पमा जाने कुरा नभई पुन्तान्तरण हुनुपर्छ भन्ने विषय उठेको अर्का केन्द्रीय सदस्य सुमन देवकोटाको भनाइ थियो ।

पार्टीभित्रका गुट उपगुट, नेताहरुमा भएको गलत आचारणलाई निस्तेज पार्दै अब सत्तातिर होइन, जनतामा जानुपर्छ भन्ने अधिकांशले आवाज उठाएको केन्द्रीय सदस्य रामजी बरालले बताए ।

माओवादी मौका पाए फेरि पनि सत्तामा नजाने कुरामा अध्यक्ष प्रचण्डसामु केही केन्द्रीय सदस्यले संशय व्यक्त गरेका थिए ।

आफ्ना मान्छेलाई च्याप्ने, पार्टी नेता कार्यकर्ताका कुरा नसुन्ने, संगठन व्यवस्थित गराउनतिर नलाग्ने तर सत्ताका लागिमात्र केन्द्रित हुने नेतृत्वको बिगतले माओवादी यो अवस्थामा आइपुगेको भन्दै केही केन्द्रीय सदस्यले प्रश्न नै उठाएका थिए ।

महाधिवेशनमा चुनाव लड्ने, पारित गरेको दस्तावेज कार्यान्वयन गर्नेतिर ध्यान नदिने तर तल्लो तहसम्म नेतृत्व र नेताहरुले हस्तक्षेप गर्ने, गुटको विकास गर्ने, आफूमात्रै वर्ग उत्थानमा लाग्ने गर्दा माओवादीले जनविश्वास गुमाउँदै गएको भन्दै उनीहरुले प्रचण्डको ध्यानाकर्षण गराए ।

केन्द्रीय सदस्य तथा पदाधिकारीले आफ्नो भनाइ राखेपछि अध्यक्ष प्रचण्डले त्यसको सम्वोधन गरे । प्रचण्डले पार्टीभित्र फरक विचार वा मत नभएको तर माओवादीलाई बलियो बनाउने चिन्ता भने रहेको बताएका थिए ।

‘नेतृत्वसँग कसैको फरक विचार छैन, नेतृत्व र पार्टीप्रति आआफ्नो भनाइ र धारणामात्र हो । पार्टी फुट्छ भन्ने कसैले कल्पनासम्म पनि गर्नुपर्दैन’, प्रचण्डको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामीबाट हिजो कमजोरी भएकै हो, मबाट पनि भयो, म त्यो कमजोरी सच्याएर जानुपर्छ भनेर आएको छु, सच्चिनुपर्ने ठाउँमा तपाईंहरु पनि सच्चिनुपर्छ ।’

तस्वीर सौजन्य : राधिका कँडेल

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?