+

एन्फाले फुटबल प्रशिक्षक एनेसको सम्झाैता थप नगर्ने

२०८१ भदौ  ११ गते १९:३३ २०८१ भदौ ११ गते १९:३३
एन्फाले फुटबल प्रशिक्षक एनेसको सम्झाैता थप नगर्ने

११ भदाै, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नगर्ने भएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी एन्फाको कार्यसमिति बैठकले प्रशिक्षक एनेसको सम्झौता थप नगर्ने निर्णय गरेको एन्फाका एक पदाधिकारीले जानकारी दिए ।

सन् २०२३ को मार्चमा नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त भएका एनेसको यसअघि तीन महिला सम्झाैता थप गरिएको थियो ।

गत सिजनमै उनको सम्झाैता सकिएको थियो र त्यसपछि एन्फाले उनलाई निरन्तरता दिने वा नयाँ प्रशिक्षक खोज्नेमा कुनै निर्णय गरेको थिएन ।

एन्फा बैठकमा नयाँ प्रशिक्षक ल्याउनुपर्ने र खुल्ला प्रतिस्पर्धाबाट प्रशिक्षक ल्याउने विषयमा छलफल भएको थियो ।

एनेसको सम्झाैता थप नगर्ने र नयाँ प्रशिक्षका लागि आह्वान गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।

नेपाली राष्ट्रिय टिमले अब आधिकारिक खेल अर्कै वर्ष मार्चमा एसियन कप छनोटको तेस्रो चरण खेल्नेछ ।

एनेसको प्रशिक्षणमा नेपालको प्रदर्शन

अल्बर्टो एनेस प्रशिक्षक भएर आएपछि नेपालले थ्री नेसन्स कप फुटबल, साफ च्याम्पियनसिप, विश्वकप छनोट र केही मैत्रीपूर्ण खेलहरु खेलेको छ । उनको प्रशिक्षणमा नेपालले पहिलो प्रतियोगिता प्रधानमन्त्री कप थ्री नेसन्स कप उपाधि जितेको छ ।

उक्त प्रतियोगितामा नेपालसहित लाओस र भुटान सहभागी थिए जहाँ नेपालले फाइनलमा लाओसलाई हराएर उपाधि जितेको थियो ।

त्यसपछि बेंगलुरुमा गत जुनमा भएको साप च्याम्पियनसिपमा साविक उपविजेताको रुपमा सहभागी नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

कुवेत र भारतसँग पराजित भएको नेपालले पाकिस्तानलाई मात्र पराजित गरेको थियो । त्यतिबेलै प्रशिक्षक एनेसले नेपाली टिम छाड्ने हल्ला चलेको थियो तर उनले बेंगलुरुमै नेपाली पत्रकारहरुसँग कुरा गर्दै आफूले नेपाली टिमसँगै हुने बताएका थिए ।

यस्तै फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले अहिलेसम्म ७ खेल खेल्यो । जसमा नेपालले लाओसविरुद्ध प्रारम्भिक चरणमा एक खेल जितेको थियो भने एक खेल बराबरी खेलेको थियो । त्यसयता विश्वकप छनोटको दोस्रो चरणमा नेपालले खेलेको सबै ५ खेलमा पराजित भएको छ ।

प्रारम्भिक चरणमा नेपालले लाओसलाई दुई लेगको खेलमा २-१ ले पराजित गरेको थियो । घरेलु मैदान १-१ को बराबरी खेलेको नेपालले अवे मैदानमा लाओसलाई १-० ले पराजित गरेको थियो ।

यस्तै विश्वकप छनोटको दोस्रो चरणमा भने नेपाल जितविहीन छ । युएईसँग दुवै खेलमा समान ४-० ले पराजित भएको नेपाल बहराइनसँग ५-० र ३-० ले पराजित भएको थियो । यस्तै घरेलु मैदानमा भएको यमन विरुद्धको खेलमा पनि नेपाल २-० ले पराजित भएको थियो ।

यस बाहेक एनेसको प्रशिक्षणमा नेपालले केही मैत्रीपूर्ण खेल पनि खेलेको थियो । जसमा साफ च्याम्पियनसिप अघि खेलिएको फिलिपिन्ससँग मैत्रीपूर्ण खेलमा नेपाल १-० ले पराजित भएको थियो ।

साफ च्याम्पियनसिपपछि नेपालले सिधै सेप्टेम्बरमा म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा पहिलो खेल बराबरी खेलेको नेपाल दोस्रो खेलमा पराजित भयो ।

यस्तै नेपालले मलेसिया र इंग्ल्याण्ड सी सँग अनअफिसियल खेल खेलेको थियो । तर दुवैमा नेपाल पराजित भएको थियो ।

एनेसको प्रशिक्षणमा नेपालले थ्री नेशन्स कपमा ३ खेल, साफ च्याम्पियनसिपमा ३ खेल, विश्वकप छनोटमा ७ खेल तथा ३ मैत्रीपूर्ण गरी कूल १६ खेल खेलेको छ । जसमा नेपालले जम्मा ४ खेल मात्र जितेको छ । यस्तै ३ खेल बराबरी खेल्दा १० खेलमा पराजित भएको छ ।

अखिल नेपाल फुटबल संघ भिन्सेन्जो अल्बर्टो एनेस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय