+
+

कांग्रेसमा सबैलाई मान्य हुने प्रस्तावको खोजी

लिलु डुम्रे लिलु डुम्रे
२०८१ भदौ ११ गते २०:१९

११ भदौ, काठमाडौं । चुनावी तालमेल, एक्जिट पोलिसी र महाधिवेशन कार्यतालिकाबारे सहमति जुटाउन सभापति शेरबहादुर देउवाले बोलाएको बैठक कुनै निर्णयमा पुग्न सकेन ।

तर शीर्ष तहका भएको छलफल सकारात्मक रहेको नेताहरुले बताएका छन् । त्यही कारण भोलि बुधबारका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक १६ गतेलाई सारिएको छ ।

फागुनमा भएको महासमिति बैठकमा पेश भएकाहरु प्रतिवेदनहरुलाई अन्तिम रुप दिन कांग्रेसले २३ साउनदेखि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको थियो । बैठकमा चुनावी तालमेल, एक्जिट पोलिसी र महाधिवेशन कार्यतालिकामा चर्को बहस भयो ।

महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल तोक्ने प्रस्ताव गरेका थिए । राष्ट्रपति एक कार्यकाल, प्रधानमन्त्री दुई, मन्त्री तीन र सांसद चारपटक भन्दा हुन नपाउने उनको प्रस्ताव छ ।

संस्थापन पक्षका नेताहरु महाधिवेशनको कार्यतालिका पास गर्न र चुनावी गठबन्धन नगर्ने निर्णय गर्न पनि तयार छैनन् । महाधिवेशनबारे विधानमै प्रष्ट लेखेकाले अहिले नै केन्द्रीय कार्यसमितिले निर्णय गर्न हतार गर्नु नपर्ने उनीहरुको तर्क छ ।

प्रदेशमा ‘मुख्यमन्त्री दुईपटक, मन्त्री तीन र प्रदेशसभा सदस्य चार पटकभन्दा बढी हुन नपाउने महामन्त्रीको प्रस्ताव छ । ‘कांग्रेसले यो पद्धति अनुशरण आफूले गर्नेछ र संवैधानिक बन्दोबस्तका लागि प्रस्ताव गर्नेछ’, उनले प्रतिवेदनमा लेखेका छन् ।

तर संस्थापन पक्षका नेताहरु खुलेर यसको विपक्षमा उभिए । सभापति देउवालाई प्रधानमन्त्री हुन नदिने नियतले ‘एक्जिट’ पोलिसी’को प्रस्ताव आएको उनीहरुको दाबी थियो ।

अर्का महामन्त्री गगनकुमार थापाले संगठनात्मक प्रस्तावमा २०८२ मंसिरभित्र १५औं महाधिवेशन गर्ने गरी कार्यतालिका प्रस्ताव गरेका छन् । साथै दुबै महामन्त्रीको प्रस्तावमा चुनावी गठबन्धन नगर्ने आशयसहितको प्रतिवद्धता छ ।

थापाको प्रतिवेदनमा भनिएको छ, ‘पार्टी संगठन र समर्थक–शुभेच्छुकको ताकत र आम जनताको विश्वासमा आगामी आवधिक सबै तहको निर्वाचनमा पार्टी एक्लै लडेर पार्टीलाई पुनः एकल बहुमत सहितको लोकप्रिय पार्टीको रूपमा स्थापित गर्नेछौं ।’

संस्थापन पक्षका नेताहरु महाधिवेशनको कार्यतालिका पास गर्न र चुनावी गठबन्धन नगर्ने निर्णय गर्न पनि तयार छैनन् । महाधिवेशनबारे विधानमै प्रष्ट लेखेकाले अहिले नै केन्द्रीय कार्यसमितिले निर्णय गर्न हतार गर्नु नपर्ने उनीहरुको तर्क छ । चुनावी गठबन्धन पनि रणनीतिक विषय भएकाले निर्णय गर्न आवश्यक नभएको बताएका छन् ।

केन्द्रीय कार्यसमितिमा संस्थापक्ष पक्षको बहुमत छ । संस्थापन पक्षका नेताहरुले तीन वटै विषय स्वीकार नगर्ने प्रष्ट संकेत गर्दा पनि महामन्त्रीद्वय थापा र शर्मा टसकामस भएनन् । त्यसैले महामन्त्रीद्वयले बोल्नु अगाडि नै देउवाले सहमति गर्न खोजेका हुन् ।

देउवाले आफ्नै मंगलबार विहन आफ्नै निवास बुढानीलकण्ठमा महामन्त्रीद्वय थापा र शर्मासँगै उपसभापतिहरु पूर्णबहादुर खड्का र धनराज गुरुङ र केन्द्रीय सदस्य रमेश लेखकलाई बोलाएका थिए । छलफल सकारात्मक नै रहेको नेताहरुले बताएका छन् । ‘छलफल सकारात्मक रहेकाले बाहिर धेरै नबोल्ने भन्ने भएको छ’, एक नेता भन्छन्, ‘सभापति पनि लचिलै हुनुहुन्छ । सबैका लागि मान्य हुने प्रस्ताव खोजी गर्छौं ।’

स्रोतका अनुसार महामन्त्री शर्मा एक्जिट पोलिसी परिमार्जन गर्न तयार छन् । तीन पटक मन्त्री र चार पटक संसद हुने पाउने प्रस्तावका कारण दोस्रो पुस्ताका धेरै नेताले विरोध गरेका छन् । त्यसलाई सम्बोधन गर्ने गरी संसदको विषय हटाउन शर्मा तयार भएका हुन् ।

त्यसका बाबजुद देउवा सहमत भइसकेका छैनन् । एक नेता भन्छन्, ‘तर आफू पाँच पटक प्रधानमन्त्री हुने, अरुलाई दुई पटक भनेर तोक्दा के भन्छन् भन्ने सभापतिलाई परेको छ ।’

चुनावी गठनबन्धनबारे पनि के गर्ने भन्नेमा अलमलमै देखिएका छन् । बैठकमा दुई महामन्त्रीले ‘माओवादीसँग गठबन्धन टुटेर एमालेसँग सत्ता सहकार्य गर्दा समेत चुनावी तालमेलको बाटो राखेर माओवादीसँग लहसिने कुरा हुँदैन’ भनेका थिए । महामन्त्री थापाले प्रतिवेदनमा आफ्नो तागतमा चुनाव लड्ने मात्र लेखिएको भन्दै प्रश्न गरेका थिए, ‘गठबन्धन भन्ने शब्द नै उक्त वाक्यांशमा नभएकाले के हटाउने ?’

महाधिवेशनबारे भने उनी प्रष्ट देखिन्छन् । एमालेसँग भएको सहमतिअनुसार देउवा २०८३ असारमा मात्र प्रधानमन्त्री बन्नेछन् ।

त्यसअगाडि पार्टी महाधिवेशन गर्दा आफ्नो प्रतिकुल नेतृत्व आउनसक्ने र प्रधानमन्त्री बन्ने बाटो नै रोकिनसक्ने उनको बुझाइ छ । अर्का एक पदाधिकारी भन्छन्, ‘आफू प्रधानमन्त्री भएपछि मात्र पार्टीको महाधिवेशन गर्नेमा उहाँ प्रष्ट हुनुहुन्छ ।’

यद्यपि बैठकमा सभापति देउवाले कुनै पनि विषयमा ‘हुँदै हुन्न’ भन्ने भावमा नदेखिएको नेताहरु बताउँछन् । कांग्रेसका एक नेताले भने,‘महामन्त्रीले ल्याएका प्रस्ताव फेल गराउँदा सन्देश राम्रो जाँदैन । परिमार्जित गर्नुपर्ने विषयमा छलफल गरेर टुंग्याउछौं ।’

देउवा पनि लचिलो नै भएकाले सबैले स्वीकार गर्ने प्रस्ताव बनाउन केन्द्रीय कार्यसमितिको बैठक १६ गतेका लागि सारिएको छ । नेताहरुबीच सघन छलफल भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए । तीन चरणमा छलफल गरेपछि मात्रै केन्द्रीय समितिको बैठक बस्ने नेताहरुमा मोटामोटी सहमति बनेको छ ।

स्रोतका अनुसार प्रतिवेदन प्रस्तुतकर्ता उपसभापति खड्का, महामन्त्री थापा र शर्माबीच भोलि छलफल हुनेछ । त्यसपछि बिहीबार पुनः आज जम्मा भएका नेताहरु बस्ने छन् । त्यसपछि वर्तमान र पूर्व पदाधिकारीमा सहमति जुटाएर केन्द्रीय कार्यसमितिमा जाने र तीनवटै प्रतिवेदन पारित गर्ने नेताहरुको तयारी छ ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?