+
+

१० वर्षपछि अभिनयमा फर्किंदै अरुणिमा लम्साल

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते १३:२९

काठमाडौं । अमेरिकामा रहेका नेपाली कलाकारलाई समेटेर अभिनेता समेत रहेका विमलेश अधिकारीले वेब सिरिज ‘घर : बट इन अमेरिका’ बनाउने भएका छन् ।

मंगलबार पोस्टर सार्वजनिक गर्दै उनले सिरिजको घोषणा गरे । उनले यो सिरिज नेपाली कथावाचनमा कोसेढुंगा हुने उल्लेख गरेका छन् ।

उनी लेख्छन्, ‘हाम्रो वेब सिरिज ‘घर : बट इन अमेरिका’को फस्टलुक प्रस्तुत गर्दैछु । यो विदेशबाट नेपाली कथा वाचनमा एउटा महत्वपूर्ण कोसेढुंगा हुनेछ । यो सपना साकार गर्न सहयोग पुर्‍याउने सबैलाई हार्दिक धन्यवाद । आगामी वेब सिरिजले विश्वभरका मनहरूलाई जोड्नेछ ।’

यो सिरिजबाट कुनै समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा फर्किएकी छन् । उनले गत साता सुनसरीका स्थानीय कांग्रेस नेतासँग दोस्रो विवाह गरेकी थिइन् । उनी लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी छन् ।

यो सिरिजमा अरुणिमा सहित विमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल, समारोह मैनाली र रोजिना थापाको समेत अभिनय हुनेछ । सिरिजको छायांकन अहिले अमेरिकामा भइरहेको छ ।

सिचुएसनल कमेडी–ड्रामा विधामा निर्माण भइरहेको यो सिरिजलाई विवेक चम्लागाईंको लेखेका छन् । गोप्य रूपमा लिभ-इन रिलेसनसिपमा रहेकी छोरी र नेपालबाट पहिलो अमेरिकी भ्रमणमा पुगेका आमाबुवाको वरपरका घटनालाई यसमा प्रस्तुत गरिने जनाइएको छ ।

सिरिजको पहिलो सिजनको छायांकन सकिएको छ । केही दिनमा टिजर सार्वजनिक गर्ने तयारी छ । यो सिरिज कुन प्लाटफर्ममा स्ट्रिमिङ हुनेछ भन्ने जनाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?