+
+

चितवन राष्ट्रिय निकुञ्जमा यसै वर्ष अनलाइन टिकेटिङको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते ११:३३
Photo Credit : Third Eye Traveller
हाल चितवन राष्ट्रिय निकुञ्जका विभिन्न ७ वटा पोष्टहरुबाट कर्मचारीहरुले हातले टिकट काट्दै आएका छन् ।

१२ भदौ, चितवन । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणालीमा जाने भएको छ । त्यसका लागि सफ्टवेयर जडान तथा जनशक्तिलाई तालिम दिने तयारी गरिएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले सफ्टवेयर जडान गर्ने सामग्रीहरु आइसकेको र तालिमका लागि जनशक्ति तयार गर्ने तयारी थालिएको जानकारी दिए ।

निकुञ्ज विभागले नै ईसेवासँग निकुञ्ज घुम्न आउने पर्यटकहरूलाई अनलाइन टिकट प्रणालीमार्फत भुक्तानी दिन मिल्ने व्यवस्था गर्न सम्झौता गरेको छ । विभागका उपमहानिर्देशक वेदकुमार ढकालले अहिले पाइलट प्रोजेक्टका रूपमा निकुञ्जका सौराहा पोष्टबाट अनलाइन टिकट र भुक्तानीको व्यवस्था मिलाउन लागिएको बताए ।

हाल निकुञ्जका विभिन्न ७ वटा पोष्टहरुबाट कर्मचारीहरुले हस्तलिखित टिकट काट्दै आएका छन् । सौराहा, कसरा, घटगाई, मेघौली, बनकट्टा माडी, कुजौली नवलपरासी र अमलटारीबाट पर्यटकहरूलाई निकुञ्ज प्रवेश गर्न दिइन्छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले निकुञ्ज प्रवेश गर्ने आन्तरिक तथा बाह्य पर्यटक मध्ये सबैभन्दा धेरै झण्डै ८० प्रतिशतभन्दाा बढी पर्यटक सौराहाबाट नै आउने भएकाले सौराहालाई केन्द्रित गरेर अनलाइन भुक्तानी प्रणाली जडान गर्न लागिएको जानकारी दिए ।

धेरैजसो सरकारी कार्यालयहरुले अनलाइन भुक्तानी प्रणाली सफलतापूर्वक कार्यान्वयन गर्दा चितवन राष्ट्रिय निकुञ्जले भनेर पुरानै ढर्राबाट टिकट काटेर राजश्व उठाउँदै आएको भन्दै आलोचना हुने गरेको छ । निकुञ्ज भित्र भ्रमण गर्दा काटिने टिकटका लागि भने नगद नै बोक्नुपर्ने र टिकट काट्न बिहानैदेखि लाइनमै बस्नुपर्ने बाध्यता छ ।

चितवन राष्ट्रिय निकुञ्ज अनलाइन टिकेटिङ्ग सिस्टममा नजाँदा निकुञ्ज प्रवेश गर्ने पर्यटक र होटल व्यवसायीहरूले दुःख र झन्झट झेल्दै आएका छन् । अब भने केही सहज हुने विश्वास लिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुनले जानकारी दिए ।

सौराहा पोष्टमा अनलाइनबाट टिकट काट्ने व्यवस्था गर्दा सौराहाबाट निकुञ्ज जाने पर्यटकलाई धेरै सहज हुने पार्क सफारी होटलका सञ्चालक महेश खनालले बताए । उनले थोरै भए पनि होटल तथा पर्यटन व्यवसायीहरूलाई राहात मिल्ने बताए । अहिले दैनिक एक जना कर्मचारी लाइनमा बस्न र टिकट काट्नका लागि नै परिचालन गर्नुपरेको क्षेत्रीय होटल संघ सौराहाका सचिवसमेत रहेका खनालले बताए । पर्यटक बढी हुने सिजनमा टिकट लिन भनेर बिहान ४ बजे नै लाइनमा गएर बस्नुपर्ने बाध्यता छ।

चितवन राष्ट्रिय निकुञ्जमा टिकट काट्नेहरुको भिड

कतिपय होटलहरूले पर्यटकको टिकट काट्दा टिकट काउन्टरका कर्मचारीहरूले खुद्रा रकम नभएको भन्दै फिर्ता नदिने गरेकोसमेत गुनासो गर्दै आएका थिए । अब भने यस्ता समस्याहरु स्वतः समाधान हुने अपेक्षा होटल व्यवसायीहरुले गरेको खनालले बताए ।

सौराहाबाट टिकट काट्न दैनिक ६ जना निकुञ्जको जनशक्ति परिचालन गर्ने गरिएकोमा अनलाइन टिकट हुने बित्तिकै २ जनालाई खटाए पुग्ने प्रमुख संरक्षण अधिकृत पुनले बताए ।

निकुञ्ज विभागबाट छाप लगाएर आएको टिकटमात्रै काट्ने गरी अहिले १४ जना जनशक्ति परिचालन गर्ने गरिएको छ । त्यहाँ काम गरिरहेको जनशक्तिलाई अन्य ठाउँमा परिचालन गर्न सकिने उनले बताए ।

अहिले सबै निकुञ्जका टिकट काट्ने पोइन्टहरुमा अनलाइन प्रणाली जडान गर्न नसके पनि सौराहाबाट सुरु गरेर थालनी गरिने प्रमुख संरक्षण अधिकृत पुनले बताए । ‘यो सबैतिर एकैपटक त हुँदैन, विस्तारै सबैतिर गर्ने भन्ने नै हाम्रो योजना हो, सौराहामा बढी पर्यटकको चाप हुने भएकाले दुईवटा सिष्टम नै यहीँ जडान गर्ने तयारीमा छौं’ प्रमुख संरक्षण अधिकृत पुनले भने, ‘पर्यटकीय सिजन सुरु हुँदा पर्यटकहरूले अनलाइनबाट टिकट पाउनुहुन्छ ।’

उनले अनलाइन टिकट काट्दा पर्यटकले पाउने जेजे सुविधा हुन्छन् ती सबै फिचरहरु राख्न भनिएको बताए ।

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी

बर्खा लागेसँगै निकुञ्जमा जिप सफारी गत असार १६ गतेदेखि रोकिएको छ । बर्खा कम भएर निकुञ्जमा बनेका पर्यटकीय रुटका बाटोहरू सफा गर्ने र मर्मत गर्ने काम सकेपछि मात्रै जिप सफारी खुला गरिने निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिए । अहिले निकुञ्जमा जंगलवाक मात्रै गराउने गरिन्छ ।

घुम्न आउने पर्यटकहरुलाई विभिन्न मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनहरुमा जिप तथा हात्तीबाट घुमाउने गरिएको छ ।

निकुञ्जले नेपालीसँग १५०, सार्क मुलुकका पर्यटकसँग १ हजार र तेस्रो मुलुकका पर्यटकसँग २ हजार रूपैयाँ शुल्क लिने गर्दछ । प्रति जिपको एकपटक गएको ५ हजार लिने गरिन्छ ।

निकुञ्जले सौराहा क्षेत्रबाट ३२, कसराबाट २०, मेघौलीबाट ९, माडीबाट १, कुजौलीबाट २ र अमलटारीबाट ६ वटा जिपलाई निकुञ्जमा पर्यटक लैजान अनुमति दिएको छ । एउटा जिप दिनमा दुई पटकसम्म मात्रै निकुञ्ज प्रवेश गर्न पाउँछ । निकुञ्जमा दैनिक ६० वटा जिपले पर्यटकलाई घुमाउन लैजान पाउँछन् । बिहान ३० र दिउँसो ३० वटा जिपलाई मात्रै निकुञ्ज घुम्ने अनुमति दिने गरिएको छ ।

अनलाइन टिकटमा जाँदा निकुञ्जको सूचना विश्वभर पुग्ने, पर्यटकको बसाइ लम्बाउन सहज हुने, अझै बढी प्रचारप्रसार हुने, निकुञ्जमा भ्रमण गर्ने हरेक पर्यटकको तथ्यांक उपलब्ध हुने, जहाँ बसेर पनि काट्न सकिने, निकुञ्जमा हुने भिडभाड कम हुने र समय मिलाउन सहज हुने निकुञ्जका एक पूर्व संरक्षण अधिकृतले बताए ।

निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा निकुञ्जले ३६ करोड ७२ लाख ९२ हजार ८०२ रूपैयाँ राजश्व संकलन गरेको छ । निकुञ्जले उपलब्ध गराएको तथ्यांककाअनुसार गत आर्थिक वर्ष ३ लाख ६ हजार ८३७ पर्यटकले अवलोकन भ्रमण गरेका छन् ।

निकुञ्जमा गत वर्षभन्दा अघिल्लो आर्थिक वर्षमा भन्दा करिब ७ हजार ४२५ पर्यटक बढी आएका छन् । निकुञ्जमा गत वर्ष १ लाख ७६ हजार ३१६ नेपाली, सार्क देशका ३६ हजार ४७१ र सार्क बाहेक ९४ हजार ५० जना विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । र

राष्ट्रिय निकुञ्जहरूले अनलाइन टिकट सुरु गरेपछि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनहरू समेत त्यसमा जान बाध्य हुने विश्वास छ । हाल देशभर १२ वटा निकुञ्ज, १ आरक्ष, १ शिकार आरक्ष र ६ वटा संरक्षण क्षेत्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?