+

पेरिस पारालिम्पिक बुधबारदेखि, नेपालबाट ३ खेलाडीले प्रतिस्पर्धा गर्दै

२०८१ भदौ  ११ गते १२:११ २०८१ भदौ ११ गते १२:११
पेरिस पारालिम्पिक बुधबारदेखि, नेपालबाट ३ खेलाडीले प्रतिस्पर्धा गर्दै

११ भदौ, काठमाडौं । पेरिस पारालिम्पिक बुधबारदेखि फ्रान्सको पेरिसमा सुरु हुँदैछ । पेरिस ओलम्पिक सकिएपछि अहिले फ्रान्समा पेरिस पारालिम्पिकको रौनक छ ।

जसमा नेपालबाट दुई खेलका तीन खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । ओलम्पिकमा सहभागितामै सीमित भएको नेपालले पारालिम्पिकमा भने पदक जित्ने लक्ष्य राखेको छ ।

नेपालबाट पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोका पलेशा गोबर्धन र भरतसिंह महता तथा पारा पौडीका भीमबहादुर कुमालले प्रतिस्पर्धा गर्दैछन् ।

पलेशाले तेक्वान्दोको के-४४ अन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् भने भरतले के-४४ अन्तर्गत पुरुष ५८ केजीमुनि तौलमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै भीमले पौडीको पुरुष ५० मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।

पलेशाले लगातार दोस्रो पटक पारालिम्पिक खेल्दैछिन् । भरत र भीम भने पहिलो पटक ओलम्पिक खेल्दैछन् ।

पलेशाले पहिलोपटक टोकियो पारालिम्पिक खेल्दा इतिहास रचेकी थिइन् । त्यसबेला पहिलो खेलमा पराजित भए पनि रिपिजेजको मौका पाएका पलेशाले लगातार दुई खेल जित्दै कांस्य पदक नजिक पुगेकी थिइन् । तर, उनी पदकको खेलमा भने चिनियाँ खेलाडी ली युजीसँग पराजित पराजित हुँदा पदक जित्नबाट बन्चित भएकी थिइन् ।

उनले ओलम्पिकमा दुई खेल जित्ने पहिलो नेपाली खेलाडीसमेत हुन् । पलेशाले गत असोजमा चीनको हान्झाउमा भएको चौथो पारा एसियाली खेलकुदमा कांस्य पदक जितेकी थिइन । उनी पारा एसियाली खेलकुदमा पदक जित्ने पहिलो नेपाली खेलाडी समेत हुन् ।

यसअघि सन् २०२१ मा जापानको टोकियमा भएको पारालिम्पिकमा पहिलोपटक सहभागिता जनाएकी पलेशा यसपटक छनोट चरण पार गरेर पारालिम्पिकमा पुगेकी हुन् । पलेशाले चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोटमा स्वर्ण जित्दै पारालिम्पिकमा छनोट भएकी हुन् ।

पलेशाले छनोटको फाइनलमा इरानी खेलाडी लेला मिर्जाइलाई ५-४ ले पराजित गरेकी थिइन् ।

तेक्वान्दोकै भरत र पारा पौडीका भीम भने वाइल्ड कार्डमार्फत पारालिम्पिकमा खेल्ने अवसर पाएका हुन् ।

यसपटक नेपाली खेलाडीबाट पारलिम्पिकमा पदकको आशा गरिएको छ । पारा तेक्वान्दो टिमका प्रशिक्षक कविराज नेगी लामाले यस पटक पलेशाबाट पदकको ठूलो आशा रहेको बताउँदै आएका छन् । ‘टोकियोमा पनि हामी पदक नजिक पुगेर बन्चित भयौं । यसपटक पलेशाबाट पदकको आशा छ । हामीले बेलायतमा राम्रो तयारी गर्ने अवसर पायौं ।’

पलेशा गोवर्धन पेरिस पारालिम्पिक २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय