+
+

यौन उत्पीडनको मुद्दाले मलयालम फिल्म उद्योगमा हलचल

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते ११:४४

काठमाडौं । यौन उत्पीडनको मुद्दाले भारतको मलायमल फिल्म उद्योगमा हलचल मच्चिएको छ । महिला अभिनेत्री तथा फिल्मकर्मीले कार्यक्षेत्रमा यौनहिंसाको सिकार भएको भन्दै खुल्न थालेपछि ठूला स्टार पनि विवादमा तानिएका छन् ।

चर्चित अभिनेता तथा कलाकार संघ एमएमएका अध्यक्ष मोहनलालले पदबाट राजीनामा दिएका छन् । अभिनेता र उनको कार्यकारिणी सदस्यले पदबाट राजीनामा दिएको स्थानीय टिभी च्यानलले जनाएको छ ।

मोहनलालले केरलाका मुख्यमन्त्रीलाई आफ्नो निर्णयबारे जानकारी गराएका छन् । संघमा कलाकारमाथि यौन दुर्व्यवहारको गम्भीर आरोप लागेपछि उनको राजीनामा आएको हो ।

मोहनलाल नेतृत्वको मलयालम चलचित्र कलाकार संघका १७ कार्यकारिणी सदस्यले सामूहिक राजीनामा दिएका छन् ।

सन् २०१७ मा अभिनेत्री उत्पीडन प्रकरणपछि केरला सरकारले गठन गरेको न्यायाधीश हेमा समितिको प्रतिवेदन सार्वजनिक भएपछि हंगामा मच्चिएको हो । प्रतिवेदनले मलयालम फिल्म उद्योगमा महिला उत्पीडन र शोषणका घटनाको खुलासा गरेको छ । यसपछि आइतबार फिल्म उद्योगबाट दुई जनाले राजीनामा दिएका थिए ।

निर्देशक रञ्जित केरला फिल्म एकेडेमीको अध्यक्ष र अभिनेता सिद्दिकी एएमएएमएको अध्यक्ष थिए । गत शनिबार श्रीलेखा मित्राले रन्जीतले वर्षौंअघिको स्क्रिप्टमा छलफल गर्दा आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । एफआईआर दर्ता गरेपछि प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ । ठोस प्रमाण फेला परे रञ्जित पक्राउ पर्न सक्छन् ।

श्रीलेखाले भनिन्, ‘रञ्जित मलयालम फिल्म उद्योगका ठूलो नाम र राष्ट्रिय पुरस्कार विजेता निर्देशक हुन् । म आगामी फिल्म प्रोजेक्टको बारेमा छलफल गर्न उनको घर गको थिएँ । तर मलाई उनको व्यवहार मन परेन । स्क्रिप्टको बारेमा छलफल गर्दा मलाई असहज महसुस भयो ।’ दुर्व्यवहारपछि आफू फिल्मको हिस्सा बन्न अस्वीकार गर्दै कोलकाता फर्किएको अभिनेत्री श्रीलेखाले बताएकी छन् ।

निर्देशक तुलसीदासमाथि अभिनेत्री श्रीदेविका र गीता विजयनले लगाए आरोप

वरिष्ठ फिल्म निर्माता तुलसीदासमाथि अभिनेत्री श्रीदेविकाले आरोप लगाएकी छन् । उनले तुलसीदासले आफ्नो फिल्म ‘आवान चण्डियुदे माकन’ (२००७) मा काम गर्दा दुर्व्यवहार गरेको दाबी गरेकी छन् । यस फिल्ममा उनीसँगै पृथ्वीराज सुकुमारन थिए । यो घटना सन् २००६ मा फिल्मको सुटिङ चलिरहेको बेला भएको अभिनेत्रीको दाबी छ ।

श्रीदेविकाले भनिन्, ‘अवान चण्डियुडे माकनको सुटिङका क्रममा तुलसीदासले मेरो होटलको कोठाको ढोका ढकढकाउने गर्थे धेरै दिनसम्म । मैले होटलको रिसेप्सनिस्टलाई पनि सोधें, जसले तुलसीदास हो भनेर पुष्टि गर्‍यो ।’

अभिनेत्री गीता विजयनले पनि तुलसीदाससँगको आफ्नो पीडादायी अनुभव सुनाएकी छिन् । आफूले पनि यस्तै उत्पीडनको सामना गर्नुपरेको र यसविरुद्ध आवाज उठाउँदा धेरै फिल्मबाट निकालिएको उनले बताइन् ।

गीताले सन् १९९१ मा आएको फिल्म ‘छनछट्टम’को सुटिङका क्रममा तुलसीदासले लगातार दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । तर तुलसीदासले यी आरोप अस्वीकार गरेका छन् । ‘छनछट्टम’ को सुटिङका क्रममा आफू कहिल्यै गीताको ढोकामा नगएको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?