
११ भदौ, काठमाडौं । आइतबार ७९.८८ अंक घटेको सेयर बजार सोमबार थप १११.९६ अंक घट्यो । लगातार दुई दिनमै बजार १९१ अंकले घटेपछि ३ हजार आसपास पुग्दा खरिद गरेका कतिपय लगानीकर्ता अहिले त्रसित बनेका छन् ।
तिनै त्रसित लगानीकर्ताको बिक्री चाप र नाफा भएकाहरुको पनि बिक्री बढ्दा सेयर बजारमा यो पटक केही ठूलो करेक्सन आउने अनुमान गरिएको छ । तर करेक्सन कतिसम्म जाला भनेर कसैले यकिन गर्न सक्दैन ।
बजारमा ठूलो करेक्सन देखिनुको मुख्य कारण नै छोटो अवधिमा खास करेक्सनविना २०५० अंकबाट ३ हजारसम्म पुग्नु रहेको सम्बद्ध जानकार बताउँछन् । साउन १५ गते २०३७ अंकमा रहेको बजार साउन ३१ गते नै ३ हजार अंक पुग्यो । अर्थात करिब १५ दिनकै अवधिमा बजार ४७ प्रतिशतले बढ्यो ।
छोटो अवधिमा बजारमा देखिएको ठूलो वृद्धि नै अहिले गिरावटको एउटा प्रमुख कारण रहेको स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटा बताउँछन् । ‘छोटो अवधिमै बजारले एउटा आधार नै नबनाइ जसरी एकोहोरो बढ्यो, त्यहींअनुरुप करेक्सनको संकेत देखियो’ उनले भने ‘यदि बजार बढ्दा नै केही करेक्सनसहित बढ्दै गएको भएमा त्यो बलियो हुन्थ्यो ।’
हालको करेक्सनलाई सामान्य बुझ्नुपर्ने उनले बताए । कतिपय लगानीकर्ताले छोटो अवधिमै बढेको बजार देखेर आफ्नो सबै पैसा लगानी गरेको तर अहिले बजार घटेको देख्नासाथ आत्तिएको पनि उनले बताए ।
बजारमा केही दिन करेक्सन आउँदैमा आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । ‘बजार बढिसकेपछि घट्छ पनि, लगानीकर्ताले त यो बुझ्नुपर्ने नै हो’ उनले भने ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल पनि अहिले बजारको गिरावट ठूलो देखिए पनि सामान्य रहेको बताए । ‘१५ दिनमै बजार २०५० बाट बढेर ३ हजार पुगेको हो, कुनै न कुनै विन्दुमा करेक्सन आउनुपर्ने नै थियो, अहिलेको करेक्सन त्यहींअनुरुप आएको हो’ उनले भने ‘बजार बढ्दा जुन प्रवृत्तिले बढेको हुन्छ, घट्दा पनि उस्तै प्रवृत्ति देखिन्छ ।’
अब बजारमा जति करेक्सन देखिन्छ, त्यति नै बलियो बन्ने उनको दाबी छ । बजार बढ्दा उन्मादमा रमाउने र घट्दा आत्तिने प्रवृत्ति लगानीकर्ताले त्याग्नुपर्ने उनी सुझाउँछन् । ‘बजार बलियो हुँदै माथि जाने हो, बजारलाई प्रभाव पार्ने खास कारण अहिले देखिँदैन’ उनले भने ।
प्रायः बजारले साउन, भदौ महिनामा बढेर त्यसपछि घट्ने गरेको इतिहास देखाएकाले पनि लगानीकर्तामा त्रास बढेको हुन सक्ने देखिन्छ । ठीक ३ वर्षअघि २ भदौ २०७८ नेप्सेले हालसम्मकै उच्च ३१९८ अंकको रेकर्ड बनाएको थियो । अहिले पनि साउनको अन्तिम दिन बजार ३००० अंक पुग्यो । जुन ३ वर्षकै उच्चतम विन्दु हो ।
कतै बजार फेरि १८ सय हाराहारीमा झर्ने त होइन भन्ने त्रास लगानीकर्तालाई हुन सक्छ । ‘यसअघि बियरिस भोगेका लगानीकर्तामा त्यो क्षण यादगार रहिरहन्छ, जसले गर्दा बुल सुरु हुने क्रममा बजार केही घट्यो भने आत्तिने हुन्छन्’ लगानीकर्ता तथा प्राविधिक जानकार सुवासचन्द्र ढुंगानाले भने ।
विगतमा पनि बजार जति अंकले बढेको छ, त्यसको ३० प्रतिशतसम्म घटेको इतिहास रहेको उनले बताए । उनको यो भनाइलाई मान्ने हो भने १५ दिनमा करिब १ हजार अंक बढेको बजारमा ३० प्रतिशत भनेको ३०० अंक हुन आउँछ । बजारले ३ सय अंकसम्मको करेक्सन आउन सक्छ । तर विगतमा देखिएको प्राविधिक विषय भोलिका दिनमा पनि मिल्छ भन्ने हुँदैन ।
यतिबेला बैंकहरुमा पर्याप्त लगानीयोग्य रकम छ । जसले गर्दा भदौ महिनाका लागि पनि ब्याजदर घटेको छ । कर्जाको ब्याजदर नै एकल अंकमा झरेको छ । बजारलाई सबैभन्दा बढी असर पार्ने पक्ष नै ब्याजदर हो । तर ब्याजदर न्यून विन्दुमा अझै केही समय रहिरहने निश्चित देखिएकाले बजारमा आत्तिनु नपर्ने लगानीकर्ताको बुझाई छ ।
तर यतिबेला बजारलाई केही साना पक्षको भने प्रभाव परेको देखिन्छ । मुख्यतः नजिकिँदो चाडपर्वका कारण कतिपय आयातकर्ताले बजारबाट पैसा झिकेर आयातका लागि खर्चिन सक्छन् । आयातकर्ताहरुले चाडपर्वका लागि खर्चिने रकम केही बढी नै हुन्छ, यसले केही समय बजार प्रभाव पारे पनि लामो नहुने लगानीकर्ताको भनाइ छ ।
‘आयातमा त केही रकम जान सक्छ, तर बैंकमा पर्याप्त लगानीयोग्य रकम रहनु, पुँजीकोषमा सहजीकरण हुनु, ब्याजदर सस्तो हुनु र संस्थागत लगानीकर्तालाई कर्जाको सीमा खुलाइनुले त्यताबाट बजारमा रकम भित्रिन्छ’ ढुंगानाले भने । हाल काठमाडौंमा नाडा अटो शो चलिरहेको छ । बजार बढेका बेला केहीले नाफा बुक गरी गाडी बुक गर्न सक्ने हुँदा पनि केही असर परेको हुन सक्ने लगानीकर्ताको अनुमान छ ।
त्यस्तै यसअघि जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)को १ करोड ६८ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीका लागि आवेदन खुल्यो । यसको कटअफ प्राइस १५१ हाराहारी हुने अनुमान छ । यसका लागि केही रकम जाँदा सामान्य प्रभाव पनि परेको हुन सक्छ । तीबाहेक बजारलाई अहिले खास असर पार्ने पक्ष नरहेको लगानीकर्ता बताउँछन् ।
यस्तो बेला लगानीकर्ताले के गर्ने ?
विश्वका हरेक बजार लगानीकर्ताको मनोभावकै कारण प्रभावित हुन्छन् । एकै समयमा केहीलाई बेच्ने भावना विकास हुन्छ, त केहीलाई खरिदको भावना । कारोबार प्लाटफर्ममा यहीं भावनामार्फत दिइने आदेश म्याच हुनु नै कारोबार हुनु हो ।
बजार घट्दै जाँदा बिक्री गर्न छाडेर खरिद बढाउँदै लानुपर्ने लगानीकर्ताको सुझाव छ । तर यहाँ धेरैको प्रवृत्ति बजार घट्दै गएपछि आत्तिएर बेच्दै जाने र बढ्दै जाँदा भएभरको सबै पैसा लगानी गर्ने छ । अहिलेको गिरावटले थप नयाँ लगानीकर्तालाई पनि समेटेर लैजान सक्नेछ ।
खरिद गर्न चाहनेले राम्रा राम्रा कम्पनी छानेर घटेका बेला खरिद गर्नुपर्ने बेला भएको ढुंगानाले बताए । ‘आफूले खरिद गर्न चाहेको कम्पनीको विगतको वित्तीय विवरण, बिजनेस र दिनसक्ने संभावित प्रतिफल बुझ्नुपर्छ’ उनले भने । तर भएको सबै पैसा एकैदिन वा एउटै कम्पनीमा भने हाल्नु हुँदैन ।
अर्कोतर्फ राम्रो लागेका कम्पनी खरिद गरिसकेपछि मूल्य केही दिन वा केही साता घटेमा तिनै कम्पनी थप किन्न (एभरेजिङ गर्न) सक्नेगरी रकम पनि जोहो गर्नुपर्ने लगानीकर्ताको सुझाव छ । बजार घट्दै जाँदा एभरेजिङ गर्दै जान सकियो भने, प्रतिइकाइ लागत कम हुन जान्छ र केही बढेका बेला नाफा लिएर नै बेच्न सकिन्छ ।
त्यस्तै बजार ३ हजार अंकमा रहेका बेला खरिद गरेकाले नोक्सानी ब्यहाेरेर राम्रा कम्पनीको सेयर बेच्न आत्तिनु नपर्ने लगानीकर्ताको सुझाव छ । त्यस्तै घरखर्च लगायत संभावित आफ्ना खर्चलाई पनि रकम व्यवस्थापन गरेर मात्रै लगानी गर्नुपर्ने जानकार बताउँछन् ।
यसो गर्दा घटेका बेला पीडा पनि हुँदैन, बजार बढ्यो भने पनि आफूसँग भएको कम्पनीको मूल्य बढ्छ । तर केही कम्पनीहरुमा भने यति बेला सचेत हुनुपर्ने बेला आएको छ । खासगरी वित्तीय स्थिति मजबुत नबनेका केही फाइनान्स र हाइड्रोपावर कम्पनीमा सचेत हुनुपर्ने बेला आएको अनुभवी बताउँछन् ।
त्यस्ता कम्पनी आफूसँग छन् भने पनि बिक्री गरेर राम्रा कम्पनीमा सार्ने बेला भएको लगानीकर्ता ढकालको भनाइ छ । विभिन्न कम्पनीहरुले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई लाभांश दिने बेला आएको छ ।
केही कम्पनीले लाभांश घोषणा गरिसकेका छन् । अब बजार केही घटेमा लगानी गर्दा संभावित लाभांशका विषयमा पनि अध्ययन र विश्लेषण गरेर लगानी गर्नुपर्ने ढकालले बताए । ‘राम्रो लाभांश दिन सक्ने कम्पनीको मूल्य थोरै घट्ने र घटेमा पनि लाभांशले केही राहत मिल्छ’ उनले भने ।
प्रतिक्रिया 4