
काठमाडौं । बलिउड सेलिब्रेटी र नेपाली मूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङबीचको दोस्ती निकै जमेको देख्न सकिन्छ । चाहे त्यो मेट गाला होस् या हालै सम्पन्न अम्बानीको विवाह समारोह, उनीहरु अघिपछि पनि रमाएको देखिन्छ ।
करण जोहर, प्रियंका चोपडा, दीपिका पादुकोण, आलिया भट्ट सहित बलिउड स्टार किड्ससँग प्रबलको सम्बन्ध गाढा देखिन्छ । प्रबलको डिजाइनमा प्रशस्तै बलिउड स्टार सजिएका छन् ।
यस्तोमा अहिले एक भिडियो भाइरल भएको छ, जहाँ प्रबलले बलिउड अभिनेत्री आलियालाई ‘ग्लोबल गाउन’ डिजाइन गरेर सरप्राइज दिएका छन् । भिडियोको सुरुमा प्रबलले आलियाको आँखा छोपेर भित्र लैजान्छन् र त्यहाँ ह्यांगरमा राखिएको गाउन देखाएर सरप्राइज दिन्छन् ।
प्रबलको उक्त सरप्राइज पहिरन देखेर आलिया पनि स्वयम सरप्राइज भएको देख्न सकिन्छ । आलियाले आफू ‘इमोसनल’ भएको बताएकी छन् । त्यसपछि प्रबलले उक्त पहिरनको डिजाइनबारे आलियालाई बताएका छन् ।
हजारौं मोतीका दाना जडित उक्त गाउनको फेब्रिक फ्रान्सबाट लिइएको, गहना भारतबाट लिइएको र न्युयोर्कमा बनाएको प्रबलले बताएका छन् । ‘यसकारण यसले विश्व भ्रमण गरिसकेको छ । यो ग्लोबल गाउन हो’ प्रबलले भनेका छन् । त्यसपछि आलियाले पनि ‘ग्लोबल गाउन’ भन्दै खुसी व्यक्त गरेकी छन् ।
यो भिडियो केही समयअघिको हो जतिबेला आलियाले प्रबलको डिजाइनमा मेटगाला डेब्यु गरेकी थिइन् । उक्त भिडियो हेर्दा प्रबलले आलियालाई विश्व फेसनको महाकुम्भमा सजिन ठूलै सरप्राइज दिएको देख्न सकिन्छ ।
प्रतिक्रिया 4