+
+

छाला उद्योगका कारण गाउँमा दुर्गन्ध, फोहोर पानी सिधै खोलामा

हरि अधिकारी हरि अधिकारी
२०८१ भदौ १२ गते १३:३६

१२ भदौ, विराटनगर । सुनसरीको दुहबीमा सञ्चालित युनाइडेट टेनरिज छाला उद्योगका कारण बस्तीमा दुर्गन्ध फैलिएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

उद्योगले कच्चा पदार्थ (छाला) खुला स्थानमा सुकाउने र उद्योगबाट निस्किएको फोहोर सिधै बुढी खोलामा फाल्दा दुर्गन्ध फैलिएको भन्दै एक महिनादेखि आन्दोलनरत उनीहरुले उद्योग सार्न माग गरेका छन् ।

२०४६ सालमा स्थापित युनाइटेड टेनरिजले छालाको तयारी सामग्री उत्पादन गर्छ । स्थानीयले उद्योग सार्न माग गर्दै आन्दोलन गरेपछि कोशी प्रदेश सरकारको वन, पर्यटन तथा वातावरण मन्त्रालयले उद्योगको अनुगमन गरेको थियो । अनुगमनका क्रममा उद्योगबाट निस्किएको केमिकलसहितको फोहोर पानी सिधै बुढी खोलामा फालेको र प्रारम्भिक वातावरणीय परीक्षण नै नगरेको पाइएको छ ।

मन्त्रालयका उपसचिव ध्रवकुमार भण्डारीसहितको टोलीले वातावरणीय प्रभाव मूल्याङ्कन र फोहोर पानी प्रशोधनका लागि ट्रिटमेन्ट प्लान्ट पनि नराखेका कारण तत्काल उद्योग बन्द गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले प्रारम्भिक वातावणीय परीक्षणपछि मात्रै सञ्चालन गर्न निर्देशन दिएको हो ।

स्थानीयले छाला उद्योगविरुद्ध २०५४ सालदेखि आन्दोलन गरिरहेका छन् । दुहबी नगरपालिका– ६ का अध्यक्ष घनश्याम हलुवाइका अनुसार २०५४ सालमा तत्कालिन दुहबी गाबिसका जनप्रतिनिधिले उद्योगले दुर्गन्ध फैलाएपछि अदालतमा मुद्दा नै दर्ता गरेका थिए ।

अध्यक्षमा निर्वाचित भएपछि दुई वर्षअघि पनि दुर्गन्ध नियन्त्रण गर्न आफूले स्थानीय र उद्योग प्रतिनिधिसँग छलफल गरेको बताए । त्यसबेला दुर्गन्ध नियन्त्रण गर्न फोहोर पानी प्रशोधनका लागि ट्रिटमेन्ट प्लान्ट राख्ने र विरुवा रोप्ने सहमति गरेपनि उद्योगले केही गरेन ।

वडाअध्यक्ष हलुवाई उद्योगका कारण खत्वे टोल र चौधरी टोलका दुई सय भन्दा बढी घर प्रभावित भएको बताउँछन् । दुर्गन्ध नियन्त्रण नगर्ने भए उद्योगलाई स्थानान्तरण गर्न आग्रह गरिएको उनले बताए ।

छाला प्रशोधन उद्योगका कारण गाउँमा बस्न सक्ने अवस्था नरहेको संघर्ष समितिका अध्यक्ष सुरजकुमार पासवानको गुनासो छ । ‘उद्योगको दुर्गन्धका कारण गाउँमा पाहुना आउन छाडे, साथीभाई पनि आउदैनन्’, पासवानले भने, ‘बिहेवारी हुन पनि समस्या छ ।’ उनका अनुसार फोहोर पानी सिधै खोलामा फालेका कारण खोलाको पानी खाने गाईवस्तुमा पनि समस्या देखिएको छ ।

‘उद्योगको दुर्गन्ध हाम्रो बस्तीमा मात्र होइन, कोशी राजमार्ग यात्रा गर्ने यात्रुले बुढीखोला पुल आसपास झेल्नुपर्छ’, उनले भने,‘ उद्योगले मनोमानी गर्दा समस्या भयो ।’

युनाइडेटसँगै एसियन लेदर उद्योग छ । दुईवटै उद्योगबाट दुर्गन्ध आइरहेको स्थानीयको भनाइ छ । युनाइडेटविरुद्धको आन्दोलनपछि स्थानीयले एसियन विरुद्ध पनि आन्दोलन गर्ने तयारी गरेका छन् । संघर्ष समितिका अध्यक्ष पासवान भन्छन् ‘हामीलाई धेरै समस्या छ, सुनिदिने कोही छैन ।’ प्रदेशको अनुगमन समितिले सञ्चालन रोक्न निर्देशन दिएपनि उद्योगले अटेर गरिरहेको उनले बताए ।

युनाइटेडका सञ्चालक भने आफ्ना विरुद्ध योजनावद्ध रुपमा आन्दोलन भइरहेको बताउँछन् । ‘एकैठाउँमा दुई वटा छाला उद्योग छन्, दुई वटैबाट दुर्गन्ध आउँछ, तर तार्गेट हामी विरुद्ध गरिएको छ’, उद्योग सञ्चालक सद्धाव अख्तरले भने, ‘हाम्राविरुद्ध राजनीतिक चलखेल भइरहेको छ ।’

उद्योगबाट दुर्गन्ध फैलिएको उनले स्वीकार गरे । ३८ वर्षसम्म प्रारम्भिक वातावणीय परीक्षण नगरेको उद्योगले अब गर्ने तयारी गरेको र फोहोर पानी प्रशोधनका लागि पनि प्लान्ट राख्ने तयारी रहेको उनले बताए ।

‘प्रारम्भिक वातावणीय प्ररिक्षण गर्ने क्रममा छ, चाडै भइहाल्छ’, उनले भने, ‘ट्रिटमेन्ट प्लान थियो, पहिलेको (२०७६ सालको) खोलाको बाढीले बिग्रियो, मर्मत गर्न सामान पाइएन, अब बाहिरबाट ल्याएर चलाउँछौं ।’ २०४६ सालमा स्थापना भएको उद्योगमा ३५ जना कामदार रहेको उनले बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?