+
+
टिप्पणी :

प्रचण्डले संसदमा सम्झाएको बंगलादेश-श्रीलंका

हसिना भागेझैं नेपाली नेता भाग्ने दिन आयो भने प्रचण्डमात्रै चैनले खुमलटारमा सुत्न पाउने छैनन् । संसदमा आफूले कति खतरनाक वाक्य बोलें भनी उनले आत्मसमीक्षा गर्नु आवश्यक छ ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०८१ भदौ १२ गते १९:५०

प्रचण्डका बारेमा माओवादी वृत्तमा किस्सा छ– उनी अन्तर्विरोधमा खेल्न यति माहिर छन् कि, परिआयो भने आफ्नै नातिहरुलाई समेत राति हजुरबासँग कोचाहिँ सुत्न पाउँछ भनी आपसमा लडाइदिन्छन् ।

कहिले बाबुराम भट्टराई र मोहन वैद्य, कहिले विप्लव र वर्षमान पुन, कहिले जनार्दन शर्मा र वर्षमान पुन, प्रचण्डले खेलेका अन्तर्विरोधहरुको शृंखला पार्टीभित्र मात्रै सीमित छैन ।

हालका गृहमन्त्री रमेश लेखकले पालैपालो धोका पाएकाहरु एक ठाउँ मिले भने तपाईंको के हालत हुन्छ भनी पोहोर संसदमा गरेको भाषणले हामीलाई विगतमा प्रचण्डको धोकामा परेका गिरिजाप्रसाद कोइराला, माधव नेपाल, केपी ओलीदेखि अनेक पात्रहरुको सम्झना हुन्छ ।

र, ती बालक नातिहरु जसको नाम, वतन यहाँ नखोलौं । तर विम्ब र प्रतीकमा तिनलाई माओवादी पंक्तिमा जसरी चर्चा गरियो, यसको अर्थ भने प्रचण्डको मनोविज्ञानसँग ठ्याक्कै मिल्छ ।

त्यसैले दोस्रो पुस्ताका माओवादी नेताहरु कारुणिक हाँसो हाँस्दै यो नाति–किस्सा बेलाबखत सुनाउने गर्छन् ।

सबैलाई थाहा छ, प्रचण्ड यतिबेला राजनीतिक अस्तित्वको दबाबमा छन् । २६ साउनको पार्टी बैठकमा उपमहासचिव जनार्दन शर्माले १३ पानाको दस्तावेज राख्ने क्रममा त्यो संकटलाई तथ्यांकसहित राखिदिएका छन् ।

उनले सोधेका छन्, ‘०६४ चुनावका बेला १२० सिटमा हामीलाई बहुमत दिने मतदाता र निर्वाचन क्षेत्र प्रायः सबै हामीबाट खोसिएका छन् । हामी शून्यतर्फ उन्मुख छौं । पहिलो संसदीय चुनावमा हामीलाई प्राप्त ३१ लाख मतदाताको अभिमत अहिले खस्किएको छ । त्यसपछिका चुनावमा कुल मतदाता संख्या बढे पनि हामी भने निरन्तर १४ लाख, ११ लाख हुँदै अझ खुम्चिनेतर्फ उन्मुख छौं । आज पार्टीमा जो जति छन्, ती सबै असन्तुष्टि बोकेर बाँचेका छन् । यसको जिम्मेवारी मूल नेतृत्वले लिन किन आनाकानी गरिरहेको छ ?’

जनार्दनले प्रचण्डको नाम नलिए पनि यो उनीबाहेक दोस्रो व्यक्तिलाई सोधिएको प्रश्न होइन । र, प्रचण्ड यतिबेला यो प्रश्न शानदार ढंगले पन्छाउन चाहन्छन् । मुखमा नेल्सन मन्डेला जप्ने नेपाली नेतृत्वको कुटकुटमा रोबर्ट मुगाबे बन्ने चाहना भरिएको छ ।

३५ वर्षयता निरन्तर पार्टीसत्ता, अनि पटकपटक राज्यको नेतृत्व वा साझेदारका रुपमा प्रचण्ड र उनको माओवादीले चलाएका छन् । बाबुराम भट्टराई प्रधानमन्त्री बन्दा होस् या त्यसअघि र पछि पार्टीका असंख्य उपप्रधानमन्त्री– मन्त्रीहरुको जुन लस्कर निर्माण भयो, पार्टी जतिसुकै सानो आकारमा खुम्चिँदै गए पनि ती मन्त्रीहरुलाई लाइन लगाउने हो भने पेरिसडाँडादेखि सिनामंगलसम्म पुग्न सक्छ ।

र, त्यो लस्कर माओवादीकै ब्यानरमा निर्माण भएको हो । अकालमै मारिएका शहीद र हराएका बेपत्ताका नाममा स्मृति गेट बनाएर माओवादीका नेताहरुले निरन्तर राज गरिरहे । र, आज प्रचण्ड नेपालमा बंगलादेश र श्रीलंकाको घटना दोहोरिन सक्ने खतरनाक चेतावनी संसदबाट दिइरहेका छन् । प्रधानमन्त्रीबाट हटेको डेढ महिनामै आफ्नो प्रयोजनविहीन म्याजिक नम्बर ३२ कै बलमा यत्रो शक्ति प्रचण्डलाई आएको हो ? वा यसका पछाडि अरु को छ ?

कहिले राजासँग, कहिले कांग्रेस, एमालेलगायत शक्तिसँग, कहिले भूराजनीतिक शक्तिहरुसँग अन्तर्विरोध सिर्जना गर्ने, त्यहाँभित्रको खिचातानी वा संकटलाई उपयोग गर्दै अगाडि बढ्ने प्रचण्डको पुरानो बानी हो । डेढ वर्ष शासन चलाएर असारमा बहिर्गमित हुनेबित्तिकै प्रचण्डलाई कहाँबाट अचानक श्रीलंका र बंगलादेशको सम्झना हुन आयो ?

पक्कै पनि प्रचण्डले प्रतिपक्षी नेताको हैसियतमा मंगलबार प्रतिनिधिसभामा बोल्ने क्रममा सरकारमाथि थुप्रै प्रश्न उठाउनु अनौठो थिएन ।

प्रतिपक्षले संसदमा खेल्नुपर्ने भूमिकामा उनी अग्रसर बन्नुलाई प्रश्न उठाइहाल्न मिल्दैन पनि । तर प्रचण्डलाई एउटा प्रश्न भने सोधिएन भने अन्याय हुन्छ– युद्धपछि एकाधपल्टबाहेक सधैंजसो सत्तामै बसेर राज्यको भोगचलन गरिआएको माओवादीका शीर्ष नेताले किन श्रीलंका र बंगलादेशको दृष्टान्त दिँदै प्रधानमन्त्री केपी ओली र सत्ता साझेदार कांग्रेसलाई चुनौती दिए ?

सबैलाई ज्ञान भएकै कुरा हो– अरब क्रान्ति होस् या त्यसयताका अनेक आन्दोलनहरुमा सामाजिक सञ्जालले युवाहरुलाई हालसम्मका कुनै पनि प्रविधिले भन्दा छिटोगरी एकत्रित गराइदिएको छ ।

विगतमा प्रचण्ड स्वयं, अनि कतिपय नेतामाथि हातपात प्रयास हुँदा सामाजिक सञ्जालमा भएका सेलेब्रेसनबारे उनलाई हेक्का नहुने कुरै भएन । टिकटक बन्द गराउने बेला प्रधानमन्त्रीको हैसियतमा उनले दिएका तर्क अझै बिर्सन मिल्दैन ।

काठमाडौं मेयर बालेनले सिंहदरबार जलाउँछु भन्दा वा सडक विभागमा फोहोर थुपार्दा हाललाई वाहवाहीको कमी छैन । रवि लामिछानेले समाचार लेखेकै आधारमा मिडिया अफिस घेर्न भीड लिएर आउँछु भन्दा हाईहाई रवि दाइ चलेको डेढ वर्षअघिमात्रै हो । भलै त्यही स्तरको उत्साह हिजोआज उनीप्रति देखिँदैन, त्यो जग्गामा अर्कैले झण्डा गाड्न लागिसक्यो ।

नायकको खोजीमा भौतारिइरहेको समाजमा अझै पनि आम असन्तोष चिर्न कोही बादशाह टाइपको व्यक्ति आउने छ भन्ने चाहना कम्ती छैन ।

जनताको मतमा क्रमशः साँघुरिँदै गए पनि प्रचण्डले मंगलबारको संसद भाषणमा आफूसँग असन्तुष्ट तिनै जनताको समेत पक्षबाट आवाज उठाउन खोजेका छन् । तर प्रचण्ड किन बंगलादेश र श्रीलंकाको विशाल भीड देखाएर त्रास सिर्जना गर्न खोज्दैछन्, जबकि उनी त्यही ‘भीड’ सँग डराएर काठमाडौंबाट सिरहा, सिरहाबाट चितवन, चितवनबाट गोरखा सरिरहेका छन् ।

जेसुकै तर्क दिए पनि प्रचण्ड चितवन ३ को सम्भावित उम्मेदवारीबाट रातारात गोरखा सर्नुका पछाडि कुन त्यस्तो त्रासपूर्ण मनोेविज्ञानले काम गरेको थियो भन्ने उनीजत्ति राम्रो जानकारी अरु कसैलाई छैन ।

इतिहासको सही विश्लेषण गरौं । बंगलादेशमा जुन युवा विद्रोह भयो, त्यो नेपालमा पहिल्यै भइसक्यो । श्रीलंकामा जुन असन्तोष विस्फोट भयो, त्यो नेपालमा पहिल्यै विस्फोट भइसक्यो । नेपालमा क्रमिक लोकतान्त्रिक क्रान्तिहरुले विस्तार गर्दै लगेको मूलधार अझै पनि फैलिइसकेको छैन । यो अझै पनि संकुचित छ । अझै पनि नागरिकहरुले चाहेको जस्तो तीव्र सुधारले बाटो पक्रन सकेको छैन ।

प्रधानमन्त्री केपी ओली आफैंले तीन दिनअघि आफू चारवटा मातहत विभागलाई भर्खरै राखेर गरेको बैठकमा उठेका प्रश्नहरुबाट त्यसको छनक पनि मिल्छ । अझै पनि सामाजिक विस्फोटहरु उत्पन्न नहोलान् भन्न सकिन्न । तर हसिना वाजेद भागेझैं नेपाली नेता भाग्ने दिन आयो भने प्रचण्डमात्रै चैनले खुमलटारमा सुत्न पाउने छैनन् । तसर्थ संसदमा बोल्ने क्रममा आफूले कति खतरनाक वाक्य बोलें भनी उनले आत्मसमीक्षा गर्नु आवश्यक छ ।

ओली, शेरबहादुर देउवा वा अरु नेताहरुबारे प्रशस्तै प्रश्न उठाउने ठाउँ छन् । अनि प्रचण्ड आफैं चाहिँ डेढ महिनाअघि संसदको सिट एरेन्जमेन्ट बदलिएका भरमा प्रश्नबाट बाहिर छन् त ? अहिले नेपालमा जुन बदलाव आइरहेको छ, यसको जस वा अपजस दुवै नेतृत्वले लिनुपर्छ ।

सत्तामा ओली वा देउवा आउँदैमा, वा तिनलाई प्रचण्डजस्तो अर्को व्यक्तिले प्रतिस्थापित गर्दैमा नेपाल राज्यका समस्या एक छडीको भरमा समाधान हुँदैनन् । नो नट् अगेन भन्दैमा, नेताविशेषलाई अक्षम करार गरेर लिंगद्वेषी सारी चुरा लगाइदिँदैमा वा सामाजिक भोक, तिर्खा र छटपटीलाई मिठा शब्दहरुको रेसिपीले पस्किँदैमा त्यसैको बलमा फेरि पुनरोदय हुन सकिन्छ भन्ने सोच घातक, गैरजिम्मेवार र समाज–विनाशक छ ।

कोही व्यक्ति रातारात सांसद मन्त्री भएका दृष्टान्त देखेर नेपाली समाजमा अर्को व्यक्ति महत्वाकांक्षी हुन नपाउने भन्ने हुँदैन । तर इतिहासमा नेता उदाएका अनेकथरि दृष्टान्त भएको यो समाजमा फेरि पनि सलाई कोर्न जोकोही तयार हुन सक्छन् । अहिले आगो बाल्ने होइन, पानी हाल्ने नेतृत्व चाहिएको छ । यत्रो वर्ष राज्य संस्थापनको नेतृत्व गरिसकेपछि पनि प्रचण्डलाई त्यसको मतलब भएजस्तो देखिँदैन ।

उनी बंगलादेश श्रीलंका भन्छन् । १० प्रदेश, १४ प्रदेश भन्दै संविधानसभा डुबाउँछन् । दोस्रो सभाकालमा अन्ततः सोह्रबुँदे समझदारी गर्छन् । उनी सीमांकन र नामांकन बेगर नै संविधान जारी गर्न सहमत हुन्छन् । फेरि आन्दोलन उठ्न थाल्छ । उनी कोशीदेखि सुदूरपश्चिमसम्मका अञ्चलकालीन झल्को आउने नामलाई अनुमोदन गर्न सहजै तयार हुन्छन् ।

जब सत्ताबाट बाहिर आउँछन्, तब उनी कोशी होइन, प्रदेश १ को बैठक राख्छन् । उनी प्रदेश सभामा कोशी नामका लागि दुई तिहाइ जुटाउन आफैं अग्रसर हुन्छन् । अब नाम बदल्नुपरे फेरि दुई तिहाइकै खोजी गर्ने संवैधानिक प्रबन्धको सर्वथा उपेक्षा गर्छन्, अनि यो किचलो उठाउँदा जातीय सामुदायिक आगो सल्किन सक्ने विन्दुतर्फ प्रवृत्त हुन्छन् । यही हो प्रचण्डको जिम्मेवारीबोध ? तीनपल्ट प्रधानमन्त्री भएर राज्यका सबलता र सीमा देखिसकेको व्यक्तिले यत्ति सस्तो लोकप्रियतावादी हुन सुहाउँछ ?

त्यसैले संसदमा मंगलबार सारा विषयमा बोल्दाबोल्दै प्रचण्डले जसरी बंगलादेश र श्रीलंकाको घातक दृष्टान्त दिए, त्यो पूरापूर अनुचित छ । त्यो उनी स्वयंबाट खण्डनलायक छ । प्रचण्डसँग त्यस्तो के नयाँ विधि वा समाधान छ, जसबाट आजसम्म नेपाली समाज वञ्चित थियो । अनि यी संकटमोचन गर्न उनी स्वयं अवतार बनेर फेरि आउनेवाला छन् ? कतिपल्ट आगो बालेपछि वा सडकमा उत्पात् मच्चाएपछि यो देश बस्नलायक हुन्छ ?

कांग्रेस र एमालेभित्र अन्तरविरोध सिर्जना गर्न खोज्ने प्रचण्ड प्रयासको मूल्य भने सिंगो समाजले चुकाउन अब आवश्यक छैन । बंगलादेश र श्रीलंका देखाएर आफूलाई चोखो र जवाफदेहीविहीन बनाउने मंगलबारको प्रचण्ड–भाषण जसले लेखेको भए पनि त्यसको पूर्णपाठ तिखो छ ।

प्रश्नहरुमा रमाउने बानी परेको, उत्तरदायित्वको बारेमा किञ्चित चिन्ता नभएको वर्गलाई यसले तत्क्षणको आत्मरति पनि देला । तर प्रचण्डलाई सत्तामा रहँदा रचनात्मक बन्न सल्लाह दिन नसकेका सल्लाहकारहरुले प्रतिपक्षमै भए पनि उनलाई अब स्थिर बन्न सघाउनुपर्छ । यो एउटा राजनीतिकमात्रै होइन, मनोवैज्ञानिक प्रक्रिया पनि हो ।

यसका लागि प्रचण्डले १५ दिनजति बिदामा बसेर ठण्डा दिमागले सोच्न सक्छन्, या कतै यात्रामा जान सक्छन् । अनर्थको उथलपुथलकारी सोचले नेपाली समाजको मानसिकतामाथि शोषण त हुनजान्छ नै, आफ्नै सोच्ने क्षमताको पनि द्रुतगामी खतिमात्रै हुन्छ । यस्तो सोचेर बस्नुभन्दा बरु नातिहरुसँगै खेलेर बसेको बेस ।

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?