+
+

आइफोन आउनुअघि एप्पलमा महत्वपूर्ण परिवर्तन, यी वरिष्ठ अधिकारीले छाड्दैछन् पद

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते १२:१४

एप्पलले आगामी सेप्टेम्बर ९ मा एक विशेष समारोहको आयोजना गर्ने घोषणा सोमबार गरेको छ । योसँगै आइफोनको नयाँ संस्करण आइफोन १६ सिरिज सेप्टेम्बर ९ मै लञ्च हुने अनुमान गरिएको छ ।

प्रविधि जगतमा सेप्टेम्बर ९ को व्यग्र प्रतिक्षा भइरहेको बेला एप्पलले अर्को एउटा महत्वपूर्ण जानकारी दिएको छ । जसअनुसार एप्पल कम्पनीमा व्यापक स्तरमा परिवर्तन हुँदैछ ।

कम्पनीका अनुसार सेप्टेम्बर ९ को समारोह अगाडि नै प्रमुख वित्तीय अधिकृत लुका मेस्ट्रीले पदबाट राजीनामा दिनेछन् । उक्त पदमा भारतीय मूलका केभान पारेख आउने बताइएको छ ।

सिएफओ लुकाले आगामी वर्ष सन् २०२५ को सुरुवातबाट चाहिं कम्पनीको कर्पोरेट टिम प्रमुखको भूमिका सम्हाल्ने बताइएको छ ।

कम्पनीका अनुसार उनले एप्पलको सूचना प्रणाली तथा प्रविधि, सूचना सुरक्षा तथा रियलस्टेट तथा डेभलपमेन्ट क्षेत्रको नेतृत्व सम्हाल्नेछन् ।

लुका मेस्ट्री सन् २०१३ देखि एप्पल कम्पनीमा प्रवेश गरेका थिए । त्यसअघि उनी जेरक्समा प्रमुख वित्तीय अधिकृत थिए । एप्पल प्रवेश पश्चात् उनले तत्कालीन सिएफओ पिटर ओपनहाइमरलाई प्रतिस्थापन गरे ।

उनले एप्पलको प्रमुख वित्तीय अधिकृतको जिम्मेवारी सम्हाल्ने बेलामा एप्पलको वार्षिक आम्दानी १८३ अर्ब डलर थियो, जुन हाल ३८३ अर्ब डलर पुगेको छ ।

लुकाको ठाउँमा कम्पनीको प्रमुख वित्तीय अधिकृत बन्ने केभान हाल एप्पलको वित्तीय योजना तथा विश्लेषण विभागका उपाध्यक्ष हुन् । उनी विगत ११ वर्षदेखि कम्पनीमा कार्यरत छन् । त्यसअघि उनी रोयटर्स तथा जनरल मोटर्स लगायतक कम्पनीमा उच्च तहमा कार्यरत थिए ।

स्मरण रहोस् सेप्टेम्बर ९ मा हुने समारोहमा एप्पलले आइफोन १६ सिरिजसँगै नयाँ एप्पल वाच र एयरपड्स पनि सार्वजनिक गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?