+

मल्टिपल स्क्लेरोसिस कति जोखिमपूर्ण ?

२०८१ भदौ  १२ गते १४:३८ २०८१ भदौ १२ गते १४:३८
मल्टिपल स्क्लेरोसिस कति जोखिमपूर्ण ?

मल्टिपल स्क्लेरोसिस मस्तिष्कमा रहेको केन्द्रीय स्नायु प्रणालीसँग सम्बन्धित दीर्घ रोग हो । यो रोगमा प्रतिरोधात्मक क्षमताले विभिन्न समयमा मस्तिष्कको स्नायुलाई सुरक्षा दिने झिल्ली (माइलिन)लाई हानि पुर्‍याउँछ ।

पटक-पटक प्रतिरोधात्मक क्षमताले आक्रमण गर्दा माइलिन खुइलिई स्नायुमा दाग बस्न सक्छ । सो दाग सामान्य खालको नभई पहिले यथावत् रहेको तन्तुलाई नै परिवर्तन गरिदिने खालको कडा हुन्छ । त्यसले माइलिनको क्षति भई मस्तिष्क र शरीरको बाँकी भागबीच कायम गर्ने तालमेललाई बाधा पुग्छ ।

यस्तोमा मस्तिष्क र शरीरको अन्य भागबीच सञ्चारमा अवरोध भई प्रष्ट लेख्ने, हिंड्ने वा चल्ने क्षमतामा कमी आउन सक्छ । कुन क्षमतामा ह्रास आउँछ भन्ने कुरा-कुन भाग क्षति भएको छ त्यसमा भर पर्छ ।

यो अप्रत्याशित समस्याले शरीरमा फरक-फरक भागमा प्रभाव पार्न सक्छ ।

मल्टिपल स्क्लेरोसिस लाग्ने कारण

मल्टिपल स्क्लेरोसिसको ठोस कारण अहिलेसम्म पत्ता लागेको छैन । तर अटो इम्युन रोग, भिटामिन डीको अभाव, वंशाणुगत कारणले पनि यो रोग हुनसक्ने अनुमान गरिन्छ ।

कारण जे होस्, यो समस्या भएपछि प्रतिरक्षा प्रणालीले स्नायुमाथि रहेको माइलिन आवरणलाई हानि गर्छ । जसकारण स्नायुको भाग देखिन्छ । सो भागमा आउने सन्देश सुस्त वा अवरुद्ध भएपछि शरीरको कार्य प्रणाली प्रभावित हुन्छ ।

यसको प्रकार

मल्टिपल स्क्लेरोसिस चार प्रकारका हुन्छन् ।

रिल्याप्सिङ-रिमिटिङ मल्टिपल स्क्लेरोसिस (आरआरएमएस) : यो मल्टिपल स्क्लेरोसिसको सबैभन्दा सामान्य प्रकार हो । यो समस्या भएमा पटक-पटक अट्याक आउन सक्छ ।

सेकेन्डरी प्रोग्रेसिभ मल्टिपल स्क्लेरोसिस (एसपीएमएस) : यो प्रकारको स्क्लेरोसिसमा समयसँगै लक्षण तीव्ररुपमा खराब हुँदै जान्छ । अधिकांश आरआरएमएस भएको व्यक्तिमा पनि एसपीएमएस हुनसक्छ ।

प्राइमरी प्रोग्रेसिभ मल्टिपल स्क्लेरोसिस (पीपीएमएस) : यस प्रकारको मल्टिपल स्क्लेरोसिस त्यति धेरै व्यक्तिमा देखिंदैन । यो मल्टिपल स्क्लेरोसिस भएका लगभग १० प्रतिशत मानिसमा हुनसक्छ । यसमा सुरुदेखि नै लक्षण विस्तारै खराब हुँदै जान्छ तर बारम्बार अट्याक आउँदैन ।

प्रोगेसिभ-रिलेप्सिङ मल्टिपल स्क्लेरोसिस (पीआरएमएस) : यो मल्टिपल स्क्लेरोसिसको दुर्लभ रूप हो । सुरुदेखि नै क्रमशः लक्षणहरु देखिंदै खराब हुँदै जान्छ । र, पटक-पटक अट्याक हुनसक्छ । त्यति राहत मिल्न पाउँदैन ।

कुन उमेरमा देखिन्छ ?

यो जुनसुकै उमेरमा हुनसक्छ । प्रायजसो २० देखि ४० वर्षको उमेरमा बढी देखिएको पाइन्छ ।

यो रोग कति जोखिमपूर्ण ?

मल्टिपल स्क्लोरोसिसको पटक-पटक अट्याक आउने गर्छ । जति पटक यसको अट्याक आउँछ त्यति तन्तुलाई क्षति गर्छ ।

त्यसैले यो समयमा नै पत्ता लागेमा उपचार गरे पटक-पटक अट्याक आउँदैन । जसले गर्दा छिटो व्यवस्थापन हुन्छ ।

कतिको धेरै मानिसमा देखिएको छ ?

पहिलेको इतिहास हेर्दा यो रोग कम देखिन्थ्यो । किनकि यो रोगबारे कसैलाई थाहा थिएन । समयसँगै रोगको पहिचान, दक्ष चिकित्सकको संख्या बढ्दै गयो । उपचार सेवा पनि विस्तार भए ।

अहिले पनि यो रोगलाई दुर्लभ भनिन्छ । तर नेपालमा भने यो रोगको धेरैमा पहिचान भएको पाइन्छ । त्यसैले यो रोग सामान्य रूपमा देखिन्छ भन्न सकिन्छ ।

लक्षण

यो रोगको लक्षण दिमागको कुन भागमा क्षति पुगेको छ, सो भागबाट चल्ने अंगको कार्यमा दखल दिन्छ । र, सोही अनुसार लक्षण देखिन्छ ।

मस्तिष्कमा रहेको आँखासँग जोडिएको स्नायुमा समस्या आएमा आँखाको ज्योतिमा समस्या हुनु, हातगोडाको कार्य नियन्त्रण गर्ने स्नायुमा कमजोरी आए हातखुट्टा नचल्ने, बाङ्गो हिंडाइ हुने र मुख चलाउने स्नायुमा समस्या आए बोली लर्बराउने जस्ता समस्या देखिन्छ ।

त्यस्तै पिसाब नियन्त्रण गर्ने केन्द्रमा घाउ भए पिसाब नियन्त्रण गर्न कठिन हुने र मस्तिष्कको आधा भागमा घाउ भए आधा जीउ नचल्ने लक्षण देखिन्छ ।

कति बेला अस्पताल जाने ?

अचानक स्नायु सम्बन्धी कुनै समस्या आयो वा पक्षघात भएको जस्तो लक्षण देखिए मल्टिपल स्क्लेरोसिसको समस्या भएको शंका गरी तत्काल अस्पताल जानुपर्छ । किनकि जति छिटो पहिचान भयो त्यति छिटो मल्टिपल स्क्लेरोसिसको कारणले हुने कमजोरीलाई  व्यवस्थापन गर्न सकिन्छ ।

पहिचान कसरी हुन्छ ?

एमआरआ: सबैभन्दा पहिला लक्षण अनुसार मस्तिष्कको कुन भागमा असर परेको हुनसक्छ भनेर हेर्न शंका लागेको भागको ‘कन्ट्रास्ट’ राखेर एमआरआई र स्पाइनल कर्डको एमआरआई गरिन्छ । कन्ट्रास्ट राखेर गर्दा मस्तिष्क र स्पाइनल कर्डबीच कति भाग सक्रिय छ भनेर पत्ता लगाउन सकिन्छ ।

पीएस एनलाइसिस : रगत र ढाडको पानी निकालेर हेरिन्छ । यी परीक्षणबाट लगभग यो समस्याको पहिचान भइसक्छ ।

उपचार

यो रोग उपचारपछि निको हुँदैन । तर व्यवस्थापन गर्न सकिन्छ । जसले गर्दा जीवनस्तरमा सुधार आउँछ । जसमा औषधि र सुई दिइन्छ ।

यसको उद्देश्य भनेको लक्षणलाई कम गर्दै लैजाने र पटक-पटक आउन सक्ने मल्टिपल स्क्लेरोसिसलाई कम गर्नु हो । सुरुको अवस्था भएमा कति गहिराइसम्म पुगेको छ सो अनुसारको मिथाइलोफोलेट औषधि पाँच दिनका लागि दिइन्छ ।

त्यस्तै पटक-पटक आघात आइसकेको खण्डमा विभिन्न विधिबाट उपचार गरिन्छ । जसमा सातापिच्छे वा ६-६ महिनामा लगाउने सुई हुनसक्छ । केही मुखबाट ख्वाउने औषधि पनि दिइन्छ । यो औषधि नेपालमा नपाइने हुँदा भारतबाट मगाउनुपर्छ ।

नेपालमा पहुँच नहुनुको कारण के हो ?

नेपालमा यो औषधि मात्र होइन धेरै औषधि बाहिरबाट ल्याइन्छ । नेपालमा मल्टिपल औषधिको पहुँच नहुनु भनेको यो समस्यालाई दुर्लभ मानिन्छ । त्यसको लागि सरकारबाटै पहल हुनुपर्ने देखिन्छ ।

नेपालमा यसको उपचार र पहिचान सहजै भए पनि औषधि महंगो र नेपालमै नपाइने हुँदा यसबाट पीडित बिरामी सास्ती भोग्न बाध्य छन् ।

उपचार नै नगर्दा के हुन्छ ?

यसको उपचार नभएमा स्थायी रुपमै स्नायुमा क्षति पुग्न सक्छ । जसकारण दिमागले काम गर्न सक्दैन । यसको मतलब कसैको हात, कसैको खुट्टा नचल्ने, आँखाको ज्योति गुम्ने, आधा शरीर पक्षघात हुने, मुख चल्ने जस्ता समस्या देखिन सक्छ ।

डा. बाबुराम पोखरेल मल्टिपल स्क्लेरोसिस स्वास्थ्य
लेखक
डा. बाबुराम पोखरेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय