+

दशौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुनेमा अन्योल

२०८१ भदौ  १२ गते ६:२८ २०८१ भदौ १२ गते ६:२८
दशौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुनेमा अन्योल

१२ भदौ, काठमाडौं । २ देखि ९ मंसिरमा कर्णालीको सुर्खेतमा हुने तय भएको १० औं राष्ट्रिय खेलकुद निर्धारित मितिमा हुनेमा अन्योल भएको छ । पूर्वतयारी सुस्त भएपछि प्रतियोगिता निर्धारित मितिमै हुनेमा शंका व्यक्त भएको हो ।

मंगलबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले तोकिएकै मितिमा खेल हुने वा नहुने अन्योल भएको भन्दै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसँग ग्यारेन्टी माग गरेको छ । तर मन्त्री चौधरीले तोकिएको समयमा प्रतियोगिता हुनेमा खेलाडीहरुलाई विश्वास दिलाउन सकेनन् ।

मन्त्रीसँगको भेटपछि संघका अध्यक्ष दीपक श्रेष्ठले भने, ‘हामीले १० औं खेलकुदको मिति तय गर्न भनेका थियौं । मन्त्रीज्यूले व्यवस्थापकीय हिसाबले निर्धारित मितिभन्दा केही पछि सर्ने बताउनुभएको छ ।’

कर्णाली प्रदेश खेलकुद परिषद सदस्य सचिव विश्वमित्र सञ्ज्याल भने निर्धारित मितिमा प्रतियोगिता गर्न सक्ने बताउँछन् । असोज मसान्तसम्म पूर्वाधार निर्माणको काम सक्ने भन्दै उनले भने, ‘पूर्वाधारको कारणले १० औं खेलकुदको मिति पछाडि सर्दैन ।’

पूर्वाधार निर्माणमा अझै एकदेखि डेढ महिना लाग्ने देखिन्छ । हाल राखेपको इन्जिनियरिङ टिम सुर्खेतमा नै रहेको छ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ४ भदौमा सुर्खेत गएर पूर्वाधार निर्माण र व्यवस्थापकीय पक्षबारे जानकारी लिएका थिए । उनले राखेपको इन्जिनियरिङ टिमलाई २० भदौभित्र पूर्वाधार र व्यवस्थापकीय पक्षबारे मूल्यांकन गरेर जानकारी दिन भनेका छन् ।

आवास व्यवस्थापनको चिन्ता

१० औं राष्ट्रिय खेलकुदको कार्यविधि हालसम्म बनेको छैन । खेलाडीको पोशाकको टेण्डरसमेत भएको छैन । ‘अझै १० देखि १५ दिन कार्यविधि पास हुन लाग्न सक्छ त्यसपछि खेलाडी पोशाकको टेण्डर कम्तीमा पनि एक/डेढ महिना लाग्छ । दशैं–तिहार बिदा पनि आयो । त्यसले गर्दा केही पछि सर्न सक्छ’, राखेपका एक अधिकारीले भने ।

त्यस्तै सुर्खेतमा खेलाडीहरुको आवास तथा बसाइ पनि चुनौतीपूर्ण रहेको अनुगमनका क्रममा मन्त्री चौधरीले बताएका थिए । ‘सुर्खेतमा बजार व्यवस्थापन र आवासको पनि समस्या हुन सक्छ भनेर मन्त्रीज्यू आफैंले भ्रमणको दौरान अनुभव गरेको बताउनुभएको थियो’, खेलाडी संघका अध्यक्ष श्रेष्ठले भने ।

पूर्वाधार बाहेकका पक्षमा भने आफूहरुले जिम्मा लिन नसक्ने कर्णाली खेलकुद विकास परिषदका सदस्य सचिव सञ्ज्याल बताउँछन् । ‘पूर्वाधारबाहेक अन्य समस्याहरु निकाल्ने भए त निस्कन्छन् । तर त्यसमा हामीलाई जिम्मेवारी छैन । हामी पूर्वाधारको कारण भने १० औं राष्ट्रिय खेलकुद सर्न दिँदैनौं’, उनले भने ।

दशौं राष्ट्रिय खेलकुद
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय