+

महिनावारीमा कसैलाई किन खपिनसक्नु पीडा हुन्छ ?

२०८१ भदौ  ११ गते १४:२१ २०८१ भदौ ११ गते १४:२१
महिनावारीमा कसैलाई किन खपिनसक्नु पीडा हुन्छ ?

महिनावारीमा किशोरी तथा महिलालाई तल्लो पेट दुख्ने, कम्मर दुख्ने, झर्को लाग्ने, शरीर कमजोर भएको अनुभव हुने र खुट्टा समेत दुख्न सक्छ । कतिपयलाई साताको चार दिन नै बेड रेस्ट गर्नुपर्ने हुन्छ ।

यो समस्यालाई चिकित्सकीय भाषामा ‘डिस्मेनोरिया’ र बोलीचालीको भाषामा महिनावारी पीडा भन्ने गरिन्छ ।

डिस्मेनोरिया प्राइमरी र सेकेण्डरी गरी दुई प्रकारका हुन्छन् ।

प्राथमिक डिसमेनोरिया

महिनावारी हुँदा प्रत्येक महिना प्राइमरी डिस्मेनोरियाको लक्षण  देखिन सक्छ, जुन सामान्य हो । महिनावारी पीडा महिनावारी भएको दुई दिनसम्म रहन सक्छ ।

यो समयमा मध्यमदेखि गम्भीर खालको तल्लो पेट दुख्ने, कम्मर र तिघ्रा दुखेको अनुभव हुनसक्छ । यो समस्याबाट ५० प्रतिशत महिला प्रभावित छन् । जसमा १० प्रतिशतमा प्राथमिक डिस्मेनोरिया गम्भीर खालको हुनसक्छ । जुन उमेर बढेसँगै पीडा कम हुँदै जान्छन् ।

किन देखिन्छन् यस्ता लक्षण ?

यो लक्षण सबैमा देखिन्छ भन्ने हुँदैन । कसैमा कुनै दुखाइको अनुभव नहुन पनि सक्छ भने कसैमा अत्यधिक पीडादेखि हल्का दुखाइ हुनसक्छ ।

यो समस्या हुनुको पछाडि प्रोस्टाग्लाडिन भन्ने हर्मोनको भुमिका हुन्छ । यो हर्मोन महिनावारी भएसँगै उच्च रुपमा बढ्छ । यसको उच्च स्तरले पाठेघरलाई खुम्चाउँछ । जसकारण त्यस वरपर रहेका रक्तनलीमा दबाब पर्छ । यो प्रक्रियामा रगत प्रवाहमा कमी आई पाठेघर र त्यसवरपर रहेको क्षेत्रमा दुखाइ बढ्न सक्छ ।

यही कारणले गर्दा कहिलेकाहीं अत्यधिक रक्तस्राव पनि हुने गर्छ ।

यो दुखाइबाट राहत पाउन सकिन्छ ?

यो समस्याको ठेट उपचार छैन । यस्तो समयमा दुखाइबाट राहत पाउन हट वाटर ब्यागले सेक्ने, झोलिलो खानेकुरा खाने, दुखेको ठाउँमा मसाज गर्ने, आराम गर्ने, क्याफिन भएका खानेकुरा नखाने गर्दा यो समस्या कम हुनसक्छ ।

सेकेन्डरी डिस्मेनोरिया

विगतको महिनावारी भन्दा असामान्य रुपमा पेट दुखाइ हुन्छ । जुन चार दिनसम्मै रहन्छ । दुखाइसँगै अत्यधिक रक्तस्राव हुने, कम्मर तथा ढाड दुख्ने पनि हुन्छ । यस्तो असामान्य रुपमा र गम्भीर पीडा सेकेन्डरी खालको डिस्मेनोरियामा हुन्छ ।

यस्तो अवस्थालाई सामान्य मान्न सकिंदैन । यो भनेको पाठेघरमा कुनै गम्भीर समस्या हुनसक्ने संकेत पनि हो । जसमध्ये ईन्डोमेट्रियोसिस पनि एक हो । पाठेघरको भित्री तहलाई ईन्डोमेट्रियम भनिन्छ । तर यो अनावश्यक रुपमा पाठेघरको बाहिर बढ्न थाल्यो भने यसलाई ईन्डोमेट्रियोसिस भनिन्छ । यो समस्याले गर्दा महिनावारी हुनुपूर्व र महिनावारीको क्रममा अत्यधिक रक्तस्राव, कम्मर तथा ढाड र पेट दुखाइ हुनसक्छ ।

त्यस्तै, अर्को कारण भनेको पाठेघरमा मासु पलाएको भएको अवस्था (फाइब्रोइड), एडेनोमाइसिस (पाठेघरमा ईन्डोमेट्रियल तन्तु गएर बसेको अवस्था) र पेल्भिक इन्फ्लामेटरी रोग (माथिल्लो स्त्री जननेन्द्रियको संक्रमण) भएमा पनि यो समस्या हुनसक्छ ।

के गर्ने ?

यदि अचानक महिनावारी पीडा बढेमा अस्पताल गई पाठेघरको अल्ट्रासाउन्ड गर्नुपर्छ । जसबाट के समस्या छ भनेर पत्ता लगाउन सकिन्छ ।

यदि ईन्डोमेट्रियोसिस र एडेनोमाइसिस छ भने यसको व्यवस्थापनका लागि केही थेरापी र औषधि आवश्यक पर्छ । र, दुखाइ कम गर्न शल्यक्रिया पनि गर्नुपर्ने अवस्था पनि हुनसक्छ । पेल्भिक इन्फालमेटरी रोग (माथिल्लो स्त्री जननेन्द्रियको संक्रमण) हो भने पाठेघरमा कुनै कारणवश संक्रमण भएमा हुनसक्छ । यसको पनि संक्रमणले कस्तो असर गरेको छ । सोही अनुसार औषधि उपचार हुन्छ ।

त्यस्तै, नियमित रूपमा धेरै गम्भीर दुखाइका कारण दैनिक गतिविधिमा समस्या भइरहेको छ जस्तै  विद्यालय, कलेज वा कार्यालय जान नसक्ने अवस्था भएमा स्त्रीरोग विशेषज्ञसँग परामर्श लिन सकिन्छ । चिकित्सकले चिकित्सा इतिहासको समीक्षा गरी शारीरिक परीक्षण गरी पहिचान र उपचार हुन मद्दत गर्न सक्छन् ।

महिनावारी हुँदा ध्यान दिनुपर्ने कुरा

चाहे प्राइमरी होस् वा सेकेन्डरी वा कुनै समस्या, यो समयमा स्वास्थ्यको निकै हेरचाह आवश्यक हुन्छ ।

– दुखाइ बढेमा तल्लो पीठ वा पेटमा हट ब्याग वा तातो पानीको बोतलले सेक्न सकिन्छ ।

– ठिक्क खाने तर पौष्टिक तत्व भएको खानेकुरा तथा मनतातो पानी प्रशस्त खानुपर्छ ।

– ढाड र पेटको तल्लो भागमा मालिस गर्नुपर्छ ।

– मनतातो पानीले नुहाउनु फाइदाजनक हुन्छ ।

– बढी आराम गर्ने र पर्याप्त निदाउने गर्नुपर्छ ।

– नुन र क्याफिन भएको खानेकुरा खानु हुँदैन ।

– धुम्रपान र रक्सी सेवन गर्नु हुँदैन ।

– नियमित व्यायाम गर्नुपर्छ ।

डा. सविता थापा महिनावारी
डा. सविता थापा
लेखक
डा. सविता थापा
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

डा. थापा भरतपुरस्थित वात्सल्य नेचुरल आइभिएफ सेन्टरमा कार्यरत छिन् । उनले प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी छिन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २१७९० हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?