+

साफ यू-२० च्याम्पियनसिप फाइनलमा भिड्न नेपाल र बंगलादेश तयार

२०८१ भदौ  ११ गते १६:५२ २०८१ भदौ ११ गते १६:५२
साफ यू-२० च्याम्पियनसिप फाइनलमा भिड्न नेपाल र बंगलादेश तयार

११ भदौ, काठमाडौं । साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपालले बुधबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले सेमिफाइनलमा भुटान र बंगलादेशले साविक विजेता भारतलाई पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।

दुवैले पेनाल्टीसुटआउटमा खेल जितेका थिए । फाइनलअघि मंगलबार भएको प्रि म्याच कन्फ्रेन्समा नेपाल र बंगलादेश दुवै टोलीका प्रशिक्षक र कप्तानले फाइनलका लागि तयार भएको बताएका छन् ।

नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले फाईनल पुगेका दुवै टिम राम्रो भएकोले खेल प्रतिस्पर्धात्मक हुने बताए । ‘फाइनलका लागि हामी तयार छौं । बंगलादेश पनि राम्रो हो । जसले राम्रो ख्ल्छ उसैले जित्छ’, श्रेष्ठले भने, ‘बंगलादेश कठिन टिम हो । फाइनल प्रतिस्पर्धात्मक हुनेछ ।हामी फाइनलमा राम्रो प्रदर्शन गर्नेछौं ।’

बंगलादेशका प्रशिक्षक मरुफुल हकले फाईनलसम्म यात्रामा धेरै उताचढाव भएको भन्दै फाइनलका लागि तयार रहेको बताए । ‘यो यात्रामा धेरै उतारचढाव भयो, ‘ हकले भने, ‘नेपाल घरेलु म‌ैदानमा बलियो प्रतिद्वन्द्वी हो । किनकी धेरै खेलाडीले यहीँ खेलेका छन् । हामी फाइनलका लागि तयार छौं । ‘

एकै प्रतियोगितामा दोस्रो भेट

नेपाल र बंगलादेश जारी प्रतियोगितामा दोस्रो पटक आमनेसामने हुनेछन् । यसअघि समूह चरणको पहिलो भेटमा नेपालले बंगलादेशलाई २-१ ले पराजित गरेको थियो ।

नेपालले पहिलो हाफमा दुई मिनेट अन्तरमा दुई गोल गर्दै बंगलादेश माथि दबाब बनाएर जित निकालेको थियो । जसमा समीर तामाङले नेपालका लागि पहिलो गोल गरेका थिए भने अर्को गोल बंगलादेशले आत्मघाती उपहार दिएको थियो । पछि बंगलादेशले पेनाल्टीमा एक गोल फर्काएको थियो ।

समूह ए मा समूह विजेता बन्ने क्रममा नेपालले श्रीलंका र बंगलादेशलाई पराजित गरेको थियो । पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको थियो । बंगलादेशले भने श्रीलंकालाई २-० ले पराजित गरेको थियो ।

पहिलो पटक फाइनलमा भेट

नेपाल र बंगलादेश साफ यू२०/१९/१८ च्याम्पियनसिपमा फाइनलमा प्रतिस्पर्धा गर्न लागेको यो पहिलो पटक हो । नेपालले सुरुवाती दुई संस्करणको उपाधि जितेको थियो ।

सन् २०१५ मा घरेलु मैदानमै भएको पहिलो संस्करणमा नेपालले फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा हराएर उपाधि जितेको थियो । सन् २०१७ मा भुटानमा भएको दोस्रो संस्करण राउण्ड रोविनका आधारमा खेलाइएको थियो ।

नेपाल ९ वर्षपछि पहिलो पटक फाइनल खेल्दैछ । पहिलो संस्करणपछि नेपाल पहिलो पटक फाइनल पुगेको हो ।

बंगलादेश भने तेस्रो पटक फाइनल खेल्दैछ । यसअघि सन् २०१९ र २०२२ मा बंगलादेश फाइनल पुगेको थियो । तर दुवै पटक भारतसँग फाइनलम पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । सन् २०१७ मा नेपाल च्याम्पियन बन्दा पनि बंगलादेश उपविजेता बनेको थियो ।

तर त्यसबेला राउण्ड रोविनका आधारमा प्रतियोगिता भएको थियो लिग चरणको खेलपछि शीर्ष स्थानमा रहने टिम सिधै च्यामपियन बन्ने नियम थियो । सन् २०२२ मा पनि राउण्ड रोविन लिगकै आधारमा खेलाइएको थियो । लिग चरणपछि शीर्ष दुईमा रहने टोलीले फाइनल खेलेका थिए । लिगमा बंगलादेश शीर्ष स्थानमा रहे पनि फाइनल लिगमा दोस्रो भएको भारतले बंगलादेशलाई हराउँदै उपाधिमा ह्याट्रिक गरेको थियो ।

नेपाल भर्सेस बंगलादेश: विगतमा नेपाल हावी

उमेर समूहमा नेपाल र बंगलादेशबीच भएको खेलमा अहिलेसम्म नेपालले हार व्यहोरेको छैन । यस्तै नेपालले बंगलादेशलाई पराजित गर्दै यसअघि च्याम्पियन बनेको उदाहरण छ ।

सन् २०१५ र २०१७ मा नेपाल च्याम्पियन बन्दा बंगलादेशलाई हराएको थियो । यस्तै यस संस्करणमा पनि नेपालले बंगलादेशलाई एक पटक हराइसकेको छ । नेपाल र बंगलादेशबीच साफ यू२० मा चार पटक खेल हुँदा नेपाल ३ खेलमा विजयी भएको छ भने एक खेल बराबरीमा सकिएको छ । सन् २०२२ मा भएको नेपाल र बंगलादेशले १-१ को बराबरी खेलेका थिए ।

सन् २०१५ मा भएको पहिलो संस्करणको समूह चरणमा नेपालले बंगलादेशलाई २-१ ले पराजित गरेको थियो । यस्तै २०१७ मा भुटानमा भएको दोस्रो संस्करणको लिग चरणमा पनि नेपालले बंगलादेशलाई २-१ ले नै पराजित गरेको थियो । यस संस्करणमा पनि नेपालले बंगलादेशलाई समूह चरणको खेलमा २-१ ले पराजित गरेको थियो ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

नेपाल र बंगलादेश साफ यू-२० च्याम्पियनसिप
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय