+
+

लघुवित्तको कार्यालयमा आक्रमण र आगजनी, दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते २०:१६

११ भदौ,विराटनगर । मोरङमा शाखा कार्यालय रहेका दुई वटा लघुवित्तको कार्यालयमा आक्रमण र आगजनी भएको छ । अभियान लघुवित्त वित्तीय संस्थाको कानेपोखरी गाउँपालिका– २ दलेली र नेशनल लघुबित वित्तीय संस्थाको बेलबारी – ६ बाहुनीको शाखा कार्यालयमा आक्रमण, तोडफोड र आगजनी भएको हो ।

मोरङ प्रहरीका अनुसार मंगलबार दिउँसो साढे १२ बजे अभियान लघुवित्तको मोरङको कानेपोखरी गाउँपालिका–२ दलेलीमा रहेको शाखामा तोडफोड र आगजनी भएको हो । विहान साढे ११ बजे बेलबारी नगरपालिका– ७ स्थीत नेशनल लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयमा तोडफोड भएको हो । दुवै घटनाको जिम्मेवारी तथा वित्तीय संस्था विरुद्धको संघर्षसमिति संयोजक मणीराम ज्ञवालीले लिएका छन् ।

कानेपोखरी गाउँपालिका– २ का रामबहादुर लिम्बुसहित १०–१२ जनाको समूहले लघुवित्तको कम्प्युटर र कार्यालयको कागजात जलाएको प्रहरीले बताएको छ । कार्यालयमा रहेका काठको कुर्सी पनि तोडफोड भएको छ ।

प्रहरीले तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा कानेपोखरी २ का ६५ वर्षीय रामबहादुर लिम्बु र सोही स्थानकी ३५ वर्षीय कमला मगरलाई पक्राउ गरेको छ ।

त्यस्तै बेलबारी –६ का ५० वर्षीय माधव गिरीसहित ३०–३५ जनाको समुहले नेशनल लघुवित्त वित्तीय संस्थाको कार्यालयमा तोडफोड गरेको छ । गिरी लघुवित्तको ऋणी हुन् । गिरी सहितको समूहले कार्यालयको ल्यापटप र अन्य कागजात सुनसरी मोरङ सिचाई आयोजनाको नहरमा फालेको थियो ।

सो संस्थामा गिरीकी श्रीमती पवित्रादेवी र छोरी ऋणी हुन् । संस्थाबाट लिएको ऋण तिर्न नमानेका उनीहरुले ३०–३५ जनाको समूह ल्याएर तोडफोड गरि कागजात र ल्यापटप नहरमा फालेको माेरङ प्रहरी प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

संघर्ष समितिका संयोजक मणिराम ज्ञवालीले आज मात्रै लघुवित्तको विभिन्न २५ स्थानमा प्रदर्शन गरेको बताए । सरकारसँगको सहमति कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रिएको उनले बताए ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत २ चैतमा लघुवित्त पीडित संघर्ष समितिसँग ६ बुँदे सहमति गरेको थियो । सहमतिपछि संघर्ष समितिले सबै आन्दोलनको कार्यक्रम फिर्ता लिएको थियो । सरकार परिवर्तन भए लगतै संघर्ष समितिले आन्दोलन सुरु गरेको हो ।

सरकारसँगको सहमति कार्यान्वयन नभएपछि कडा संघर्षमा उत्रिएको ज्ञवालीले बताए । उनी माओवादी केन्द्रका नेता हुन् । ‘सरकारसँग सहमति भएको थियो, तर कार्यान्वयन भएन, त्यसैले कडा संघर्षमा उत्रिएका छौं,’ उनले भने,‘ साथीहरुले आक्रोशमा के के गर्नुभयो हामी बुझ्दैछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?