+
+

रिङ ब्याक टोनमा कर्कश धुनले उपभोक्ता आजित

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८१ भदौ ११ गते १९:४४

११ भदौ, काठमाडौं । नेपाल टेलिकमले विभिन्न जातजाति तथा धर्म सम्प्रदायका ठूला चाडपर्व र राष्ट्रिय दिवसहरुमा विशेष कलर रिङ ब्याक टोन (आरबीटी) राख्छ ।

यस्ता अवसरमा राखिने आरबीटी २४ घण्टासम्म टेलिकमको मोवाइल सेवा प्रयोग गर्ने सबैले सुन्नुपर्ने बाध्यता छ । यस्ता आरबीटीको उचित छनोटदेखि प्राविधिक व्यवस्थापन भद्रगोल हुँदा गुनासो बढ्न थालेको छ ।

विश्वभर ‘कल’ (फोन) गर्दा नियमित बज्ने ‘सीआरबीटी’ (टुँ–टुँ आवाज) बाहेकका ध्वनिलाई टेलिकम कम्पनीले कम्पनीहरुले ब्यापारसँग जोड्छन् । नेपालका टेकिकम कम्पनीले पनि उपभोक्ताले छानेरै तोकिएको शुल्कमा ‘रिंग ब्याक टोन’ राख्ने सुविधा दिएका छन् ।

तर, पछिल्ला दिनमा नेपाल टेलिकमले ग्राहकले पैसा नतिर्दा पनि रिङ ब्याक टोनको अधिक प्रयोग गरिरहेको छ । टेलिकमका अधिकारीहरुका अनुसार यसले टेलिकमको बिजनेस मात्रै खोसिएको छैन, ब्याक टोनबारे प्रशस्तै गुनासा आउने गरेका छन् ।

‘केही वर्ष अघिसम्म पैसा तिरेरै दशैंको मालश्री धुन राख्न उपभोक्ता लालायित थिए, त्यसले टेलिकमको आय बढाउन सघााएको थियो’, टेलिकमका एक अधिकारीले भन्छन्, ‘जब हामीले मन्त्रीहरुका कुरा सुनेर पर्वका धुनदेखि धार्मिक भजनसम्म बजाइदिन थाल्यौं, हाम्रै आयको स्रोतमा पनि असर गर्‍यो ।’

बाध्यकारी गरेर राखिएका ब्याक टोनले नेपाल टेलिकमको ब्रान्ड ‘इमेज’ मा समेत असर पारिरहेको उनले बताए । ‘टेलिकमले पैसा लिएर ब्याकटोनमा जे पनि बजाइदिन्छ भन्ने सन्देश गइरहेको छ’, उनी भन्छन् ।

नेपाल टेलिकमका प्रवक्ता किशोर कुमार भट्ट सरकारको निर्देशनबमोजिम नेपाल दूरसञ्चार प्राधिकरणबाट प्राप्त स्वीकृतिमा मात्रै यस्ता रिङ ब्याक टोन राख्न गरेको बताउँछन् । ‘दूरसञ्चार प्राधिकरणबाट तोकिएको शुल्क लिएर हामीले व्यवसयिक रुपमा ब्याक टोन बजाएका छैनौं’, उनले भने ।

टेलिकमले निःशुल्क बजाउने धेरै ब्याक टोनहरुमा प्रविधि र जनशक्तिको प्रयोग गर्नु परिरहेको र त्यसले टेलिकममाथि अनावश्यक भार सिर्जना गरेको अधिकारीहरु बताउँछन् ।

विज्ञहरुका अनुसार सिमकार्ड प्रयोगकर्तालाई ‘पर्सनल रिंग ब्याक टोन’ (पीआरबीटी) छनोटको अधिकार हुन्छ । आफूलाई रुचि लागे उसले आफ्ना करका लागि योग्य ध्वनि, गीत, संगीत र आवाजहरु छान्छ र शुल्क तिरेर ‘सेट’ गर्न खुला छ ।

तर, पछिल्लो समयमा बाध्यकारी रुपमै सबै कलरलाई टेलिकम कम्पनीले आफूखुसी सेट गरेका र कमजोर गुणस्तरका ध्वनि सुन्न बाध्य पार्नेसम्मको अवस्था देखिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भेषराज कँडेल फोन लाग्दा बज्ने सामान्य ब्याक टोनबाहेक अन्य धुन र सन्देश राख्ने कुरा सम्बन्धित प्रयोगकर्ताको रोजाइमै छाड्नुपर्ने बताउँछन् ।

‘सिम प्रयोगकर्ताले पनि राख्न र फोन गर्नेले सुन्न नचाहेको रिङ ब्याक टोन पनि जथाभावी छनोट गरेर राखिन थाल्यो’, उनी भन्छन्, ‘यसलाई ऐच्छिक बनाउनुपर्छ, अहिलेको जसरी बाध्यकारी रुपमा राख्न मिल्दैन ।’

टेलिकमले दशैं, तिहार, छठ, होली, बुद्ध जयन्ती, इद, क्रिसमेस डे, कृष्ण जन्माष्टमीजस्ता पर्वमा सबै ग्राहकका लागि लागु हुने गरी सम्बद्ध रिङ ब्याक टोन बजाउँछ । यस्तै विभिन्न दिवशहरुमा शुभकामनासहितको ब्याक टोन राखिदिन्छ । यस्ता धार्मिक र पर्वसम्बद्ध ब्याक टोनबारे मतभिन्नताहरु छन् ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका एक पूर्वसञ्चालक पर्व विशेषका यस्ता ब्याक टोनहरुले फरक धार्मिक सम्प्रदायबीच भ्रातृत्व बढाउन सहयोग गर्ने दाबी गर्छन् ।

‘म हिन्दु भएपनि बौद्ध, इसाइ, इस्लाम सम्प्रदायका चाडबाडसम्बद्ध धुन सुन्दा गर्व लाग्छ, ती धर्मसम्प्रदायप्रति सम्मान जाग्छ,’ उनले भने,‘जातीय विविधता र बहुधार्मिक समाजलाई यस्ता ब्याकटोनले जोडेर राख्न भूमिका खेल्नछन् ।’

तर, त्यस्ता पर्व विशेषका रिंग ब्याक टोनहरुको छनोटमा पर्याप्त ध्यान नदिंदा प्रश्न उठ्ने अवस्था आएको उनले बताए । ‘ब्याकटोन छान्दा सम्बन्धित पर्वका उत्कृष्ट धुन छान्नुपर्छ, त्यसका लागि हचुवामा निर्णय गरेर हालिदिने अहिलेको परिपाटी अन्त्य हुनुपर्छ’, उनले भने, ‘बरु अध्ययन गरेरै कहिले के बजाउने भनेर छानेर क्यालेन्डर बनाएर लागु गर्दा हुन्छ ।’

तर दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष कँडेल नेपाल धर्म निरपेक्ष राष्ट्र भएकाले फोन गर्दा कुनै धर्म विशेषको धुन बजाउनु व्यवहारिक नहुने बताउँछन् । धार्मिक सहिष्णुता नेपालको संस्कार र संस्कृतिजस्तो बनिसकेको भन्दै कँडेलले उल्टै ‘इरिटेट’ बनाउने सबै खालका ब्याक टोनको प्रयोग हुनु दुखद् भएको बताए ।

‘धुन नै राखे पनि कम्तीमा सुन्दा कानलाई झिंझो नहुने र आनन्द महसुस हुने खालको हुनुपर्‍यो’, उनी भन्छन्, ‘सबैको व्यक्तिगत आस्था, स्वतन्त्रता र विचारको सम्मान हुनुपर्छ, रिङ ब्याक टोन व्यवस्थापन नीतिबाट गाइड हुनुपर्छ, पटके निर्णयका भरमा ब्याक टोन राखिदिने अवस्था स्वीकार्य होइन ।’

सरकारले कोभिडको महामारीमा जनचेतना फैलाउनका लागि यस्तो निःशुल्क रिङ ब्याक टोनको लामो सयमसम्म प्रयोग गरेको थियो । जुन त्यतिबेला प्रभावकारी पनि सावित भएको थियो । अहिले पनि विभिन्न समयमा सचेतना र महत्वपूर्ण जानकारी लागि पनि यस्तो चेतनामूलक ब्याक टोन प्रयोग गरिन्छ । आकस्मिक अवस्थामा जानकारी र सचेतनाका प्रयोग हुने ब्याक टोनको खासै विरोध हुने गरेको छैन ।

तर, यस्ता ब्याक टोनमा उल्लेख भएका विषय (प्रस्तुति) र ब्याकटोनको क्वालिटी (धुनको गुणस्तर) बारे धेरै प्रश्न उठ्ने गरेका छन् । चेतनाका लागि प्रयोग सुरु भएको यस्तो निःशुल्क ब्याक टोन अहिले चाडपर्वसम्बद्ध भजन र ध्वनि बजाउने मात्रै हैन, सरकारका तर्फबाट शुभकामना दिनेसम्मका काममा सजिलै प्रयोग हुन थालेको छ ।

अब त टेलिकम कम्पनीले ब्याक टोनमा आफ्ना सेवा र अफरसम्बद्ध विज्ञापनसमेत ब्याक टोनमा सुनाउन थालिसकेका छन् ।

बाध्यकारी हुँदा समस्या

नेपाल टेलिकमले आइतबार कृष्ण जन्माष्टमीका दिन राखेको धुनबारे पनि सामाजिक सञ्जालमा अनेक टिप्पणी आएका छन् । धेरैले कृष्ण जन्माष्टमीको अवसरमा टेलिकमले राखेको धुन सुमधुर नभएको र बरु कर्कस आवाज रहेको गुनासो गरेका छन् । टेलिकमका प्रवक्ता भट्ट कृष्ण जन्माष्टमीमा ब्याक टोनको छनोटबारे धेरै गुनासो आएको बताउँछन् । आगामी दिनमा यस्ता पक्षमा विचार पुर्‍याउने उनको दाबी छ ।

वरिष्ठ पत्रकार कनकमणि दीक्षितले समाजिक सञ्जालमै लेखे, ‘फोनमा आज श्रीकृष्ण आतंक । हरे नेपाल टेलिकम !’ यो पोस्टबारे आक्रोश पोख्नेलाई उनले स्पष्टीकरण दिँदै लेखेका छन्, ‘यत्ति भन्न नपाउने समाज त नरेन्द्र मोदी (भारतीय प्रधानमन्त्री) ले बनाउन खोजेको भारत जस्तो हुन्छ ।’ उनले थप प्रश्न गरेका छन्, अनि पश्चिमा स्वरको ‘हरे कृष्ण’ टेप नै बजाउनुपर्ने ?’

फेसबुक पेज डिजिटल सोलुसन नेपालले सोमबार ‘टेलिकमले प्रयोगकर्ताको सहमति बिना कलर रिङ ब्याक टोन राख्न पाउँदैन’ भन्दै सार्वजनिक रुपमा फलोअरलाई सोधेको थियो, ‘हजुरलाई के लाग्छ ?’

यसमा अजय गौतमको रिप्लाइ छ, ‘राख्नुहुँदैन, एक पटक एस/नो भनेर सोध्न सक्छ ।’

नारायण न्यौपानेले लेखेका छन्, ‘रिङ ब्याक टोनले मलाई इरिटेड गरायो, हटाउने कसरी ?’

राजेश झाले टेलिकमले राखे पनि ग्राहकले चाहेमा हटाउन मिल्ने व्यवस्था हुनुपर्ने बताएका छन् ।

टेलिकमले बजाउने ब्याक टोन उत्पत्ति भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट हुन्छ । सरकारका विभिन्न मन्त्रालय र निकायले गर्ने आग्रहका आधारमा सञ्चार मन्त्रालयले कल ब्याक टोन राख्न भन्दै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणमा पठाउँछ । यस्ता निःशुल्क ब्याक टोन राख्न दिन प्राधिकरणले स्वीकृति दिन्छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका एक अधिकारी राजनीतिक र प्रशासनिक पहुँच प्रयोग गरेरै सरकारी निकायले अनावश्यक दिनमा समेत ब्याक टोन राख्न लगाइरहेको बताउँछन् ।

‘अहिले त हरेकजसो दिवसहरुमा ब्याक टोन राख्न दबाब पर्न थालेको छ, विभिन्न पहुँचवालाहरु नै स्वीकृतिका लागि दबाब दिन्छन्’, ती अधिकारीले भने, ‘यतिसम्म कि ब्याक टोनमा बजाउन नै नमिल्ने खालका असान्दर्भिक समाग्री पनि राख्न दबाब आउँछ ।’

आफूहरु यो मामिलाले आजित भइसकेको भन्दै ती अधिकारीले अघि भने, ‘धेरै नै रोक्न खोजियो सकिएन, मन्त्रीहरुले यस्ता धुन बजाएर भोट बढ्छ भन्ने सोच राख्दा समस्या बढेको हो ।’

बलजफ्ती स्वीकृत गराइने धेरै ब्याक टोनका रुपमा ‘कर्कस’ ध्वनि बज्छन् । मीठो र सुमधुर आवाजका ब्याक टोन नराखिंदा पनि बढी आलोचना भएको टेलिकमको स्वीकारोक्ति छ ।

नेपाल टेलिकमका प्रवक्ता किशोरप्रसाद भट्ट निःशुल्क ब्याक टोनभित्रका सामग्री मात्रै हैन, त्यसको आवाजको गुणस्तरमा समेत ग्राहकले प्रश्न उठाउने गरेको स्वीकार्छन् ।

‘दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भएर आएपछि हामीले ब्याक टोन राख्छौं’, उनले भने, ‘त्यो श्रव्य सामग्री ग्राहकलाई झर्को लाग्ने खालको हुनुहुँदैन ।’

टेलिकम स्रोतका अनुसार टेलिकमको व्यापार महाशाखाले बाह्य स्रोतबाट स्वीकृत रिङ ब्याक टोनको श्रव्य सामग्री रेकर्ड गर्छ ।

स्रोतका अनुसार टेलिकमका कर्मचरीहरुले आफ्ना मान्छेलाई काम दिने गरी सामान्य र सस्ता रेकर्डिङ स्टुडियोमा रेकर्ड गराएर ल्याउँछन् ।

यसरी राम्रो सम्पादन पनि नभएका कयौं ब्याक टोन बजिसकेका छन् । राम्रो योजनासहित रेकर्ड र सम्पादन नगरिँदा करिब ४० सेकेन्ड बज्ने ब्याक टोनमा एउटै सामग्री दोहोरिने समस्या समेत छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अर्जुन घिमिरे नेपाल दूरसञ्चार प्राधिकरणले हालसालै ब्याकटोनको व्यवस्थापनका लागि केही निर्णयहरु गरेको बताउँछन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग समन्वय गरेर एक कमिटीमार्फत व्यवस्थापनको सुझाव लिएर निर्णय भएको उनले बताए ।

अब मन्त्रिपरिषद्‍बाट निर्णय भएर आएका राष्ट्रिय दिवस र विशेष कार्यक्रमसँग सम्बन्धित सूचना वा जानकारी सम्प्रेषण गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट अनुरोध भएर आए मात्रै निःशुल्क एसएमसएस र रिङ ब्याक टोनको अनुमति दिने गरी व्यवस्था गर्न प्राधिकरण सञ्चालक समतिले व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको छ ।

राष्ट्रिय दिवस र विशेष कार्यक्रमका सन्देश प्रवाहका लागि कम्तीमा सात दिन आगावै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट सामग्री उपलब्ध गराउन अनुरोध गर्ने निर्णय समेत प्राधिकरणले गरेको छ ।

यी दुई अवस्थाबाहेक अन्य प्रयोजनमा नयाँ व्यवस्था नभएसम्म प्राधिकरणबाट स्वीकृत शुल्क लिएर रिङ ब्याक टोन सम्प्रेषण गर्न सकिने व्यवस्थालाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।

तर, सरकारको सिफारिस सबै मान्ने गरी प्राधिकरणले गरेको यो निर्णयले अनावश्यक र कर्कस रिङ ब्याक टोनलाई निरुत्साहित गर्ने देखिएको छैन ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?