+
+

छायांकनपूर्व शुभसाइत पूजा गर्ने नेपाली संस्कृतिले लोभिए बेलायती अभिनेता बेकन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते १२:४७

काठमाडौं । विज्ञान कथामा आधारित हुने फिल्म ‘एक्लो’को छायांकन सुरु भएको छ । बुधबार बिहान भद्रकाली मन्दिरमा शुभसाइत पूजा गर्दै मल्टिस्टारर फिल्मको छायांकन सुरु भएको जानकारी दिइयो ।

प्रदीप शाहीले निर्देशन गर्ने यो फिल्ममा प्रदीप खड्का, जेमी बेकन, दीया पुन, कविता नेपाली, सुनिल थापा, विजय लामा र एवनराज उप्रेतीको अभिनय हुने जनाइएको छ ।

शुभसाइत पूजामा कास्ट एण्ड क्रूको उपस्थिति थियो । यो फिल्म खेल्नैका लागि बेलायती अभिनेता बेकन मंगलबार नेपाल आइपुगेका थिए । भद्रकाली मन्दिरमा उनले नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली फिल्ममा सहकार्य गर्न पाउँदा आफू उत्साही रहेको बताए ।

फिल्म छायांकनपूर्व शुभसाइत गर्ने चलन आफूलाई मनपरेको भन्दै उनले यसलाई आश्चर्यजनक बताए । ‘आध्यात्मिक र धार्मिकरुपमा नेपाली संस्कार र संस्कृति निकै महत्वपूर्ण छ । मलाई मनपर्‍यो’ उनले भने ।

फिल्ममा आफूले निर्वाह गर्न लागेको चरित्र महत्वपूर्ण र रोचक रहेको उल्लेख गर्दै उनले दर्शकले यसलाई रुचाउने बताए । यो फिल्ममा उनी बेलायतको निर्माण साझेदारको रुपमा समेत छन् ।

साइन्स फिक्सन फिल्ममा बेकनले बेलायती अन्तरिक्षयात्रीको भूमिका निर्वाह गर्दैछन् । प्रदीपले चाहिं उपल्लो मुस्ताङको गुफामा बसोबास गर्ने मानिसको भूमिका चित्रण गर्दैछन् । यो फिल्मले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ ।

त्यसको ६० वर्षपछि बेलायती अन्तरिक्षयात्री ज्याक (बेकन) आफ्ना साझेदारसँग हिमालय क्षेत्रमा क्रास–ल्यान्डिङ गर्छन् । उनीहरुले आफ्नो वरपर खोजी गर्छन् र पहाड बीचमा रहेको गुफाभित्र लुकेको सहर पत्ता लगाउँछन् । जहाँ उनीहरुले एक रहस्यमय व्यक्ति (प्रदीप खड्का)लाई भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो । निर्माताले प्रदीप खड्कालाई कल्कीको रुपम चिनाउँदै क्यारेक्टर पोस्टर सार्वजनिक गरेका छन् ।

‘एक्लो’ छायांकन काठमाडौं र उपल्लो मुस्ताङमा ४५ दिनसम्म चल्नेछ । शुभसाइत गरिएपनि फिल्मको औपचारिक छायांकन बिहीबार च्यासलको स्टुडियोबाट सुरु हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?