+
+

अवकाशमा जान लागेका एआईजी ज्ञवालीसहित ५ जनाले दिए सर्वोच्चमा रिट

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते १६:४४

१२ भदौ, काठमाडौं । उमेर हदका कारण अवकाशमा जान लागेका पाँच प्रहरी अधिकृतले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाशलाई कार्यान्वयन नगर्न माग गर्दै उनीहरु सर्वोच्च पुगेका हुन् । सर्वोच्च पुग्नेहरुमा एआईजी श्यामलाल ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्सपेक्टर नागेन्द्र ठाकुर छन् ।

उनीहरुले दिएको रिट निवेदन दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए । पद अनुसारको उमेरहदका कारण उनीहरु अनिवार्य अवकाशमा जाँदैछन् । जसकारण प्रहरी किताबखानाले उनीहरुलाई अवकाशको पत्र समेत पठाइसकेको छ ।

आफूहरुलाई पठाइएको अवकाश पत्र उमेर हदको विषय समेत ऐनमा उल्लेख गरेर कार्यान्वयन गराउनु भन्ने यसअघिको सर्वोच्चको फैसला अनुसार नभएको उनीहरुको जिकिर छ । उनीहरुले प्रहरी किताबखानाको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत माग गरेका छन् ।

ज्ञवाली यही २६ गते एआईजीको ५६ वर्षे उमेर हदका कारण अवकाशमा जाँदैछन् । बाँकी चार जना पनि ३० वर्षे सेवा अवधि बाँकी नै रहे पनि पद अनुसारको उमेर हदका कारण त्यस भन्दा अघि नै अवकाशमा जाँदैछन् ।

यसअघि एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ जनाले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न माग गर्दै दायर गरेको रिटमा न्यायाधीश हरि फुयालको इजलासले उनीहरुलाई अवकाशमा नपठाउन अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्चको अन्तरिम आदेशविरुद्ध सरकारले पुनरावलोकनको निवेदनसमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?