+
+

यो हो विश्वकै पुरानो निर्माण कम्पनी, १५ सय वर्षदेखि निरन्तर सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते १२:४०

काठमाडौं । विश्वमा हरेक दिन हजारौं कम्पनीहरू स्थापना तथा खारेज हुन्छन्, जसमा धेरै कम्पनीहरू त केवल केही वर्षहरू वा सायद केही महिना मात्रै पनि सञ्चालन हुन सकेका हुन्छन् ।

विश्वका सबैभन्दा मूल्यवान कम्पनीहरू त केवल केही दशकदेखि मात्र अस्तित्वमा छन् । अहिले प्रविधिको विकाससँगै व्यापार परिदृश्य तीव्र गतिमा परिवर्तन भइरहेको छ । त्यसैले अहिले सर्वाधिक मूल्यवान भनिएका ती कम्पनीहरु भविष्यमा कति समयसम्म रहन्छन् भन्ने कसैलाई थाहा छैन ।

अहिले विश्वमा केवल केही हजार कम्पनीहरू मात्र अस्तित्वमा छन् जसको उमेर २०० वर्षभन्दा बढी भएको छ । अझ निर्माण क्षेत्रसँग सम्बन्धित पुराना कम्पनीहरु त निकै कम छन् । यसमध्ये हालसम्मै निरन्तर सञ्चालनमा रहेको विश्वको सबैभन्दा पुरानो निर्माण कम्पनी चाहिँ जापानको कोंगो गुमी हो ।

यो जापानी निर्माण कम्पनी छैटौँ शताब्दीमा स्थापित कम्पनी हो । कोंगो गुमी कम्पनी बौद्ध मन्दिर निर्माणमा विशेषज्ञता भएका एक कोरियाली काष्ठकला निर्माता द्वारा स्थापना गरिएको थियो । यो कम्पनी पछिल्लो १४४६ वर्षदेखि निरन्तर सञ्चालनमा छ ।

कोंगो गुमीको इतिहास जापानको ओसाकामा रहेको पहिलो बौद्ध मन्दिर, शितेन नो–जीसँग जोडिएको छ । छैटौँ शताब्दीको अन्त्यतिर, बौद्ध धर्म जापानभरि तीव्र गतिसँग फैलिँदै थियो ।

यद्यपि एशियाली प्रायद्वीपमा चाहिँ प्रायः ताओ धर्म प्रचलनमा थियो तर जापानको राज परिवार भने नयाँ बौद्धधर्मको सामूहिक अबलम्बनमा प्रत्यक्ष संलग्न थिए । बौद्ध मन्दिर बनाउनु उक्त लक्ष्यतर्फको एक महत्वपूर्ण कदम थियो । तथापि त्यसबेला जापानमा बौद्ध मन्दिर वास्तुकलाका लागि नाम चलेका कालिगढहरु थिएनन् । त्यसैले कोरियाली प्रायद्वीपको बैक्जे साम्राज्यबाट तीन जना मियादाइका (बौद्ध मन्दिर कालीगढहरु) जापान बोलाइयो ।

जापानको पहिलो बौद्ध मन्दिरको रुपमा रहेको शितेननो–जी निर्माणका लागि कोरियाबाट निम्त्याइएका तीनजना कालिगढमध्येका एकजना  कोंगो शिकोले सन् ५७८ मा कोंगो गुमी निर्माण कम्पनीको स्थापना गरेका थिए ।

यस सम्बन्धी आधिकारिक इतिहासको विवरण शितेननो–जी मन्दिरमा रहेको निहोन शोकी (जापानको इतिहास) मा पाइन्छ । त्यसैले कोंगो गुमीलाई नै जापानको सबैभन्दा पुरानो निरन्तर सञ्चालनमा रहेको कम्पनीको रूपमा आधिकारिक रूपमा मानिन्छ ।

सन् ५९३ मा शितेननो–जीको निर्माण कार्य सम्पन्न गरेपछि सो कम्पनी करिब एक सहस्राब्दीभरि जापानभर बौद्ध मन्दिरहरुकोे निर्माण र पुनर्निर्माणमा सक्रिय रूपमा संलग्न रह्यो । शितेननो–जी मन्दिरले कम्पनीको सफलतामा ठूलो भूमिका खेलेको थियो, तर यो यति धेरै लामो अवधिसम्म आफ्नो अस्तित्व सुनिश्चित गर्नको लागि त्यो मात्रै पर्याप्त थिएन ।

छैटौं शताब्दीमा निर्माण भएको ओसाकामा अवस्थित बौद्ध मन्दिर शितेन्नो–जी ।

शिजुओका विश्वविद्यालयस्थित कला र संस्कृति विषयका सहायक प्राध्यापक हिडेगाजु सोनेका अनुसार, कोंगो गुमीको दीर्घकालीन अस्तित्व यसका कालीगढहरुको दक्षता र नेतृत्वकर्ताहरूको व्यवस्थापन क्षमतामा निर्भर रहेको छ ।

वास्तवमा आफ्नो स्थापना पछि कोंगो गुमीले जापानका सबैभन्दा कुशल कालीगढहरुको विभिन्न समूहलाई रोजगारी दिएको थियो । तिनै विभिन्न समूहहरू बीचको प्रतिस्पर्धाले विभिन्न प्रविधिहरूको खोज र सुधारलाई प्रेरित गर्यो । यसले नै कम्पनीलाई सबै खालका प्रतिस्पर्धामा अग्रस्थानमा रहन मद्दत गर्यो ।

१४ सय ४६ वर्षको लामो इतिहासको अधिकांश समय, कोंगो गुमी कम्पनीको सञ्चालन कोंगो शिकोका सन्तान, दरसन्तानहरुको ४० पुस्ता सम्मको हातमा रह्यो । तर उक्त परिवारले परम्पराका अगाडि कम्पनीको हितलाई प्राथमिकता दियो । तथापि एदो काल (१६०३ – १८६८) को समयमा यो कम्पनीलाई अन्य कालीगढ समूहहरूबाट गम्भीर प्रतिस्पर्धा भोग्नुपर्यो । त्यसैले पारिवारिक व्यवसायको अस्तित्व सुनिश्चित गर्न, यसले केवल आवश्यक कालिगढी सीप र उत्कृष्ट व्यवस्थापन क्षमतासहितको नेतृत्व चयन गर्यो ।

प्राप्त दस्तावेज अनुसार कोंगो परिवारले सधैं आफ्नो परिवारको पहिलो सन्तानलाई निर्माण कम्पनीको प्रमुख बनाउने गर्दैनथ्यो । जेठो सन्तानमा कम्पनी सञ्चालनका आवश्यक गुणहरूको अभाव देखिएमा वा कम्पनीका नेतृत्वहरुले आफ्नो पद र भूमिकाप्रति निष्ठा नदेखाएमा उनीहरुलाई परिवर्तन गरिन्थ्यो । परिवारमा छोरा नरहेमा कम्पनीको बागडोर प्रदान गर्ने छोरीलाई ठूलो कालिगढी तथा नेतासँग बिहे गराइन्थ्यो ।

ओसाकास्थित निर्माण कम्पनी ताकामात्सुबाट आएका केनेची टोन । उनले सन् २००६ मा कोंगो गुमी अधिग्रहण गरेका थिए ।

कोंगोे गुमीले आफ्नो अस्तित्वको यात्रामा धेरै चुनौतीहरूको सामना गर्नुपर्यो । त्यसमध्ये सबैभन्दा उल्लेखनीय घटना चाहिँ सन् १९२० को दशकको शोआ आर्थिक मन्दी र दोश्रो विश्वयुद्ध लगायतका छन् । शोआ मन्दीका बेला कम्पनीका ३७ औं पुस्ताको नेतृत्व कोंगो हारुइचीले आर्थिक समस्याका कारण आत्महत्या नै  गरे । त्यस्तै दोश्रो विश्वयुद्धको समयमा बौद्ध धार्मिक भवनहरूको माग उल्लेखनीय रूपमा घट्यो ।

यावत संघर्षका बाबजुत पनि यो कम्पनी सन् २००६ सम्म छुट्टै अस्तित्वमा रहन सफल भयो । अन्ततः कोंगो गुमीलाई ओसाकाको एक नयाँ निर्माण कम्पनीले अधिग्रण गर्यो । त्यस समयमा कोंगो गुमी कम्पनीले ठूलो परिमाणको ऋण बोकेको थियो र स्वतन्त्र रूपमा सञ्चालन हुन असमर्थ भइसकेको थियो ।

हाल उक्त ऐतिहासिक कोंगो गुमी ओसाकाको टाकामात्सु निर्माण समूहकोे सहायक कम्पनीको रूपमा सञ्चालनमा छ ।  तथापि यसको प्रभावशाली इतिहास अझै पनि यसको मूल कम्पनीका साथै जापानका अन्य धेरै कम्पनीहरूका लागि प्रेरणाको स्रोतको रुपमा रहेको छ ।

हाल टाकामात्सु कम्पनीमा कोंगो परिवारका कुनै पनि सन्तान व्यवस्थापन तहमा संलग्न छैनन् । कोंगो वंशका एकजना सन्तान मात्रै हाल त्यसमा कर्मचारीको रुपमा कार्यरत छन् । कोंगो परिवार अहिले पनि जापानी सिकर्मी तथा कालिगढहरुको बीचमा निकै सम्मानित छ ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?