+
+
एकीकृत समाजवादीको पदाधिकारी छान्ने चुनाव :

चर्चित रामकुमारी हराउने अनुभवी जयन्ती

राष्ट्रिय चर्चाकी रामकुमारीलाई हराइरहँदा जयन्तीले पदाधिकारीहरु मध्ये सबैभन्दा धेरै मत पाउने कीर्तिमान नै बनाइन् ।

सइन्द्र राई सइन्द्र राई
२०८१ भदौ १२ गते २०:३५

१२ भदौ, काठमाडौं । केन्द्रीय सदस्यहरुबीच मतदान गराएर एकीकृत समाजवादीले पदाधिकारी टुंग्याएको छ । अध्यक्ष, सम्मानित नेता, वरिष्ठ उपाध्यक्ष र महासचिव निर्विरोध भएकाले बाँकी १७ पदमा मंगलबार मतदान भएको हो ।

मंगलबार साँझबाट पदाधिकारी छान्न गरिएको मतदानको नतिजा राति नै आएको थियो । अन्तिम मत परिणाम आउँदा भने केही त्यस्ता नेताहरु पराजित भए, जो एमालेबाट एकीकृत समाजवादी बन्दाका संस्थापक फेस थिए ।

हुन त २०७८ भदौमा एकीकृत समाजवादी बन्दा एमाले छोड्ने जति सबैलाई उक्त पार्टीले संस्थापक नेता भन्ने गरेका छन् । तर तीमध्ये पनि डा.विजय पौडेल, जगन्नाथ खतिवडा, गंगालाल तुलाधर, प्रकाश ज्वाला, जीवनराम श्रेष्ठ, केशवलाल श्रेष्ठ, राजेन्द्र राई, रामकुमारी झाँक्री, विरोध खतिवडाहरु एकीकृत समाजवादी बनाउने फेस भनेर चिनिन्थे ।

माधव नेपालको अध्यक्षतामा बनेको एकीकृत समाजवादीमा उनीहरुमध्ये धेरै जना पदाधिकारी र अरु महत्वपूर्ण भूमिकामा थिए । तर मंगलबार भएको मतदानबाट यी नेताहरुमध्ये विजय पौडेल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ लगायत नेताहरुले पदाधिकारी जित्न सकेनन् ।

विजय पौडेल खुला उपाध्यक्ष र रामकुमारी झाँक्री महिला उपाध्यक्ष पदका उम्मेदवार थिए भने जीवनराम श्रेष्ठ उपमहासचिव पदका उम्मेदवार थिए । विशेषगरी रामकुमारी झाँक्री उपाध्यक्षमा पराजित हुनुलाई चासोका साथ हेरिएको छ ।

रामकुमारीको पराजयलाई चासोका साथ हेरिनुमा उनको पृष्ठभूमिले काम गरेको छ । अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष निर्वाचित हुने पहिलो महिला नेतृ रामकुमारी २०६२/६३ सालको दोस्रो जनआन्दोलनकी फेस लिडर थिइन् । त्यो जनआन्दोलनले राजतन्त्रको अन्त्य गरेपछि राष्ट्रिय राजनीतिमै उनको आकर्षण रह्यो ।

एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्य जितेकी रामकुमारी २०७४ सालको प्रतिनिधि सभामा समानुपातिक सांसद बनिन् । यी पृष्ठभूमि भन्दा पनि रामकुमारीको यो पराजयलाई चासोका साथ हेरिनुमा एकीकृत समाजवादी गठन भइरहँदाको दृश्य बढी महत्वपूर्ण देखिन्छ ।

एमालेको विवाद उत्कर्षमा पुगेर माधव नेपालले पार्टी फुटाउँदा रामकुमारी पनि निर्वाचन आयोग पुगेकी थिइन् । त्यसबेला दल दर्ता गर्न आयोग पुगेका माधव नेपाललाई पत्रकारहरुले घेर्न खोजे, जहाँ माधव नेपालको हात तानेर रामकुमारी अगाडि बढेकी थिइन् ।

संयोग, त्यही दृश्य खुब चर्चामा रह्यो ।

अहिले त्यही दृश्यलाई जोडेर रामकुमारीको पराजयसँग तुलना गरिंदैछ । सँगै, रामकुमारीलाई उपाध्यक्ष पदमा हराउने जयन्ती राईबारे पनि चासो देखिन्छ ।

अनुभवी जयन्ती

रामकुमारी पराजित भएपछि मात्र नभई मतदान अघि पनि यो प्रतिस्पर्धालाई चासोका साथ हेरिएको थियो । घनेन्द्र बस्नेतको उम्मेदवारी फिर्ता गराएर वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेलाई निर्विरोध चयन गरिरहँदा पनि महिला उपाध्यक्ष पदबारे छलफल भएको थियो ।

तर घनेन्द्रलाई उम्मेदवारी फिर्ता लिन दबाब दिने नेताहरुले यो पदबारे धेरै चासो दिएनन् । अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भूसाल समूहबीच गुटगत प्रतिस्पर्धा भएको मतदानमा रामकुमारी एकपटक दुवैतर्फका उम्मेदवार जस्ता देखिएकी थिइन् ।

तर महासचिव भूसाल समूहले आफ्नो समूहमा जयन्तीलाई राखेपछि रामकुमारीको नाम अध्यक्ष नेपाल समूहले चिटमा राखेरै बाँडेको थियो । यद्यपि जित्न सकिनन् । मतदान भइरहँदा अर्को रमाइलो दृश्य देखियो ।

किनकि रामकुमारीलाई राजनीतिक वृत्तमा घनश्याम भूसाल नजिक मानिंदै आएको थियो भने जयन्ती लामो समयदेखि माधव नेपाललाई साथ दिंदै आएकी नेतृ हुन् । तर फरक समूहको सूचीमा रहँदै रामकुमारी हारिन् भने जयन्तीले जितिन् ।

राष्ट्रिय चर्चाकी रामकुमारीलाई हराइरहँदा जयन्तीले पदाधिकारीहरु मध्ये सबैभन्दा धेरै मत पाउने कीर्तिमान नै बनाइन् । रामकुमारीले ११२ मत ल्याउँदा जयन्तीले १९९ मत ल्याएकी थिइन् ।

उक्त पार्टीका नेताहरु भने पछिल्लो परिवर्तनको चर्चाले रामकुमारी चिनिए पनि पार्टी वृत्तमा जयन्तीको राम्रो प्रभाव रहेको बताउँछन् ।

रामकुमारीलाई हराएर चर्चामा आएकी जयन्तीले अढाइ वर्ष अगाडि पनि यस्तै नतिजा निकालेकी थिइन् ।

१२ माघ २०७८ मा राष्ट्रिय सभा सदस्यको चुनाव भएको थियो । त्यो चुनावमा जयन्ती पाँच दलीय गठबन्धनबाट उम्मेदवार थिइन् ।

उनलाई चुनाव जित्न आफ्नो दलको मतले पुग्ने कुरै थिएन । समर्थन गर्ने दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका मत पूरापूर आउनुपर्ने थियो ।

उनीसँगै तत्कालीन गठबन्धनका अर्का उम्मेदवार थिए, हेमराज राई । जसपाबाट उम्मेदवार बनेका हेमराजले त्यो चुनाव जित्न सकेनन् । हेमराजलाई एमालेका सोनाम शेर्पाले हराइदिए ।

तर जयन्तीले जितिन् । कोशी प्रदेशबाट राष्ट्रिय सभाको महिला कोटामा एमालेकी सुमित्रा भण्डारीलाई हराउँदै जयन्ती राष्ट्रिय सभा सदस्य निर्वाचित भइन् । जयन्तीले ४ हजार ६९२ मतभार ल्याएर जित्दा एमालेकी सुमित्राले ४ हजार ३६२ मतभार मात्र ल्याएकी थिइन् । त्यतिबेला जयन्तीको लामो इतिहास र मिजासिलो स्वभावका कारण कतिपय एमालेकै मत समेत पाएको चर्चा पनि चलेको थियो ।

राष्ट्रिय सभा सदस्य जितेपछि उनी अहिले विधायन व्यवस्थापन समिति सभापति नै छन् । विधायन समितिमा पनि उनको भूमिका समन्वयकारी नै रहेको टिप्पणी हुन्छ ।

उक्त पार्टीका नेताहरु भने पछिल्लो परिवर्तनको चर्चाले रामकुमारी चिनिए पनि पार्टी वृत्तमा जयन्तीको राम्रो प्रभाव रहेको बताउँछन् । ‘रामकुमारीको पार्टी बाहिर धेरै आकर्षण छ, तर पार्टीभित्र जयन्तीको योगदान र संघर्ष बुझ्ने पंक्ति ठूलो छ’, जयन्ती निकट एक नेता भन्छन् ।

यस्तो टिप्पणी हुनुमा जयन्तीको पार्टी सक्रियताको इतिहासले काम गरेको सहज अनुमान लगाउन सकिन्छ । भोजपुर टेम्के मैयुङकी जयन्तीको राजनीतिक यात्रा २०३६ सालको विद्यार्थी आन्दोलनबाट शुरु भएको थियो ।

पञ्चायतलाई धक्का दिने त्यो विद्यार्थीमा सहभागी भएकी जयन्तीले लगत्तै अखिल नेपाल महिला संघ (अनेम संघ) बाट राजनीति गरिन् । २०५४ सालमा भोजपुर जिल्ला विकास समितिको उपसभापति निर्वाचित भइन् ।

२०६२/६३ सालको दोस्रो जनआन्दोलनपछि जयन्तीलाई एमालेले प्रतिनिधि सभा सदस्य बनायो । लगत्तै २०६४ सालको पहिलो संविधान सभा चुनावमा भोजपुर १ मा माओवादीका पदम राईसँग पराजित भइन् । २०७० मा भने समानुपातिकबाट सभासद बनिन् ।

पार्टी राजनीतिमा २०६५ सालमा सम्पन्न बुटवलको आठौं राष्ट्रिय महाधिवेशनबाटै एमाले केन्द्रीय सदस्य निर्वाचित भइन् । नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य फेरि जितिन् । सधैं माधव नेपाललाई साथ दिंदै आएकी जयन्तीले २०७८ मा पार्टी फुट्दा एमाले छोडिन् ।

एकीकृत समाजवादी बन्दा जयन्ती अनेम संघको केन्द्रीय अध्यक्ष बनिन् भने पार्टीको उपाध्यक्षमा चयन भइन् । अर्थात् उनी अनेम संघकी केन्द्रीय अध्यक्ष, राष्ट्रिय सभामा विधायन व्यवस्थापन समितिको सभापति र पार्टी उपाध्यक्ष भएर एकीकृत समाजवादीभित्र बलियो पकड बनाउने अवसर पाएकी थिइन् । जसको लाभ उठाउँदै रामुकमारी झाँक्रीलाई सहजै हराउँदै उपाध्यक्ष पदमै दोहोरिन सफल भइन् ।

यद्यपि यो मतदानलाई लिएर पार्टीभित्र चर्को असन्तुष्टि देखिएको छ । आफू अनुकूल केन्द्रीय सदस्य चयन गर्ने र तिनै केन्द्रीय सदस्यहरुको मतदानबाट पदाधिकारी चयन गर्दा नेतृत्वको रोजाइमा नपर्नेहरुले पराजित हुनुपरेको टिप्पणी भइरहेको छ ।

गत १६–२१ असारमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनको हलबाट माधव नेपाल अध्यक्ष, झलनाथ खनाल सम्मानित नेता र घनश्याम भूसाल महासचिव निर्विरोध भएका थिए । बाँकी पदाधिकारी सहित २९९ केन्द्रीय सदस्य टुंग्याउने जिम्मा यी तीनलाई दिइएको थियो ।

जसअनुसार २२ असारमै ९३ जना केन्द्रीय सदस्य चयन भए । यसको एक महिनापछि गत १८ साउनमा २५१ जना केन्द्रीय सदस्य मनोनीत गरियो । र मंगलबार (११ भदौंमा) पदाधिकारी चयन भएका छन् ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?