+
+

स्वास्थ्य मन्त्रालयको सचिव र न्यूरोको डाक्टर हुँ भनेर ४० लाख ठगी

जिल्ला अदालतमा मुद्दा दायर, आरोपी फरार

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते १३:४५
काठमाडौं जिल्ला अदालत

११ भदौ, काठमाडौं । स्वास्थ्य मन्त्रालयको सचिव र डाक्टर हुँ भन्दै ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मंगलबार रौतहटको राजदेवी नगरपालिका–७ घर भएका ५९ वर्षका सत्येन्द्रप्रसाद यादवविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दर्ता गरेको हो ।

तर एक वर्षसम्म यादवलाई प्रहरीले पक्राउ गर्न नसकेपछि फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो ।

यादवले आफू स्वास्थ्य मन्त्रालयको सचिव र न्यूरोको डाक्टर हुँ भन्दै बिरामीलाई ठगी गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार काठमाडौंकी मायाश्वरीका श्रीमान उद्धवराज पन्त न्यूरोको बिरामी थिए । एक वर्षअघि श्रीमानलाई पशुपतिनाथ मन्दिर लैजाँदा मायाश्वरीको भेट सत्येन्द्रसँग भएको थियो । त्यतिबेला उनले आफ्नो नाम सत्येन्द्र अधिकारी बताएका थिए भने स्वास्थ्य मन्त्रालयको सचिवका साथै न्यूरोसम्बन्धी डाक्टर समेत भएको परिचय दिएका थिए ।

डाक्टरले लगाउने एप्रोन र स्वास्थ्य जाँचका सामग्रीसमेत लिएर यादव पन्तको घरमा समेत पुगेका थिए । त्यसपछि उनले उद्धवराजको रोग ठीक पार्न अमेरिका लैजानुपर्ने सल्लाह दिएका थिए ।

अमेरिका जान बिरामीका साथै कुरुवाको समेत भिसा आफूले मिलाइदिने प्रलोभन मायाश्वरीलाई देखाएका थिए । भिसाका लागि भन्दै सत्येन्द्रले मायाश्वरीबाट पटक पटक गरेर ४० लाख रुपैयाँ लिए ।

तर त्यसपछि भिसा लगाउनुको साटो उनी सम्पर्कविहीन भएका थिए । फोनसमेत गरेर सम्पर्कविहीन भएपछि स्वास्थ्य मन्त्रालय गएर बुझ्दा सत्येन्द्रले नक्कली परिचय दिएर ठगी गरेको मायाश्वरीले थाहा पाएकी थिइन् ।

पछि सत्येन्द्रले पैसा फिर्ता गर्ने भन्दै ४० लाखको चेक दिएको तर ७ भदौ २०८० मा चेक साट्न जाँदा बैंक खाता पहिल्यै बन्द गरिसकेको जानकारी पाएपछि मायाश्वरीले प्रहरीमा उजुरी दिएकी थिइन् ।

उनीविरुद्ध मुलुकी फौजदारी अपराधसंहिताको दफा २४९ अन्तर्गत ठगी गर्न नहुने कसुरमा मुद्दा चलाइएको छ । ठगीको कसुरमा ७ वर्षसम्म कैद, ७० हजार रुपैयाँ जरिवाना र ठगी बराबरको बिगो भराउनुका साथै क्षतिपूर्ति समेत दिनुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?