+
+

फ्रान्समा किन समातिए टेलिग्राम सीईओ पावेल ?

डरका कारण रम्बलका सीईओले युरोप छाडे

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते १९:१४

काठमाडौं । सोसल मिडिया प्लाटफर्म टेलिग्रामका संस्थापक तथा सीईओ पावेल ड्युरोभ शनिबार बेलुकी फ्रान्समा पक्राउ परे । आफ्नो निजी जेट विमानबाट अजरबैजान जाने क्रममा फ्रान्सको बार्गेट विमानस्थलमा ड्युरोभलाई पक्राउ गरिएको हो ।

चर्चित सोसल मिडिया प्लाटफर्मका सीईओ पक्राउ परेसँगै विश्व प्रविधि जगतमा तरङ्ग पैदा भएको छ । आखिर उनलाई किन पक्राउ गरियो ? समाचार अनुसार टेलिग्राममा प्रकाशित हुने सामाग्री व्यवस्थापन (कन्टेन्ट मोडेरेसन) सम्बन्धी एक प्रहरी अनुसन्धानका सिलसिलामा उनी पक्राउ परेको बताइएको छ ।

प्रारम्भिक अनुसन्धानमा त्यस्ता मोडेरेटर कर्मचारीको कमीका कारण मेसेजिंग एप टेलिग्राममा आपराधिक गतिविधिहरु निर्बाध रुपमा सञ्चालन भईरहेको पाइएको छ ।

टेलिग्राम सीईओ पावेलको गिरफ्तारीसँगै विभिन्न खालका अड्कलबाजीहरु सुरु भएका छन् ।

को हुन् पावेल ड्युरोभ ?

रुसमा जन्मिएका पावेलले सन् २०१३ मा आफ्ना भाईसँग मिलेर मेसेजिङ्ग प्लाटफर्म टेलिग्रामको सुरुवात गरेका थिए । त्यसपछि रुस सरकारले उनको VKontakte एपमा विरोधी पार्टीहरुको समूहलाई बन्द गर्ने निर्णय गरेको थियो, जसलाई उनले स्वीकार गरेनन् । त्यसपछि सन् २०१४ मा उनले रुस छाडे । पावेल ड्युुरोभको कूल सम्पत्ति १५ अर्ब ५० करोड डलर रहेको छ ।

रोयटर्सका अनुसार उनले अमेरिकी पत्रकार टकर काल्ट्रसनसँग एक अन्तरवार्ताका क्रममा आफूले कसैको आदेश मान्नुको साटो स्वतन्त्र रहन मन पराउने बताएका थिए । त्यसैले उनले आफ्नो मुलुक रुस छाडे र कम्पनीका लागि दोश्रो ठाउँको खोजी गरे ।

रुस सरकारले आफूमाथि दबाब बनाउन चाहेको भएपनि आफूले टेलिग्रामलाई निष्पक्ष राख्ने र त्यसलाई भूराजनीतिको मोहरा बन्न नदिने उनले बताउँदै आएका छन् । यद्यपि विभिन्न देशमा डेटा सुरक्षाको मुद्दाले पनि टेलिग्राम विवादित बनेको छ ।

फेसबुक, युट्युब, ह्वाट्सएप तथा इन्स्टाग्राम जस्तै लोकप्रिय रहेको टेलिग्रामका प्रयोगकर्ता ९५ करोड रहेका छन् । टेलिग्राममा कैयन् यस्ता फिचरहरु छन् जुन अरुमा उपलब्ध छैनन् ।

रुस युक्रेन युद्धमा टेलिग्रामको आवश्यकता

सन् २०२२ मा रुस र युक्रेनबीचको युद्धका क्रममा टेलिग्राम नै सूचनाको मूख्य श्रोतको रुपमा प्रयोग भयो । टेलिग्राममै दुवै पक्षबाट सम्पादन नगरिएका कोरा जानकारीहरु प्रेषित गरियो । यद्यपि त्यसमध्ये केही गलत जानकारीहरु पनि थिए । सो सन्दर्भमा विज्ञहरुले टेलिग्रामलाई भर्चुअल युद्ध मैदानको उपमा दिए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका अधिकारीहरुसँगै रुस सरकारले पनि टेलिग्रामको व्यापक प्रयोग गर्ने गरेको छ । रुसी सरकारले टेलिग्रामलाई सूचना प्रवाहका साथै गलत जानकारीहरुको खण्डका लागि समेत उपयोग गर्ने गरेको छ ।

यद्यपि रुसले सन् २०१८ बाटै टेलिग्राममा प्रतिबन्ध लगाउन सुरु गरेको थियो । टेलिग्रामले अदालतको आदेश मान्न अस्वीकार गरेको भन्दै रुस सरकार उसप्रति कठोर बनेको थियो। प्रतिबन्धका बाबजुत रुसमा स्वयं सरकारले समेत टेलिग्राम प्रयोग गर्दै आएको छ ।

यसैबीच रुसको विदेश मन्त्रालयले फ्रान्समा पक्राउ परेका आफ्ना नागरिक ड्युरोभको अवस्थाबारे आफ्नो पेरिसस्थित राजदूतावासबाट एकिन गर्ने प्रयास भईरहेको जनाएको छ ।

युरोप छाड्दै अन्य सोसल मिडिया प्लाटफर्मका सीईओ

टेलिग्रामका सीईओ पावेल फ्रान्समा पक्राउ परेसँगै अर्को लोकप्रिय सोसल मिडिया प्लाटफर्म रम्बलका सीईओ क्रिस प्याभ्लोभ्स्कीले युरोप छाडेका छन् ।

एक्समा एक पोस्ट गर्दै उनले केही ढिलो भएपनि सुरक्षित रुपमा युरोप छाडिसकेको जानकारी गराएका छन् ।

सन् २०१३ मै स्थापना भएको अनलाइन भिडियो शेयरिंग प्लाटफर्म रम्बलमा गेमिंग, संगीत, समाचार तथा पडकास्ट आदिको सुविधा रहेको छ ।

फ्रान्सले रम्बललाई पनि दबाउने प्रयास गरेको र टेलिग्रामका सीईओलाई पक्राउ गरेर हद पार गरेको उनले बताएका छन् । आफू वाक स्वतन्त्रताको पक्षमा रहेको र फ्रेन्च अदालतमा त्यसका लागि लडाइँ लड्ने उनले बताएका छन् ।

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?