+
+

साढेमाथि भएको कुटपिटमा संलग्नलाई कारबाहीको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते १९:२०

११ भदौ, जनकपुरधाम। नेपाल भेटनरी एसोसिएशन मधेश प्रदेश समितिले धनुषा र महोत्तरीमा हालै सार्वजनिक भएका साढे कुटपिट र हत्या घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।

एसोसिएसनले जनकपुरधाम उपमहानगरपालिकाको निर्देशनमा नगर प्रहरी र उपमहानगरको उपकरण प्रयोग गरी साढेलाई क्रूरतापूर्वक कुटपिट र नशालु इन्जेक्सन लगाई मरणासन्न बनाउने र टिपरमा लगेर विभिन्न स्थानमा फाल्ने गरेको घटनाप्रति खेद व्यक्त गरेको हो ।

ती साढेहरु जनकपुरधाम उपमहानगरपालिकाको जनकपुर क्षेत्रबाट मेयरको निर्देशनमा नगर प्रहरी र उपमहानगरको टिपर जेसिबी प्रयोग गरी बर्बर तरिकाले कुटपिट तथा नशालु इन्जेक्सन लगाएर मारेर तथा अचेत बनाएर टिपरमा राखेर फाल्ने गरिएको सञ्चार माध्यममा सार्वजनिक भएकाले त्यस घटनाको छानबिन गरी संलग्न दोषीहरूमाथि कारबाही गर्न एसोशिएसनको माग छ ।

एसोसिएसनका प्रवक्ता डा.सुदिप कुमार शर्माले प्रेस विज्ञप्तिमा गाई, गोरु वा साढेलाई चोट पुर्याउने कार्य मुलुकी फौजदारी संहिता अन्तर्गत गैरकानुनी रहेकाले संलग्न दोषीहरूमाथि कारबाहीको माग गरेका हुन् । प्रेस विज्ञप्तिमा निर्दयी कार्यले पशु अधिकारको हनन भएको ठहर गरेको छ ।

मुलुकी फौजदारी संहिता दफा २८९ को उपदफा १ र २ बमोजिम, यसरी गाई वा गोरुलाई चोट पुर्याउने नियतले कुनै काम गरेको र सो कामले गर्दा गाई वा गोरु, साढे मर्न गएमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुने व्यवस्था छ ।

उपदफा ३ बमोजिम कसैले गाई, गोरु वा साढेलाई कुटी अङ्गभङ्ग पारेमा निजलाई ६ महिना कैद र अन्य चोट पुर्याएमा पचास हजार रुपैयाँसम्म जरिवाना व्यवस्था रहेकाले सोहि व्यवस्था बमोजिक आवश्यक जाँचबुझ गरी घटनामा संलग्न दोषीलाई हदैसम्म कारवाही हुनपर्ने एसोसिएसनको माग छ ।

आइतबार बिहान धनुषाको मिथिला नगरपालिका २ नक्टाझिज स्थित खोलामा फालिएको अवस्थामा एउटा मृत र दुईवटा अचेत अवस्थामा साढे फेला परेको थियो । दुई दिनअघि धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका ७ स्थित जलाद खोलामा दुईवटा साढे अचेत फेला परेको थियो भने सोमबार बिहान महोत्तरीको गौशाला नगरपालिका १ स्थित जंगलमा एउटा मृत र अर्को अचेत साढे फेला परेको थियो ।

बसही खोलामा फालेको साढे जनकपुरमा कुटपिट गरी टिपरमा राखेर उपमहानगरले फालेको फालेको पुष्टि भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?