+
+

नेपालमा हेल्थ समिट २०२४ गर्दै स्वास्थ्य मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते २०:३८

११ भदौ, काठमाडौं । नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका लागि विदेशमा रहेका नेपालीको ज्ञान, सीप र दक्षता देशमा भित्र्याउन भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘नेपाल हेल्थ समिट २०२४’ आयोजना गर्ने निर्णय गरेको छ ।

उक्त सम्मेलनमा स्वदेश तथा विदेशमा रहेका स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली विज्ञहरूको सहभागिता रहने र सुझावहरू सङ्कलन गर्ने मन्त्रालयको तयारी रहेको छ । सम्मेलनमार्फत स्वास्थ्य सुधारका लागि निटक भविष्यमा समेत नीति निर्माण तथा योजना र आवश्यक कार्यक्रम बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास मन्त्रलायले लिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मङ्गलबार यससम्बन्धी निर्णय गरेका हुन् । गत साउन २७ गते उनले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा ‘नेपाल बाहिर विभिन्न देशमा विज्ञता र अनुभव हासिल गरिरहेका स्वास्थ्य जनशक्तिको सीप र दक्षतालाई नेपालको स्वास्थ्य सेवा प्रणालीसँग आबद्ध गर्न आवश्यक प्रबन्ध गरिने’ उल्लेख छ ।

विश्वभरका नेपाली चिकित्सक, अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व तथा नर्सहरूको सीप र दक्षतालाई देशको स्वास्थ्य सुधारमा उपयोग गर्न आवश्यक सुझाव लिनका लागि सम्मेलन गर्न लागिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । ‘समिटमा सहभागी नेपाली विज्ञबाट प्राप्त सुझावका आधारमा मन्त्रीज्यूको लक्ष्यअनुसार स्वास्थ्य क्षेत्रमा सुधारको कार्ययोजना तयार पारिनेछ,’ उनले भने ।

मन्त्रालयले यसका लागि आवश्यक तयारी गर्न डा. प्रकाश थपलियाको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठनसमेत गरेको छ । कार्यदलमा स्वास्थ्य विज्ञ डा. शम्भु आचार्यसँगै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सङ्क्रामक रोग विशेषज्ञ डा. जनक कोइराला तथा धुलिखेल अस्पतालका डा. विराज कर्माचार्यलाई सदस्य छन् ।

यसैगरी, विज्ञहरू डा रुना झा, डा अर्चना अमात्य, वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुङ्गाना र प्रमुख जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा र नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिलाई सदस्य तोकिएको छ । कार्यदलको सुझावका आधारमा मन्त्रालयले सम्मेलनको मिति तथा आवश्यक कार्यढाँचा तय गर्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?