+
+

एक महिनादेखि प्रहरी अस्पताल प्रमुखविहीन, एआईजीको दौडमा ३ प्रतिस्पर्धी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते १०:२१

१२ भदौ, काठमाडौं । नेपाल प्रहरी अस्पताल एक महिनादेखि प्रमुखविहीन छ । १० साउनमा प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर तथा प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) आशा सिंह अवकाशमा गएकी थिइन् ।

१४ पुस २०७६ मा अस्पताल प्रमुख बनेकी सिंह साढे चार वर्ष जिम्मेवारी सम्हालेपछि ५८ वर्षे उमेर हदका कारण अवकाशमा गएकी थिइन् । उनी अवकाशमा गएपछि निमित्त प्रमुखको जिम्मेवारी डा. सुन्दरप्रसाद ह्योजुले पाएका छन् ।

प्रमुखविहीन भएको एक महिना बित्दासम्म सरकारले एआईजी बढुवाको तयारी गरेको छैन । प्रहरी बढुवाका लागि गृह मन्त्रालयका सचिवको संयोजकत्वमा समिति रहेको छ । समितिमा गृहसचिवका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक (आईजी) सदस्य सचिव रहने व्यवस्था छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रहरी बढुवाका लागि छुट्टै समिति हुने भएकाले आफू यसबारे जानकार नभएको प्रतिक्रिया दिए ।

उक्त समितिले अस्पताल प्रमुखविहीन भएको एक महिना बितिसक्दा समेत कसैलाई पनि बढुवाका लागि सफारिस गरेको छैन । साउनदेखि असोजसम्म कार्य सम्पादन मूल्यांकन (कासमू) फारम भर्ने समय भएकाले बढुवा नगरिएको दाबी प्रहरी प्रधान कार्यालयको छ ।

प्रहरीमा हरेक वर्ष ६ साउनदेखि २२ असोजसम्म कासमू भर्ने चलन छ । यो समयमा कासमू भर्ने र त्यसवापत कसले कति अंक पायो भनेर संकलन गर्ने गरिन्छ । यसैलाई कारण देखाउँदै बढुवाको प्रक्रिया अघि नबढाइएको दाबी प्रहरी प्रधान कार्यालयको छ । यो दाबी अनुसार बढुवा नहुने हो भने अझै साढे तीन महिना प्रहरी अस्पताल निमित्तको भरमा चल्नेछ ।

तर यही बीचमा यही बढुवा समितिको सिफारिसमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) रामदत्त जोशीलाई एआईजीमा बढुवा गरिएको छ । २२ साउनको मन्त्रिपरिषद् निर्णय अनुसार जोशीलाई एआईजीमा बढुवा गरिएको थियो ।

कासमूलाई कारण देखाए पनि अहिलेको बढुवा रोकिनुको मुख्य कारण भने कसलाई एआईजी बनाउने भन्नेमा सहमति हुन नसकेको प्रहरी स्रोत बताउँछ ।

अस्पताल प्रमुख बन्न ३ डीआईजीको प्रतिस्पर्धा

प्रहरी अस्पताल प्रमुख बन्न अहिले तीन जना डीआईजी प्रतिस्पर्धामा छन् । जसमा एनेस्थेसिया विभाग प्रमुख डा. सुन्दरप्रसाद ह्योजु, जनरल सर्जरी विभागका प्रमुख डा. सञ्जयबिक्रम श्रेष्ठ र हाडजोर्नी विभागका प्रमुख डा. गोपेशकुमार ठाकुर प्रतिस्पर्धामा छन् ।

प्रतिस्पर्धामा रहेका तीनै जना २०५९ सालमा प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर) मा सेवा प्रवेश गरेका अधिकृतहरु हुन् । ह्योजु र ठाकुर प्राविधिकतर्फको १३ औं ब्याचका हुन् भने श्रेष्ठ १४ औं ब्याचका अधिकृत हुन् ।

सशस्त्र युद्धका कारण १४ औं ब्याच त्यसबेला उनीसँगैका ब्याचीले तालिम गर्न नमानी पछि परेका थिए र श्रेष्ठले १३ औं ब्याचसँग २०५९ सालमा तालिम गरेका थिए । ‘त्यसबेला आफ्नै ब्याचीहरु तालिम गर्न नमानी बसेको अवस्थामा मैले १३ औं ब्याचीसँगै तालिम गरेको हो । एसएसपीसम्म पनि सँगै बढुवा भएको हो’, श्रेष्ठले भने ।

जागिर प्रवेश गरेको करिब ४ वर्षमा उनीहरु प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा भएका थिए । त्यति बेला ह्योजु र ठाकुरसँगै डीएसपी बढुवा भएका थिए भने श्रेष्ठ छुटेका थिए । प्रहरी उपरीक्षक (एसपी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तीनै एउटै मितिमा सँगै बढुवा भएका थिए ।

डीआईजीमा भने ह्योजुको एकल बढुवा भएको थियो । डीआईजीको १ पद रिक्त भएकाले २०७६ मा उनको एकल बढुवा भएको थियो । त्यसको करिब डेढ वर्षपछि १८ पुस २०७८ मा श्रेष्ठ पहिलो नम्बरमा र ठाकुर दोस्रो नम्बरमा डीआईजी बढुवा भएका थिए ।

अस्पतालको बढुवामा उपेक्षा गरिएको गुनासो

विभिन्न कारण देखाउँदै बढुवा नगर्नुलाई सरकारले उपेक्षा गरेको गुनासो प्रहरी अस्पतालका अधिकारीहरुको छ ।

‘प्राविधिक पद भएकाले होला संगठनदेखि सरकारसम्मले प्राथमिकतामा राखेको देखिँदैन । बेलैमा बढुवा नहुँदा वृत्ति विकासमा पर्ने असरबारे सरकारले सचेत भएर सोचेको पाएका छैनौं’, अस्पतालका एक उच्च अधिकारीले भने ।

उनीहरुले गुनासो गरेजस्तै यसअघि पनि सरकारको प्राथमिकतामा नरहँदा दुई एसएसपी दरबन्दी डीआईजीको खाली हुँदाहुदै बढुवा नभई १३ असारमा अवकाशमा गएका थिए ।

एसएसपीको पदावधि ६ वर्षअनुसार प्रहरी अस्पतालका दुई एसएसपीहरु दीपक श्रेष्ठ र सुवास आचार्य त्यतिबेला अनिवार्य अवकाशमा गएका थिए । उनीहरु १२ असार २०७५ मा एसएसपीमा बढुवा भएका थिए ।

उनीहरुले ५० दिनदेखि डीआईजीको दरबन्दी खाली राखेर आफूहरुको बढुवा नगरी अन्याय गरेको आरोप लगाएका थिए । एसएसपी श्रेष्ठले नेपाल प्रहरी निजी कम्पनीजस्तो भएको आरोप लगाएका थिए ।

फेसबुकमा स्ट्याटस लेख्दै श्रेष्ठले पछिल्लो समय नेपाल प्रहरी ‘प्राइभेट कम्पनी लिमिटेड’मा परिणत भएको उल्लेख गरेका थिए । ‘अब प्रहरी महानिरीक्षकले होइन कि सीईओले नेतृत्व गर्ने भएछ’ श्रेष्ठको आरोप थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?