+
+

छाया सरकारमार्फत स्थानीय तहमा पार्टी गतिविधि बढाउँदै रास्वपा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते १७:५६

१२ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले छाया सरकार गठन मार्फत स्थानीय तहमा पार्टी निर्माण गर्ने अवधारणा ल्याएको छ ।

रास्वपाका कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले मंगलबार केन्द्रीय समितिमा पेश गरेको छाया सरकार सञ्चालन कार्यविधिको मस्यौदामा वडा तहदेखि छाया सरकार गठन गर्ने प्रस्ताव छ ।

त्यसमा नेताहरुको सुझाव समेटेर केन्द्रीय समितिको अर्को बैठकमा पेश गर्ने रास्वपाले जनाएको छ । छाया सरकारमा पालिका तहमा संयोजक, सहसंयोजक र सचिवसहित ११ जना र वडा तहमा संयोजक, सहसंयोजक र सचिवसहित ५ जना रहनेछन् । छाया सरकारको गठन प्रक्रिया यसै महिनाबाट सुरु हुने कार्यबाहक महामन्त्री बुर्लाकोटीले बताए ।

स्थानीय सरकारको अनुगमन, लेखाजोखा, खबरदारी र सहजीकरण गर्न छाया सरकार बनाउने अवधारणा ल्याएको रास्वपाले कार्यविधिमा उल्लेख गरेको छ । कार्यविधि अनुसार विकासको प्राथमिकीकरण, जनप्रतिनिधिलाई आवश्यक सहयोग, कामको अनुगमन, मूल्यांकन, गतिविधिको निगरानी र खबरदारी छाया सरकारले गर्नेछ ।

७५३ मध्ये रास्वपाको हालसम्म करिब ४०० पालिकामा पार्टी संरचना बनेको छ । ती सबै पालिकामा छाया सरकार गठन गर्ने तयारी रहेको बुर्लाकोटीले जानकारी गराए । ‘छाया सरकार नगरपालिकाबाट सुरु गर्ने तयारीमा छौं । पहिलो चरणमा चार सय पालिकामा बनाउने लक्ष्य हो’, उनले भने ।

छाया सरकारले वडा र पालिकाको प्रोफाइल बनाउनेछ । त्यस्तै पालिकाको विवादास्पद योजना र बेरुजुको बारेमा पनि अध्ययन गर्नेछ ।

छाया सरकारमा हरसम्भव क्षेत्रगत विज्ञलाई प्राथमिकता दिने रास्वपाले जनाएको छ । ‘उपलब्ध भएसम्म इन्जिनियर, कानुनविद्, अर्थविद्, योजनाविद्, शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्रका १/१ जनालाई प्राथमिकतामा राखेर छाया सरकार गठन गर्नुपर्नेछ’, कार्यविधिमा भनिएको छ ।

छाया सरकारमा पार्टी कार्यकर्ता मात्र नभई स्वतन्त्र व्यक्तिहरु पनि रहन सक्ने कार्यबाहक महामन्त्री बुर्लाकोटीले बताए ।

छाया सरकार परिचालनका लागि केन्द्रीय तहमा परिचालन इकाइ रहनेछ भने समन्वयको काम प्रदेशले गर्नेछ । छाया सरकारको कार्यसम्पादन मूल्यांकन पार्टीको केन्द्रीय परिचालन इकाइले गर्नेछ ।

कार्यसम्पादन चित्त बुझ्दो नभएमा प्रदेश समन्वय केन्द्र र केन्द्रीय परिचालन इकाइले छाया सरकारको व्यक्ति परिवर्तन वा विघटन पनि गर्न सक्नेछ ।

छाया सरकारले उपल्लो तहमा आफ्नो गतिविधिबारे नियमित जानकारी गराउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?