+
+

दीपक रौनियार निर्देशित ‘पूजा, सर’को टिजर सार्वजनिक, ४ मुलुकको राइट बिक्री

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते १७:१७

काठमाडौं । भेनिसमा विश्व प्रिमियर तयारीमा रहेको दीपक रौनियार निर्देशित फिल्म ‘पूजा, सर’को टिजर सार्वजनिक भएको छ । प्रिमियरअघि नै विभिन्न देशमा फिल्मको वितरण अधिकार पनि बिक्री भएको छ ।

दुई मिनेट लामो टिजरमा सांसदको छोरा सहितका दुई बालक अपहरणमा परेपछि उनीहरुलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा चित्रण छ । यो सोसल ड्रामा तथा एक्सन फिल्ममा आशा मगरातीको शीर्ष भूमिका छ ।

पूर्वमिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मा, पुष्पा यादव लगायत कलाकार पनि टिजरमा चित्रित छन् । यो फिल्ममा विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वरकुमार झा, पशुपति राई र नीरज श्रेष्ठको पनि अभिनय छ ।

‘हाइवे’ र ‘ह्वाइट सन्’पछि निर्देशक रौनियारको यो तेस्रो कथानक फिल्म हो । प्रिमियरअघि नै फिल्मको राइट बिक्री भएपछि निर्देशक रौनियारले खुसी व्यक्त गरे । फ्रान्सका लागि एआरपी सेलेक्सन कम्पनीले फिल्मको राइट किनेको छ ।

‘प्रिमियरअघि नै फिल्म बिक्री हुँदा हामी खुसी छौं’ लण्डनबाट निर्देशक रौनियारले अनलाइनखबरसँग भने ।

स्वीट्जरल्याण्ड, जर्मनी र अष्ट्रियाको लागि ट्रिगोन फिल्मले राइट किनेको छ । एआरपी सेलेक्सनले यसअघि विश्वचर्चित अस्कर मनोनित फिल्म ‘पास्ट लाइभ्स’, ट्रेन टु बुसान लगायतका फिल्म वितरण गरेको छ ।

‘पूजा, सर’ यस्तो एउटा फिल्म हो जसले हामीलाई यसको निजत्व, संस्कृति र परिदृश्यको मुटुमा लैजान्छ । यस सन्दर्भमा, यो अप्रत्याशित र आकर्षक छ । हामी यसलाई फ्रान्सका दर्शकका लागि प्रस्तुत गर्न पाउँदा खुसी छौं’ वितरण कम्पनी एआरपीका मिशेल हलबर्सटाडले भने ।

रौनियारको पहिलो फिचर फिल्म ‘हाइवे’ सन् २०१२ मा बर्लिनमा प्रिमियर भएको थियो । सन् २०१६ मा अर्को फिल्म ‘ह्वाइट सन्’ भेनिस, पाम स्प्रिङ्स, फ्राइबर्ग र सिंगापुर फेस्टिभलमा पुरस्कृत भएको थियो । सन् २०२२ मा उनको छोटो फिल्म ‘फोर नाइट्स’ बर्लिनेल सर्ट्समा प्रिमियर भएको थियो ।

‘पूजा, सर’ २९ अगस्ट (नेपाली समयानुसार आगामी बिहीबार) भेनिसमा विश्व प्रिमियर हुँदैछ । उक्त दिन निर्देशक रौनियारको जन्मदिन समेत हो । भेनिस प्रिमियरका लागि निर्देशक रौनियार, अभिनेत्री मगराती सहितका कलाकार इटाली जाँदैछन् ।

यो फिल्मको निर्माण आदि फिल्म्सका लागि रौनियार र मगराती, बासुरी फिल्म्सका लागि रामबाबु गुरुङ र तन्हाउसर गेटका लागि एलन आर मिलिगनले गरेका हुन् । यसले नर्वेजियन फिल्म इन्स्टिच्युटको सोर्फोन्डबाट पनि आर्थिक सहयोग प्राप्त गरेको छ । भेनिसपछि फिल्मको नेपाल प्रदर्शनको टुंगो लगाउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?