+
+

मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते १७:२७

काठमाडौं । मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’को नेपाली संस्करणको ट्रेलर सार्वजनिक भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा फिल्मको दोस्रो ट्रेलर सार्वजनिक गरियो ।

यसअघि फिल्मको बर्लिन संस्करणको पनि ट्रेलर आइसकेको छ । यो फिल्म भदौ २८ गते (सेप्टेम्बर १३)मा नेपालमा रिलिज हुँदैछ । नेपालमा यो फिल्मलाई एप्पल इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो ।

विश्वप्रसिद्ध बर्लिन फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो फिल्म यसै महिना स्वीट्जरल्याण्डको प्रसिद्ध लोकार्नो फिल्म फेस्टिभलमा पनि स्क्रिनिङ भएको थियो । ड्रामा, एड्भेन्चर र म्याजिक रियालिजम जनरा बताइएको यो फिल्म ‘कालोपोथी’ फेम्ड निर्देशक भामको दोस्रो निर्देशकीय फिचर हो ।

नेपाली र तिब्बती भाषामा रिलिज हुने यो फिल्मलाई नेपालमा अंग्रेजी र नेपाली सबटाइटलमा समेत प्रदर्शन गरिनेछ । सहरी क्षेत्रमा अंग्रेजी सबटाइटलमा देखाइने तयारी एप्पलको छ ।

पत्रकार सम्मेलनमा निर्देशक भामले ग्लोबल दर्शकपछि अब आफू घरेलु दर्शकमाझ आउन लागेकोमा उत्साही रहेको बताए । ‘मेरो पहिलो फिल्म कालोपोथी केही हलमा मात्र रिलिज भएको थियो । यो भने वाइड रुपमा नेपालभर लगाउँदैछौं,’ भामले भने ।

झण्डै १४ करोड रुपैयाँ बजेट रहेको यो फिल्मलाई अहिलेसम्मकै महंगो नेपाली फिल्म बताइएको छ । यो फिल्मले नेपालको चलचित्र विकास बोर्डसहित विश्वका १७ अन्तर्राष्ट्रिय संस्थाबाट फण्ड जितेको छ । फिल्मलाई नेटफ्लिक्समा रिलिजका लागि आफ्ना विदेशी निर्माता लागिपरेको समेत भामले जनाए ।

फिल्ममा थिन्ले ल्हामो र सोनम तोप्देन शीर्ष भूमिकामा छन् । यो फिल्मले नेपालको पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा पेश गर्छ ।

फिल्मले एक पुरुष र उनका दुई साना भाइसँग बहुआयामी वैवाहिक सम्बन्धमा रहेकी एक महिला पेमालाई पछ्याउँछ । जब व्यापारका लागि गएका पुरुष फर्किंदैनन्, तब पेमाले आफ्नो गर्भमा रहेको बच्चालाई वैधता दिनका लागि उसलाई खोज्न थाल्छिन् ।

‘शाम्बाला’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बेल्जियमको वितरण कम्पनी बेस्ट फ्रेन्ड फरेभरले लिएको छ । फिल्मको मल्टिप्लेक्स पार्टनरमा क्यूएफएक्स छ । फिल्म निर्माणमा फ्रान्स, नर्वे, हङकङ, टर्की, ताइवान र अमेरिकी कम्पनीले पनि सहकार्य गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?