+

दमको समस्या भएका बालबालिकाको हेरचाह कसरी गर्ने ?

२०८१ भदौ  १२ गते १६:३८ २०८१ भदौ १२ गते १६:३८
दमको समस्या भएका बालबालिकाको हेरचाह कसरी गर्ने ?

बालबालिकामा हुने दम दीर्घकालीन समस्या हो । जसमा फोक्सोको श्वासनली सुन्निने र साँघुरो हुन्छ । दमको कारण बच्चाहरूलाई प्रायः सास फेर्न वा बोल्न समस्या हुन्छ । बच्चालाई दमको समस्या भएपछि लगातार खोकी लाग्ने र सास फेर्न गाह्रो हुने हुन्छ ।

यदि बच्चामा दमको उक्साहट नियन्त्रण गरिएन भने यसलाई व्यवस्थापन गर्न गाह्रो हुन्छ । त्यसैले सबैभन्दा पहिले त आफ्नो बच्चालाई के कुराले दमको समस्या बल्झिन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । विशेषगरी कडा एलर्जी उत्पन्न गर्ने धुवाँ, धुलो, जनावर, ब्याक्टेरिया, प्रदूषण र धुम्रपानबाट टाढा राख्नुपर्छ ।

दमको समस्या भएका बालबालिकाको हेरचाह गर्ने तरिका

धुलोबाट बचाउने

दमको समस्यामा धुलोले उक्साहटको रूपमा काम गर्छ । त्यसैले घरमा धुलो कम होस् भन्ने कुरामा ध्यान दिनुपर्छ र सरसफाइमा विशेष ध्यान दिनुपर्छ । कार्पेट, गलैंचामा धेरै धुलो टाँसिने भएकाले त्यस्तो ठाउँमा कम राख्नुपर्छ । झ्याल ढोकामा जाली लगाउनु पनि उपयोगी हुन्छ । जसले गर्दा धेरै धुलो भित्र छिर्न पाउँदैन ।

घरमा धुलो छ भने त्यसलाई बढारेर सफा गर्ने गरिन्छ । तर बढार्दा धुलो झन् माथि माथि उड्छ र दम भएको बच्चा त्यसको सम्पर्कमा आउँछ । धुलोलाई बढार्ने भन्दा पनि पुछ्ने गरियो भने धुलो कम हुन्छ ।

घर ओसिलो हुनु हुँदैन

वर्षातको मौसममा घर ओसिलो हुनु सामान्य हो तर घरमा दमको समस्या भएको बच्चा छ भने घरको भित्ता ओसिलो नहोस् भन्ने कुरामा ध्यान दिनुपर्छ । ओसिलोपनले फङ्गस बढाउँछ, जसले बच्चामा दमको आघात बढ्ने जोखिम धेरै गुणा बढ्छ ।

बाहिरी प्रदूषणबाट बचाउने

जुन मौसममा धुवाँ धुलो बढी हुन्छ, बाहिरी प्रदूषण हुन्छ त्यो समयमा विशेष काम नपरी बच्चालाई बाहिर लैजानु हुँदैन । लैजानै परे मास्कको प्रयोग गरेर मात्र लैजाने बानी बसाउनुपर्छ ।

घरपालुवा जनावरबाट टाढा राख्ने

केही मानिस घरमा कुकुर वा बिरालो जस्ता घरपालुवा जनावरहरू राख्न मन पराउँछन् । तर यदि बच्चा दमबाट पीडित छ भने घरमा पाल्तु जनावर राख्नु राम्रो हुँदैन । घरपालुवा जनावर भएका घरमा तिनीहरूको रौं जताततै झरेको हुन्छ । साथै बालबालिका ती जनावरसँग खेल्न पनि रुचाउने गर्छन् । तर घरपालुवा जनावरको रौं एलर्जिक हुन्छ । यस्तो अवस्थामा तिनीहरूको रौंले दमको आघात बढाउँछ र बच्चालाई समस्या निम्त्याउन सक्छ ।

धुवाँबाट बचाउने

दमबाट पीडित बच्चालाई सबै किसिमको धुवाँबाट बचाउने प्रयास गर्नुपर्छ । सबैभन्दा पहिले यदि अभिभावकले धुम्रपान गर्छन् भने सबैभन्दा पहिले त त्यो धुवाँबाट नै बचाउनुपर्छ । निष्क्रिय धुम्रपानले पनि बच्चामा धेरै स्वास्थ्य समस्या निम्त्याउन सक्छ । यसकै कारण बच्चालाई बारम्बार दमको आघात हुनसक्छ ।

बच्चाको जीवनशैली र खानपानमा पनि ध्यान दिनुपर्छ

दमको रोग नियन्त्रण गर्न खानपानमा ध्यान दिनु निकै जरुरी छ । बच्चाले स्वस्थ आहार खाओस् भन्ने कुरामा ध्यान दिनुपर्छ । जसमा फलफूल, तरकारी र प्रतिरक्षा प्रणाली बढाउने खाना समावेश गर्नुपर्छ । दमलाई बढाउने चिसो खानेकुरा जस्तो आइसक्रिम, कोक, फ्यान्टा कम गर्नुपर्छ । फास्टफुड, जंकफुड जस्ता खानेकुराले पनि बच्चाको दमलाई बढाउन सक्छ, त्यसैले यस्ता खानेकुरा पनि कम गर्नुपर्छ ।

शारीरिक गतिविधिमा ध्यान दिने

टिभी, मोबाइल, भिडियो गेम आदिले बालबालिकाको समय स्क्रिनमा सीमित भएको देखिन्छ । यसले बालबालिकाको रोगप्रतिरोधात्मक क्षमतालाई असर गरिरहेको छ । त्यसैले बाल्यकालदेखि नै बालबालिकाको दैनिक दिनचर्यामा शारीरिक क्रियाकलाप समावेश गर्नु राम्रो हुन्छ । यसले उनीहरूको स्वास्थ्यको समग्र विकासको नेतृत्व गर्छ र रोगप्रतिरोधात्मक क्षमता बढाएर दमको आघातलाई पनि कम गर्छ ।

प्रत्येक वर्ष फ्लु विरुद्धको खोप लगाउने

मौसमी फ्लुको संक्रमण भएमा पनि बालबालिकालाई श्वासप्रश्वासमा समस्या हुनसक्छ । त्यसैले फ्लुबाट जोगाउन उनीहरूलाई प्रत्येक वर्ष फ्लुको खोप लगाउनु उचित हुन्छ । किनभने यसले फ्लुको जोखिमबाट बचाउँछ ।

अतिरिक्त सावधानी अपनाउनुपर्छ

दमबाट पीडित बच्चाको हेरचाह गर्दा थप सावधानी अपनाउनु आवश्यक छ । जस्तै- बच्चालाई नियमित रूपमा औषधि दिनुपर्छ । बच्चालाई दमको आघात भयो भने त्यसलाई नियन्त्रण गर्न कुन औषधि दिने भन्ने कुरामा पनि सचेत हुनुपर्छ ।

बच्चालाई दमको समस्या छ भन्ने कुराको जानकारी उसको विद्यालय र शिक्षकलाई पनि दिनुपर्छ । बच्चाको झोलामा सधैं इनहेलर (श्वासनली फुलाउने औषधि) राखिदिनुपर्छ, ताकि बच्चामा लक्षण देखिएमा तुरुन्तै इनहेलर प्रयोग गर्न सकियोस् । साथै बच्चामा दमको आघात नियन्त्रण गर्न गाह्रो भयो भने तुरुन्त विशेषज्ञ चिकित्सकलाई भेट्नुपर्छ ।

अस्थामा डा. जगतजीवन घिमिरे दम बालबालिका
डा. जगतजीवन घिमिरे
लेखक
डा. जगतजीवन घिमिरे
बाल श्वासप्रश्वास तथा सघनरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७७६२ डा. घिमिरेले  बाल चिकित्सा पल्मोनोलोजी र गहन हेरचाहमा अखिल भारतीय चिकित्सा विज्ञान संस्थान(AIIMS)बाट, नयाँ दिल्लीबाट डीएम गरेका छन् । हाल उनी कान्ति बाल अस्पतालमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय