+
+

हेटौंडाका दुई पुराना विद्यालय मर्ज गर्ने तयारी

भुटनदेवी मावि र आधुनिक राष्ट्रिय मावि एकीकृत गरी सञ्चालन गर्दा प्रशासनिक खर्च कम हुने, गुणस्तरीय शिक्षा दिन सकिने, सामुदायिक विद्यालयप्रतिको विश्वसनीयता बढ्ने र हेटौंडालाई शैक्षिक हबको रुपमा विकास गर्न सकिने विश्वास छ ।

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८१ भदौ १२ गते ८:५३

१२ भदौ, हेटौंडा । हेटौंडाका दुई पुराना र ठूला सामुदायिक विद्यालयलाई एकीकृत (मर्ज) गरी सञ्चालन गर्ने गृहकार्य अघि बढेको छ ।

शिक्षा मन्त्रालयले ‘बिग स्कूल’ को अवधारणामा छलफल चलाउन थालेपछि हेटौंडाका दुई ठूला भुटनदेवी मावि (प्राविधिक शिक्षालय) र आधुनिक राष्ट्रिय मावि एकीकृत गर्ने विषयमा छलफल सुरु भएको हो ।

यी दुवै विद्यालय हेटौंडाको ४ नम्बर वडामा सँगै जोडिएको अवस्थामा छन् । बजारको मध्यभागमा रहेका दुवै विद्यालयलाई एउटा पर्खालले मात्रै छेकेको छ । यी दुई विद्यालयसँगै सामुदायिक शैक्षिक संस्था हेटौंडा क्याम्पस छ ।

हेटौंडा उपमहानगरपालिका–४ का वडाअध्यक्ष नवीन सिग्देलले दुई विद्यालय एकीकृत गरी ‘मेघा विद्यालय’ बनाउने अवधारणा अगाडि बढाइएको बताए । उनी भुटनदेबी मावि व्यवस्थापन समितिका अध्यक्षसमेत हुन् ।

‘आधुनिक र भुटनदेवी एकीकृत गरी ‘मेघा विद्यालय’ को अवधारणामा सञ्चालन गर्ने विषयमा सरोकारवाला क्षेत्रमा छलफल अगाडि बढिसकेको छ,’ उनले भने ।

आधुनिकमा करिब २८ सय बालबालिका र भुटनदेवी माविमा २२ सय बालबालिका अध्ययनरत छन् । भुटनदेवीमा प्राविधिक धारका विषयमा पनि अध्यापन गराइन्छ । दुबै विद्यालय एकीकृत गर्दा अहिले नै ५ हजार विद्यार्थी हुनेछन् । नेपालको सबैभन्दा ठूलो मानिएको बुटवलको कालिका माविमा करिब ८ हजार विद्यार्थी रहेका बताइन्छ ।

आधुनिक विद्यालय विगत १५ वर्षदेखि देशभरका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरुमध्ये एक हो । त्यसैले यहाँ विद्यार्थीहरुको चाप पनि धेरै छ । ‘हामीले हरेक वर्ष प्रवेश परीक्षा दिएका एक हजार पाँचसय विद्यार्थीलाई भर्ना लिन सकेका छैनौं’ आधुनिकका प्रधानाध्यापक रामसागर गुरागाईंले भने, ‘पर्याप्त कक्षाकोठा र जनशक्ति भएको अवस्थामा चार हजारदेखि ४५ सय विद्यार्थी यही विद्यालयमा हुने थिए ।’

भुटनदेवी र आधुनिक एकीकृत गरी मेघा विद्यालय सञ्चालन गर्ने विषयमा छलफल अगाडि बढेको प्रअ गुरागाईंले बताए । दुबै विद्यालय एकीकृत गरी राम्रोसँग व्यवस्थापन गर्नसके बुटवलको कालिका माविमा भन्दा धेरै विद्यार्थी हुने उनको अनुमान छ ।

२०१६ सालमा स्थापना भएको भुटनदेबी मावि हेटौंडा नगरकै पहिलो विद्यालय हो । यहाँ पनि विद्यार्थीहरुको चाप छ । भुटनदेबी माविका प्रअ माधवप्रसाद दाहाल हरेक वर्षको प्राविधिक धारसहितको प्रवेश परीक्षामा करिब एक हजार विद्यार्थीलाई भर्ना लिन नसकेको अवस्था रहेको बताउँछन् ।

यो विद्यालयमा इन्जिनियरिङतर्फ कक्षा ९–१२ मा करिव २ सय जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।

केही दिनअघि जिल्ला समन्वय समितिका अध्यक्ष ललितकुमार घलान, शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख सुदीप गिरी, शाखा अधिकृत उन्नति ढकालसँग आधुनिक माविमा बिग स्कूलको अवधारणाका बारेमा अनौपचारिक छलफल भएको थियो । केही दिनभित्रै मर्जबारे निर्णय गर्न दुबै विद्यालय व्यवस्थापन समितिको अलग–अलग र पछि संयुक्त बैठक बस्ने गरी तयारी गरिएको वडाअध्यक्ष सिग्देलले जानकारी दिए । हेटौंडा प्रदेशको राजधानी पनि भएका कारण मेघा विद्यालय सञ्चालन गरी हेटौंडालाई शैक्षिक हब बनाउने गरी अगाडि बढ्न खोजेको सिग्देल बताउँछन् ।

चित्लाङमा सञ्चालनमा आएको मदन भण्डारी प्राविधिक विश्वविद्यालय र प्रदेश सरकारले मकवानपुर बहुमुखी क्याम्पसलाई प्रादेशिक विश्वविद्यालय बनाउन गरिरहेको गृहकार्यलाई पनि मेघा विद्यालय सञ्चालनले सहयोग पुग्ने अपेक्षा छ ।

हेटौंडा स्कूल अफ म्यानेजमेन्ट, हेटौंडा क्याम्पस, मकवानपुर बहुमुखी क्याम्पस, त्रिविअन्तर्गतको वनविज्ञान अध्ययन संस्थान, नारायणी कलेज, शहीद आकाश मेमोरियल कलेज, एएफयू अन्तर्गतको कृषि तथा वनविज्ञान क्याम्पसले हेटौंडामा उच्चशिक्षा अध्यापन गराइरहेका छन् ।

वडाअध्यक्ष सिग्देल लगायत जनप्रतिनिधि, आधुनिक मावि र भुटनदेबी मावि व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक अभिभावक संघका प्रतिनिधिलगायत टोली केही दिनभित्रै बुटवलको कालिका माविको अवलोकनमा जाने तयारी समेत भएको छ ।

दुई वा दुई भन्दा बढी विद्यालय एकीकृत गरी मेघा विद्यालय सञ्चालन गर्दा प्रशासनिक खर्च कम हुने, गुणस्तरीय शिक्षा दिन सकिने, सामुदायिक विद्यालयप्रतिको विश्वसनीयता  बढ्ने, हेटौंडालाई शैक्षिक हबको रुपमा विकास गर्न सकिने वडाअध्यक्ष सिग्देल बताउँछन् ।

उनी भन्छन्, ‘स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरेर मेघा विद्यालय सञ्चालनका लागि अगाडि बढ्नेछौं ।’

आधुनिक मावि व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद समिम मेघा विद्यालय सञ्चालन गर्दा आउनसक्ने चुनौतीका बारेमा पनि अध्ययन गर्नुपर्ने धारणा राख्छन् ।

 

लेखकको बारेमा
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?