+
+

बैंकहरूमा सेयर कर्जाको माग बढ्यो, ठूला ऋणी आक्रामक

हाल बैंक तथा वित्तीय संस्थाको कोर क्यापिटलअनुसार सेयर धितो कर्जामा कुल ४ खर्ब ५७ अर्ब रुपैयाँसम्म रकम प्रवाह हुन सक्छ । तर असार मसान्तसम्म सेयर धितो कर्जामा यसको जम्मा १९ प्रतिशत मात्रै प्रवाह भएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार असार मसान्तसम्म ९० अर्ब ९ करोड रुपैयाँ सेयर धितो कर्जा गएको छ ।

कमल नेपाल कमल नेपाल
२०८१ भदौ ११ गते ९:०६

११ भदौ, काठमाडौं । अन्य क्षेत्रमा कर्जाको माग शिथिल रहेका बेला सेयर खरिदका लागि भने माग बढेको छ । यतिबेला सेयरधितो कर्जा माग गर्दै आवेदन दिनेको संख्या बढ्दै गएको बैंकर्स बताउँछन् ।

नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका सीईओ सुनिल केसीका अनुसार पछिल्लो समय बैंकमा सेयर कर्जाबारे बुझ्न आउने र माग गर्नेको संख्या बढेको छ । ‘बजार बढ्ने क्रममा रहँदा सेयर कर्जाको माग बढ्ने गरेको देखिन्छ’ केसीले भने, ‘अहिले पनि सेयर कर्जाको माग बढेको छ ।’

साउनमा वाणिज्य बैंकहरुबाट करिब २ अर्ब सेयरधितो कर्जा गएको छ । ‘पोहोरको साउनमा वाणिज्य बैंकहरुबाट जाने सेयर धितो कर्जा २० अर्ब घटेको थियो तर अहिले २ अर्ब प्लस छ, त्यसकारण यो कर्जामा केही सकारात्मक संकेत देखिएको छ’ उनले भने ।

यद्यपि एक महिनामा जम्मा २ अर्ब कर्जा बढ्नुलाई धेरै बढेको मान्न सकिँदैन। तर साउन कर्जा प्रवाह सुस्त हुने महिना नै मानिन्छ । जसले गर्दा सेयर कर्जा प्रवाह पनि पर्याप्त भइनसकेको केसीले बताए ।

तर धेरैआवेदन प्रक्रियामै रहेको बताए । लगानीयोग्य रकम पर्याप्त रहेको र पुँजीकोषमा सहजता मिलेकाले बैंकहरुलाई यतिबेला सेयर धितो कर्जा दिन असहज छैन । एकल अंककै ब्याजदरमा बैंकहरुले सेयर धितो कर्जा दिन थालेका छन् ।

नविल बैंकका डेपुटी सीईओ मनोज ज्ञवाली बजार बढ्दा सेयर कर्जा पनि बढेको बताउँछन् । बजार बढ्दा दुई कारणले सेयर धितो कर्जा बढ्ने गरेको ज्ञवाली बताउँछन् । पहिलो कारण हो– सेयरको मूल्य नै बढ्नु । ‘सेयरको मूल्य बढ्दा कर्जा दिइने रकम पनि बढ्न जान्छ, त्यसले प्रवाह हुने कर्जा रकम बढाउँछ’ ज्ञवालीले भने ‘दोस्रो कारण – कर्जा माग गर्नेको संख्या पनि बढ्न जान्छ ।’

धितो राखिने सेयरको पछिल्लो १८० दिनको औसत मूल्य वा पछिल्लो बजार मूल्यमध्ये जुन थोरै हुन्छ, सोही रकमको ७० प्रतिशतसम्म बैंकहरुले कर्जा दिन सक्ने व्यवस्था छ । सेयरको मूल्य बढ्दै जाँदा यो ७० प्रतिशतको रकम पनि बढ्न जान्छ, जसले गर्दा सेयर धितो कर्जा बढ्ने गरेको बैंकर बताउँछन् ।

सेयर कर्जाको माग गर्नेहरू पनि बढेका छन् ।  पहिले बजार घट्दा कर्जा नलिइकन बसेका लगानीकर्ता पनि यतिबेला कर्जा लिन खोज्ने गर्छन् । जसले गर्दा सेयर कर्जाको माग बढेको ज्ञवाली बताउँछन् ।

‘नबिल बैंकको हकमा सेयर कर्जा सीमानजिक पुगिसक्यौं, त्यसकारण धेरै बढाउन सक्ने क्षमतामा छैनौं’ उनले भने । सेयर धितो कर्जामा एउटा बैंकले कोर क्यापिटलको ४० प्रतिशतसम्म मात्रै प्रदान गर्न पाउने व्यवस्था राष्ट्र बैंकको एकीकृत निर्देशन २०८० मा छ । कोर क्यापिटलको ४० प्रतिशतभन्दा बढी प्रवाह भएमा बढी भएको रकम बराबर पूँजी कोषबाट घटाउनुपर्ने हुन्छ । यहीं व्यवस्थाका कारण बैंकहरुले मनलाग्दी रुपमा सेयरधितो कर्जा दिन सक्दैनन् ।

हाल बैंक तथा वित्तीय संस्थाको कोर क्यापिटलअनुसार सेयर धितो कर्जामा कुल ४ खर्ब ५७ अर्ब रुपैयाँसम्म रकम प्रवाह हुन सक्छ । तर असार मसान्तसम्म सेयर धितो कर्जामा यसको जम्मा १९ प्रतिशत मात्रै प्रवाह भएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार असार मसान्तसम्म ९० अर्ब ९ करोड रुपैयाँ सेयर धितो कर्जा गएको छ । जसमा वाणिज्य बैंकहरुबाट मात्रै ७० अर्ब ३४ करोड रुपैयाँ प्रवाह भएको छ ।

हाल राष्ट्र बैंकले सेयर धितोकर्जामा संस्थाहरुलाई कुनै सीमा लगाएको छैन भने व्यक्तिहरुले प्रतिव्यक्ति १५ करोड रुपैयाँसम्म मात्रै सेयर धितोमा कर्जा पाउँछन् । व्यक्तिगत रुपमा पनि सेयर धितो कर्जा माग बढेको ज्ञवाली बताउँछन् । ‘पहिले ५० लाख रुपैयाँ सेयर कर्जा लिएको व्यक्तिले अब उसको सेयर मूल्य बढेपछि त क्षमता बढ्ने भएकाले थप कर्जा लिन आउने हुन्छ’ उनले भने ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटा बैंकहरूबाट कर्जा लिएर पनि ठूला लगानीकर्ताले कारोबार गरिरहेको बताउँछन् । ‘अहिले ब्याजदर पनि घटेको अवस्था छ, ऋण लिएर लगानी गर्नेहरुले पैसा ल्याएकै कारण त कारोबार रकम पनि उच्च भएको हो’ उनले भने । यतिबेला बीमा कम्पनी, बैंक लगायत ठूला संस्थागत लगानीकर्ता पनि बजारमा लागेको उनको भनाइ छ ।

बैंकहरुलाई सेयरमा लगानीका लागि राष्ट्र बैंकले गत जेठमा केही व्यवस्थालाई सहजीकरण गरेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूले १ वर्ष अवधि व्यतित भइसकेको लगानीबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था गरिएको थियो । जुन व्यवस्थाले लगानीको १ वर्ष पूरा भइसकेपछि बैंकहरूलाई पर्याप्त रकमको सेयर कारोबार गर्न बाटो खुल्यो । त्यसअघि १ वर्ष व्यतित भइसकेको लगानीबाट प्राथमिक पूँजीको १ प्रतिशत मात्रै बेच्न पाउने व्यवस्था थियो ।

सेयर कर्जा लिनेमा ठूला लगानीकर्ता आक्रामक

एक वर्षमा निजी क्षेत्रमा जाने कर्जा जम्मा ५.८ प्रतिशतले बढ्दा सेयर धितो कर्जा भने १८.१ प्रतिशत बढेको छ । अर्थात गत आर्थिक वर्ष वृद्धि भएको सेयर धितो कर्जा पनि तुलनात्मक रुपमा उच्च छ । गत आर्थिक वर्ष २०८०/८१ असार मसान्तसम्म सेयर धितोमा कुल ९० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० सम्म ७६ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

सेयर धितो कर्जामा पनि ठूला ऋणी आक्रामक देखिन्छन् । सबैभन्दा ठूलो १ करोडमाथिको कर्जा प्रवाह २५.१ प्रतिशत बढेको छ । कुल सेयर धितो कर्जामा १ करोडमाथिको कर्जा मात्रै ५५ अर्ब ९३ करोड रुपैयाँ अर्थात् ६२ प्रतिशत छ ।

त्यस्तै ५० लाखमाथिको कर्जा प्रवाह एक वर्षको अवधिमा ५.५ प्रतिशतले बढेको छ । असार मसान्तसम्म यस्तो कर्जा १२ अर्ब ४२ करोड रुपैयाँ छ ।

२५ देखि ५० लाखसम्मको कर्जा प्रवाह १२.८ प्रतिशत बढेको छ । असार मसान्तसम्म यस्तो कर्जा १४ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । २५ लाखमुनिको कर्जा प्रवाह भने जम्मा ३.९ प्रतिशत मात्रै बढेको छ । असार मसान्तसम्म यस्तो कर्जा ७ अर्ब ३१ करोड रुपैयाँ छ ।

जुनसुकै कम्पनीको सेयर धितोमा पाइँदैन ऋण

सेयर धितोमा जाने कर्जालाई सुरक्षाका दृष्टिकोणले मजबुत राखिएको छ । जुनसुकै कम्पनीका सेयर धितोमा यस्तो कर्जा दिइँदैन, पाइँदैन । नेगेटिभ नेटवर्थ (१ सयभन्दा कम) भएका, नेपाल स्टक एस्क्चेन्जमा सूचीकरण नभएका, आर्थिक वर्ष पूरा भएको १ वर्षसम्म लेखापरीक्षण नगरेका, पछिल्लो ३ वर्षसम्म नोक्सानीमा रहेका, व्यवसायिक संचालनमा आएको १ वर्ष पूरा नभएका, ३ वर्षदेखि साधारणसभा नगरेका नगरेका कम्पनीका सेयर धितोमा बैंकले मार्जिन प्रकृतिको यस्तो कर्जा दिन नपाउने व्यवस्था छ । यहीं आधारमा मार्जिन कर्जा पाउने कम्पनीको सूची नेप्सेले बर्सेनी सार्वजनिक गर्दै आएको छ ।

अर्कोतर्फ, कर्जाको अवधि एक वर्षभन्दा बढी हुँदैन । सेयरको धितोमा मार्जिन प्रकृतिको कर्जा उपभोग गरिरहेका ऋणीले आफूले लिएको कर्जाको सम्पूर्ण बक्यौता (ब्याज) भुक्तानी गरी कर्जा नियमित रहेको अवस्थामा मात्रै अवधि सकिएको १ वर्षपछि कर्जा नवीकरण गर्न सकिने व्यवस्था छ ।

बैंक तथा वित्तीय संस्थाको १ प्रतिशत भन्दा बढी संस्थापक सेयर धारण गरेका संस्थापक समूहका सेयरधनीहरूले आफूले धारण गरेको संस्थापक सेयरमध्ये ५० प्रतिशत भन्दा बढी सेयर धितो राखी कर्जा लिन पाउँदैनन् । त्यति मात्रै नभई धितो राखिएको सेयरको मूल्य तल झरेमा बैंकहरूले धितो थप्न वा कर्जा चुक्ताका लागि मार्जिन कल गर्न सक्छन् ।

लेखकको बारेमा
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?