+

पेरिस पारालिम्पिक : पलेशा र भरतको प्रतिद्वन्द्वी तय

२०८१ भदौ  १२ गते ७:०९ २०८१ भदौ १२ गते ७:०९
पेरिस पारालिम्पिक : पलेशा र भरतको प्रतिद्वन्द्वी तय

१२ भदौ, काठमाडौं ।  पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत तेक्वान्डोमा सहभागी हुने नेपाली खेलाडी पलेशा गोबर्द्धन र भरतसिंह महताको प्रतिद्वन्द्वी मंगलबार टुंगो लागेको छ । मंगलबार निकालिएको ‘ड्र’ बाट दुवै खेलाडीको प्रतिद्वन्द्वी टुंगो लागेको प्रशिक्षक कविराज नेगी लामाले पेरिसबाट जानकारी गराए ।

पेरिसस्थित ग्रान्ड पेलेसमा अगष्ट २९ तारिखमा भरतले पहिलो चरणमा जापानका मित्सुया तानाकासँग खेल्ने छन् । उनको स्पर्धा के–४४ क्याटगोरी अन्तर्गत पुरुष ५८ केजी मुनि जम्मा १२ खेलाडी छन् । भरत वाइल्ड कार्ड मार्फत छनोट भएका हुन् ।

के–४४ क्याटगोरीकै महिला ५७ केजी मुनि पलेशाले भेनेन्जुएलाकी भलेरिया मोराल्स विरुद्ध अगष्ट ३० तारिखमा खेल्ने छिन् । यो स्पर्धामा ११ खेलाडी छन् ।

पहिलो चरणमै पराजित हुने खेलाडीलाई रिपाचेज खेल्ने अवसर मिल्ने छैन । पलेशा भने छनोट चरण पार गर्दै पेरिस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्न लागेकी हुन् ।

गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् । पलेशा १९ औं एसियाली खेलकुदकी पनि ऐतिहासिक कांस्य पदक विजेता हुन् ।

पदकको आशा गरिएकी पलेशासँग टोकियो पारालिम्पिक पनि खेलेको अनुभव छ । त्यस पारालिम्पिकमा पलेशा कांस्य भिडन्तमा चीनकी खेलाडीसँग चुकेकी थिइन् ।

नेपाली पारा तेक्वान्दो टोली इङल्यान्डको म्याचेस्टरमा १ महिनाको तयारी प्रशिक्षणपछि जुलाई २५ तारिखमा पेरिस पुगेको थियो । तेक्वान्दो टोलीको व्यवस्थापकमा नेपाल तेक्वान्दो संघ एवं नेपाल पारालिम्पिक कमिटीका सदस्य रामचन्द्र श्रेष्ठ रहेका छन् ।

पेरिस पारालिम्पिकमा पलेशा र भरतसहित पौडीका भीमबहादुर कुमालले पनि प्रतिस्पर्धा गर्दै छन् । उनले पुरुष ५० मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन् ।

नेपाली टोलीको सेफ दि मिसनमा पारालिम्पिक कमिटीका सदस्य सरोज श्रेष्ठ छन् । उद्घाटन समारोह बुधबार हुनेछ ।

पेरिस पारालिम्पिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय