+
+

लिम्बू समुदायको मौलिक संस्कृति धान नाच संकटमा

रासस रासस
२०८१ भदौ १२ गते १३:३२

१२ भदौ, फुङ्लिङ । लिम्बू (याक्थुङ) समुदायको प्रसिद्ध धाननाच (याःलाङ) संरक्षणको कमीका कारण सङ्कटमा परेको छ । पम्परागत रूपमा लिम्बू समुदायले विशेष अवसरमा आयोजना गर्ने यो नाच आधुनिकता र पछिल्लो पुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको हो ।

धाननाच (याःलाङ) संरक्षण तथा प्रवद्र्धन गर्न आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू समुदायले भव्य रूपमा धान नाच प्रस्तुत गर्दै मौलिक संस्कृतिलाई उजागर गर्ने प्रयास गरेका छन् । नेवार समुदायको लाखे पर्वका अवसरमा आयोजना गरिएको यस कार्यक्रममा किशोरदेखि वृद्धसम्मको उत्साहजनक उपस्थिति रह्यो ।

याक्थुङ चुम्लुङ ताप्लेजुङले आयोजना गरेको कार्यक्रममा सहभागीहरूले जुहारी शैलीमा लिम्बू भाषामा गाइने पाःलाम गीतसँगै सामूहिक रूपमा गोलाकार र लामबद्ध भएर नाच प्रस्तुत गरेका थिए ।

धान नाच लिम्बू समुदायको मात्र नभई अन्य समुदायमा समेत लोकप्रिय छ । विशेषगरी विवाह, मेला र अन्य उत्सवमा धान नाच प्रचलित रहँदै आएको छ । लिम्बू समुदायमा धान नाचले सामाजिक सम्बन्धलाई सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।

चेली माइती र नाता नलाग्ने युवक युवतीबीच माया प्रेम साट्ने माध्यमका रूपमा पनि धान नाच चर्चित छ । तर, पछिल्लो समय नयाँ पुस्ताले आफ्नो मौलिक संस्कृतिप्रति चासो नदिँदा धान नाच लोप हुने अवस्थामा पुगेको जानकार टिप्पणी गर्छन् ।

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् ताप्लेजुङका अध्यक्ष भद्र बोखिम लिम्बूका अनुसार पश्चिमा संस्कृतिको प्रभाव र युवाको घट्दो रुचिका कारण यो संस्कृति सङ्कटमा परेको हो। ‘मौलिक संस्कृतिको संरक्षणका लागि युवापुस्तालाई सचेत पार्नुपर्ने आवश्यकता छ’ उनले भने ।

याक्थुङ सांस्कृतिक परिषद्का जिल्ला अध्यक्ष हाङमाया लेछर्बो लिम्बूले पनि धान नाचको महत्वमा जोड दिँदै भने, ‘युवा आधुनिकतामा रमाइरहेका छन्, जसका कारण हाम्रो मौलिक संस्कार सङ्कटमा परेको छ ।’ उनले यस्ता कार्यक्रमले संस्कृतिको संरक्षणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

किरात याक्युङ चुम्लुङ, याक्थुङ सांस्कृतिक परिषद्लगायत सङ्गठनले संस्कृति संरक्षणको प्रयास गर्दै आए पनि यो निरन्तरतालाई संस्थागत रूपमा सशक्त पार्न अझै धेरै कामगर्न बाँकी रहेको उनले बताए ।

धान नाचले सांस्कृतिक गौरवमात्र होइन, सामाजिक एकताको सन्देश पनि प्रवाहित गरिरहेको छ । यस्ता प्रयास जारी रहँदामात्र यो मौलिक नाचले पहिचान बचाइराख्नसक्ने उनीको बुझाइ छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?